व्यवसायहरु जोगाउन नसक्दा आर्थिक संकट

समाचार

नेपालमा दलहरु सत्तामा आएपछि नेपाललाई मागी खाने र किनी खाने राष्ट्रमा रुपान्तरण गरीसकेका छन् । उद्योग विकासलाई त्यागेर आयात व्यापार गरी खाने राष्ट्र नेपाललाई बनाएका छन् । पञ्चायत कालमा खोलेका ठुलो उद्योगहरु मासेका छन् भने नयाँ उद्योगहरु स्थापन गरी नेपाललाई औद्योगिक राष्ट्र बनाउने तर्फ दलहरुले कहिले पनि ध्यान दिएनन् । परिणाम स्वरुप नेपाललाई आत्मनिर्भर राष्ट्र बनाउनका लागि पञ्चायत कालमा खोलिएका सबै उद्योगहरु कुनै बन्द गरी राखेका छन् भने कुनैलाई निजीकरण गर्ने नाउमा बेचेर खाएका छन् । नेपालमा दलहरु सत्तामा आएदेखि नै पश्चिमी मुलुकहरुको प्रभाव नेपालको राजनीति र बिकासमा झनै बढ्यो । बिदेशीहरुले नेपाललाई बिस्तारै परनिर्भर मुलुकमा रुपान्तरण गर्दै लगी अहिले पूर्णरुपले आयात व्यापारमा निर्भर मुलुक बनाईसकेका छन् ।
नेपालका उद्योगपतिहरुले चल्दै गरेका उद्योगहरु भटाभट बन्दगरी आयात व्यापारमा सबै लगानी खन्याएर नेपालमा ठुला ठुला डिपार्टमेन्टल स्टोर्सहरु र सपिङमलहरु बनाउनमा लगानी गर्दै लगेका छन् । बिदेशी बैंकहरुको ऋण लगानी र बिदेशीको सहयोग पनि नेपालमा बिदेशीको व्यापार फैलाउने हिसाबले मात्रै बढाएर लगेकाछन् । नेपालको पूर्वाधार बिकास पनि बिदेशी कै योजना अनुसार बनाउदै र बन्दै गए भने दलका नेताहरुको ध्यान बिदेशीले दिएको कमिशन खानमा मात्रै केन्द्रित भएर बस्यो । आज आएर नेपालको आर्थिक अवस्था गम्भिर आवस्थामा पुगेको देखिन्छ । कोरना काल पछाडि नेपालमा आर्थिक संकट बढेको कुरा झनै प्रष्ट हुँदै गयो ।
नेपाल जस्तै पहिले कृषि प्रधान मुलुक श्रीलंकामा आएको आर्थिक संकटले त झन कानमा तेल हालेर सुतेको नेपाली जनतालाई जगाउने काम गरेको छ । नेपाल भन्दा कैयौं गुणाले बढी बिकसित मुलुक श्रीलंकामा दलहरुको कमजोर राजनीतिक नेतृत्वले गर्दा नै आर्थिक संकटलाई आउनबाट रोक्न सकेनन् । दलहरुले लामो समय देखि लिंदै आएको परनिर्भर आर्थिक नीतिहरुकै कारण आज आएर श्रीलंका जस्तो आर्थिक हिसाबले पहिलेको बलियो राष्ट्र बिदेशीको ऋण तिर्न नसकी कंगाल भिखारी राष्ट्र भएको छ । नेपालका राजनीतिक दलहरु पनि श्रीलंकाका राजनीतिक दलहरुले लिएकै बाटोमा अहिले सम्म अगाडि बढ्दै आएका छन् । नेपालका दलहरुले विदेशी ऋण दिने राष्ट्रहरु र बैंकहरुलाई नेपालको विकासको लागि मसिहा मानेका छन् ।
विदेशीकै मार्गदर्शनमा नेपालका राजनीतिक दलहरुले वैदेशिक रोजगारी र पर्यटन बिकासलाई नेपालको आर्थिक बिकासको जग बनाएका छन् । कोरोना कालमा नेपालको राजनीतिक दलहरुले बनाएको यो नयाँ आर्थिक बिकासको जग नित्यान्त कमजोर भएको पुष्टी भईसकेको छ । अहिले पनि नेपालका राजनीतिक दलहरुले त्यसैलाई नै नेपालको आर्थिक बिकासको आधार मानी निरन्तर रुपमा अगाडि बढेको बढेका नै छन् । संसारको कुनै पनि कुनामा घटेको साना तिना घटनाहरुले पनि प्रभावित पार्न सक्ने अर्थतन्त्र नेपालको आर्थिक बिकासको जग बन्न सक्दैन । घनघोर पानी परेको बेलामा ढुंगाको भर माटोलाई र माटोको भर ढुंगालाई हुन्छ । त्यस्तै मुलुकको आर्थिक बिकासको लागि सानातिना व्यवसायहरुको पनि ठुला व्यवसायहरुको जत्तिनै महत्व हुन्छ ।
मुडालाई जलाउनु छ भने झिनामसिना दाउराको प्रयोग गर्नै पर्ने हुन्छ अनिमात्र मुडालाई सजिलै जलाउन सकिन्छ । त्यसैले नेपालको आर्थतन्त्रलाई जगाउनको लागि सानातिना व्यवसायहरु सबैको संरक्षण र बिकास गरे मात्रै नेपालको आर्थिक संकट टार्न संभव हुन्छ । ठुला व्यवसायले मात्रै नेपालको आर्थिक बिकास हुन्छ भन्ने सोच नेपालका राजनीतिक दलहरुले त्यागीहाल्नु पर्छ । चौधरी ग्रुप एउटा मात्रै बिश्बकै धनीको सूचिमा आएर नेपाल धनी मुलुक भएको मान्ने दलका नेताहरुको सोचले नेपाललाई आर्थिक संकटबाट कहिले पनि बचाउन सक्दैन । त्यसैले कोरोना काल भन्दा पहिले चलेका र भएका सबै व्यवसायहरुलाई पुनः जगाउन सकेमा मात्रै नेपाल राष्ट्र फेरि पहिले कै आर्थिक लयमा फर्किन वा आउन सक्छ । पहिले भएका वा चलेका सानातिना व्यवसायहरु जे जति छन् तिनीहरुलाई सरकारले आर्थिक सहायता वा करको सहुलियत दिएर पुनः पहिलेकै आवस्थामा फर्काउन सक्नु पर्छ । सात समुन्द्र पारीको युरोप र अमेरिकाको कुरा नगरौ नेपाल कै क्षिमेकी राष्ट्र भारतले सानो भन्दा सानो व्यवसायहरुलाई यसरी नै जोगाएर कसैलाई पनि वेरोजगार बन्न दिएको छैन ।
साईकलको टायर ट्यूव मर्मत गर्ने व्यवसायलाई पनि भारतमा ठुलो महत्व दिएको छ र त्यसलाई भारतको शक्तिशाली आर्थतन्त्रको प्रारम्भिक जग मानेका छन् । नेपालमा पनि सानातिना अनेक व्यवसायहरु छन् जस्ले अप्रत्येक्ष रुपमा ठुलो व्यवसायलाई स्थापित हुन सहयोग गरीराखेका छन् । नेपालमा बिभिन्न दलहरु मिलेर बनेको नेपाल सरकारले साना व्यवसायहरुको संरक्षण र बिकासमा ठोश नीति ल्याउन नसक्दा कोरोना काल पछाडि साना व्यवसायहरु सरकारी करहरु तिर्न नसकेर वा आर्थिक आभावले गर्दा सबै बन्द भएका छन् र चालु भएकाहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् ।
पालिकाहरुले व्यवसाय करहरु जसरी पनि उठाउने गरेका छन् तर व्यवसायीहरुलाई भने कुनै साथ सहयोग दिएका छैनन् । अन्य करहरु चुक्ता गर्न जाँदा व्यवसाय कर पनि चुक्ता नगरी सुःख छैन । बिसौं बर्ष देखि बन्द भएर बसेका व्यवसायहरुको पनि कर तिर्न व्यवसायीहरु बाध्य भएका छन् । नेपालमा व्यबसाय गरी खानेलाई भने कर माथि कार लगाएका छन् तर घर बनाएर भाडा उठाएर खाँदै बसेकाहरुलाई कुनै कार्यबाही छैन । घर भाडा कर नियम अनुसार कसैले तिरेको वा बुझाएका छैनन् । घरधनीलाई घर भाडा कर बुझाउन दबाब दिएमा उल्टै बहालमा बस्ने हरुलाई नै तिर्न लगाउने चलन अहिले नेपालमा बसेको छ । घर बनाएर भाडामा लगाउने परियोजनामा व्यक्ति व्यक्तिको ठुलो लगानी छ भने सार्वजनिक बैंकहरुले पनि त्यसैमा लगानी गरेका छन् तर उक्त लगानीबाट वा सम्पत्तिबाट राष्ट्रलाई ठोश आम्दानी केही पनि छैन ।
धेरैले घरभाडा कर छलछाम गरी तिर्नबाट जोगिएका छन् भने सम्पत्ति कर सम्पत्तिको वास्तविक मुल्याङ्कन भन्दा धेरै धैरै कम मुल्याङ्कन गरी उठाउने गरेका छन् । एकातिर धनी वर्गलाई यस्तो कर छुट दिने गरिएका छन् भने अर्को तिर सानातिना व्यवसाय चलाएर गरी खानेहरुलाई व्यवसाय कर उठाउन नगर प्रहरी परिचालन गरी जोरजुलुम गर्ने गरेका छन् । मकै पोलेर बेची जीवनयापन गर्दै आएकाहरुलाई समेत बेलाबेलाम कार्यबाही चलाएर पालिकाले दुःख दिने गरेका छन् । पालिकाको धान सम्पत्ति कर उठाउने र घर बहाल कर उठाउने तर्फ केन्द्रित हुन जरुरी छ । राष्ट्र र पालिकालाई हुनसक्ने आम्दानीको ठुलो स्रोत भनेको सम्पत्ति कर र घर बहाल कर नै हुन ।
व्यवसाय कर ठुला व्यवसायीहरुले राम्रै तिरेका होलान तर त्यसैको कारणबाट साना व्यवसायीहरु माथि पालिकाहरुले जोडजुलम गर्न रोक्नु पर्छ । नेपालमा नै निजी व्यवसायहरु खोली चलाउने वातावारण राम्रो बन्दै गएको खण्डमा नेपाली युवाहरुले खाडी मुलुकको तातो घाम सहेर पसिना बगाउनु पर्ने छैन । नेपालमा नै आराम सित आफ्नै व्यवसाय गरी जहान परिवार सित संगै बसी ढुटो पीठो खाएर आफ्नो पनि उन्नती गर्नेछन् भने राष्ट्रलाई पनि कर बुझाए योगदान गर्नेछन् । धनी वर्गलाई छुटै छुटै दिने र गरीव वर्गलाई सास्ती नै सास्ती हुने सरकारी कर नीति सच्चिनु पर्छ । नेपाली जनताले खुशीसाथ सरकारी कर बुझाएर गर्व गर्ने अवसर पाउनु पर्छ । अहिले को भेदभाव पूर्ण कर नीतिकै कारण नेपाली जनता सरकारी कर तिर्नबाट पञ्छिएका छन् । सात पुस्तालाई पुग्ने गरी सम्पत्ति जोडेकाहरुले सोही अनुसार सरकारी कर बुझाएका छैनन् ।दर्जनौ घरहरु बनाएर भाडामा लगाई एक पैसा घरबहाल कर नतिरी खाएर बसेकाहरु पनि छन् तर तिनीहरुलाई घरबहाल कर छलेकोमा कुनै कार्यबाही भएको छैन । यतातिर सरकारको ध्यान नगएकाले घरजग्गाको दलालहरुले धेरै फाईदा लिएका छन् भने राष्ट्रको लगानी निजी फाईदा उठाउनेहरुले निजी फाइदाको लागि उपयोग गर्दै आएका छन् । नेपालका धनीहरु र गरिवहरुका बिच खाडल बढ्नुको पछाडि अवैज्ञानिक कर प्रणाली नै मुख्य रुपले जिम्मेवार रहेको देखिन्छ ।
नेपालमा हाल लागु कर प्रणालीले आर्थिक समनता ल्याउनको साटो झन आर्थिक असमनता बढाउने काम गरेको छ । अहिले आएर नेपाल आर्थिक संकटको भुमरीमा जाकिदै जानुमा पनि अवैज्ञानिक कर प्रणाली नै जिम्मेवार देखिन्छ । सरकारी कर धनीहरुबाट उठाएर गरिवहरुमा समानरुपले वितरण गर्नु पर्नेमा नेपालको धनीहरुको कर छल्ने प्रवृत्तिले गर्दा गरिव व्यवसायीहरुले मात्रै कर तिर्ने र त्यो पनि धनी वर्गले उपभोग गर्ने भएकाले नेपालको समग्र अर्थतन्त्र अहिले संकटग्रस्त र संकटउन्मुख बनेको छ । करोना महामारीको कूप्रभाव र गलत सरकारी कर संकलन र वितरण नीतिले गर्दा व्यवसायहरु धेरै धारासायी भएकाछन् र त्यसलाई पुनरउत्थान गर्ने प्रयास नेपाल सरकाको तर्फबाट भएको छैन । फलस्वरुप व्यवसायहरु जोगाउन नसक्दा नेपालमा आर्थिक संकट आउने संभावना धेरै बढेको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *