आगामी मंसिरको चुनावसम्म राजनीतिले अर्कै मोड लिनसक्ने गठबन्धनमा भागबण्डाको चुनौती

समाचार

काठमाडौं । गठबन्धनमा रहेका दलहरुले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ स्थानको भागबण्डा गर्ने क्रमलाई अगाडि बढाएका छन् । यसका लागि गठबन्धनमा रहेका दलहरुले कांग्रेस नेता कृष्ण सिटौलाको संयोकजत्वमा ११ सदस्यीय कार्य दल गठन भएको छ । र, यो कार्यदलले संघीय संसदको १६५ सिटसँगै प्रदेशका तीन सिटको पनि भागबण्डाका लागि आगामी भदौको पहिलो साता भित्र प्रतिवेदन पेश गर्ने भएको छ । आम निर्वाचनको मिति तय भएसँगै नेपाली कांग्रेसका तर्फबाट संघीय संसदको प्रत्यक्ष तर्फको १६५ सिटको भागबण्डामा कांग्रेसले ६० प्रतिशत पाउनु पर्ने दाबी अनौपचारिक रुपमा गरी सकेको छ । तर यस सम्बन्धमा गठबन्धनका अन्य दुई प्रमुख दल माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट अहिलेसम्म मुख खोल्ने काम भएको छैन । आज जापान भ्रमणबाट माओवादी अध्यक्ष प्रचण्ड स्वदेश फर्किएपछि यो विषयमा आफ्नो अभिमत कांग्रेस नेताहरु समक्ष माओवादी र एकीकृत समाजवादीले राख्ने सम्भावना रहेको छ ।
अहिले सरकार र गठबन्धनको नेतृत्व गरी राखेको नेपाली कांग्रेस र कम्युनिष्टमा भई राखेको कलह र विभाजनको फाइदा लिँदै आगामी आम निर्वाचनमा प्रष्ट बहुमत ल्याउने अथवा बहुमत ल्याउन नसके ठूलो दल हुने लक्ष्य सहितको चुनावी रणनीति बनाउन व्यस्त रहेको छ । उता सरकार र गठबन्धनका दुई घटक माओवादी केन्द्र र एकीकृत समाजवादी नेपाली कांग्रेसलाई बहुमत ल्याउन नदिने पक्षमा छन् । गठबन्धन र सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेसको लक्ष्य आगामी आम निर्वाचनमा बहुमत ल्याउने र गठबन्धनका दुई घटक माओवादी केन्द्र र एकीकृत समाजवादी कांग्रेसलाई बहुमतमा ल्याउन नदिने रणनीतिको कारण दुबै पक्षले समानुपातिक तर्फको १६५ सिटलाई प्रमुखताका साथ लिएका छन् । यही कारणले गर्दा समानुपातिक समेत गरी बहुमत ल्याउने हिसाबकिताबका अनुसार नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष तर्फको ६० प्रतिशत सिट आफूले राख्ने र बाँकी ४० प्रतिशत गठबन्धनका अन्य दललाई दिने प्रस्ताव अगाडि सारेको हो । नेपाली कांग्रेसले बहुमत ल्याउन नसक्दाको अवस्थामा सबभन्दा ठूलो दल हुने लक्ष्याका साथ प्रत्यक्ष तर्फ सय सिटमा दाबी गरेको हो । यसैगरी वर्तमान सरकार र गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले आगामी आम निर्वाचनबाट आफू दोस्रो ठूलो दल हुनुपर्ने भन्दै यो लक्ष्यलाई सम्बोधन हुने गरी प्रत्यक्ष तर्फको सिटमा दाबी गर्ने स्थिति रहेको छ । गठबन्धनमा सामेल दलहरु संयुक्त रुपमा चुनावमा जान सहमत भएपनि प्रत्यक्ष तर्फको सिटको बाँडफाँटमा भने सहमति बन्न चुनौतीपूर्ण र कठिन देखिएको छ । यो समस्या समाधान गर्न कार्यदलले सबभन्दा पहिले मोडालिटी बनाउने भएको छ । तर मोडालिटी प्रति गठबन्धनका सबै दलको सहमति हुन्छ भन्ने निश्चितता बन्न सकेको छैन । नेपाली कांग्रेसले आगामी आम निर्वाचनमा कम्तीमा सबभन्दा ठूलो दल हुने लक्ष्य राखेको छ । यसैगरी माओवादी केन्द्रले नेकपा एमालेलाई पछाडि पार्दै सबभन्दा ठूलो कम्युनिष्ट पार्टी हुने आफ्नो लक्ष्य रहेको सार्वजनिक रुपमा बताईसकेको छ । यो विषयमा गठबन्धनका अन्य दलले आफ्नो लक्ष्य र योजनाको पोको अहिलेसम्म खोलेका छैनन् । उता नेपाली कांग्रेस माथि दवाव बढाउनका लागि माओवादीको तर्फबाट नेकपा एमालेसँग मिल्न सक्ने चर्चा चलाउने गरिएको छ । तर आम निर्वाचनको परिणाम नेकपा एमालेको विपक्षमा जानेमा निश्चित भएका माओवादी र कांग्रेसका शीर्ष नेताहरुले चुनाव पछिको सत्ता नेतृत्वको भागबण्डा समेत गरी सकेका छन् । तर अबको चुनावमा अहिलेसम्म सक्रिय रहेका राजनीतिक दलहरुले मात्र होइन स्वतन्त्र नागरिक र पूर्व संचारकर्मी लामिछानेले गठन गरेको नेपाल स्वतन्त्र पार्टीले पनि असर पार्ने देखिएको छ । तर ठूला दलको सोचाई भने आफ्नो साँघुरो घेराबाट बाहिर जान सकेको छैन । यो विषयमा चुनावको स्थितिलाई पूर्व महसुस गरेर नै नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्वतन्त्र हैसियतबाट मेयरमा निर्वाचित भएका व्यक्तिहरुको आलोचना सार्वजनिक रुपमा नै गर्न थालेका छन् ।
गठबन्धनको हिसाब किताबले कांग्रेस माओवादीले आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउने आकलन गरी राखेका भएपनि यो सम्बन्धमा राजनीति हिसाबबाट चल्दैन भन्ने विचार पनि सार्वजनिक भई राखेको छ र कतिपय स्वतन्त्र व्यक्तिले यो गठबन्धनलाई स्वभाविक मानेका छैनन् । गठबन्धनका नेताहरुले प्रतिगमनको कारण पाँच दलका बीचमा गठबन्धन भएको भन्ने तर्क गरेपनि अहिले सरकार र गठबन्धनको नेतृत्व गरी राखेका शेरबहादुर देउवा नै प्रतिगमनको पहिलो नेता भएको र राजा ज्ञानेन्द्रलाई लगेर लोकतन्त्र बुझाएको धेरैले सम्झन थालेका छन् । त्यस कारण प्रतिगमनको नारा लगाएर मात्र गठबन्धनका दलका पक्षमा मत आउने सम्भावना कम छ । यसैगरी केही समययताबाट पाका नेतालाई संसद होइन, वृद्धाश्रम भन्ने नारा उठ्न थालेको कारण पनि यो नाराले आगामी आम निर्वाचनमा प्रभाव पार्न सकिने देखिएको छ । यसैगरी विगतमा जस्तो चुनावी सभामा आधार विनाको आश्वासन बाँडेकै भरमा यो चुनावमा मत आउने सम्भावना अत्यन्त कम छ । अर्थात् अब हुन लागेको आम निर्वाचन नेपालको राजनीतिका लागि नयाँ कोशेढुंगा सावित हुने सम्भावना बढि रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । जबकी अहिलेका रैथाने नेता र पार्टीहरु भने अब हुने निर्वाचन पनि विगतकै निरन्तरता भएको भ्रममा रहने गरेका छन् ।
तर निर्वाचनको मितिसम्म पुग्दा पाँच दलिय गठबन्धन नै प्रत्यक्ष तर्फको निर्वाचन क्षेत्रको बाँडफाँटमा कुरा नमिलेर राजनीतिले अर्को मोड लिने सम्भावना पनि बलियो रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *