अर्थतन्त्रको मेरुदण्ड पर्यटन किन उकासिएन ?

समाचार

पछिल्लो समय मुलुकको अर्थतन्त्र मन्द गतिमा कमजोर हुँदै गएको आर्थिक तथ्यांक र मुलुकमा उच्च रहेको महंगीले देखाउँदछ । मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्डको एक रहेको पर्यटनमा पनि निराशा देखिएपछि अर्थतन्त्रमा अर्काे थप मार परेको देख्न सकिन्छ । नेपाल भौगोलिक रुपमा एक पर्यटकीय सम्भावना बोकेको मुलुक हो । पछिल्ला दुई घटनाले नेपालको पर्यटनलाई थला पर्ने गरी सकेको पनि छ । २०७२ सालमा नेपालले भागेको भूकम्प र सन् २०१९ देखि विश्वव्यापी रुपमा देखा परेको कोरोना संक्रमणले सबैभन्दा असर गरेको क्षेत्र नै पर्यटन हो ।

नेपालको अर्थतन्त्रको जग मानिएको कृषि, आन्तरिक उत्पादनमा मुलुककै नैराश्य तथा प्रोत्साहन नगर्ने नीतिले न्यून अवस्थामा पुगेको छ । त्यसैगरी, अर्थतन्त्रको अर्काे मेरुदण्ड मानिएको पर्यटन माथि प्राकृतिक असर परेपछि मुलुकको अर्थतन्त्र सुधार होला भन्न सकिँदैन । यी भनेका मुलुक विकासका आधारभूत खम्बा पनि हुन् । मुलुकको बेवास्ताकै कारण परनिर्भर बन्दै गएर मुलुकको आन्तरिक कृषि उत्पादन र अन्य औद्योगिक उत्पादन ओरालो लाग्दै गर्दा प्राकृत्तिक विपत्तिले थला बनाएको पर्यटन क्षेत्र पनि उकासिन सकेको अवस्था छैन । नेतृत्वको स्वार्थ बाझिँदा मुलुक मन्द गतिमा परनिर्भर बन्न गएको स्पष्ट देख्न सकिन्छ । यसको उदाहरणको रुपमा हेर्ने हो भने हामीले खरिद गर्ने हरेक सामान विदेशी हुने गरेको छ । अर्थात हामीले खरिद गर्ने सामानको पैसा विदेश जाने गरेको छ । यसकारण पनि मुलुकमा आर्थिक क्रियाकलाप कमजोर बन्दै गई अर्थतन्त्र कमजोर भएको आंकलन गर्न सकिन्छ ।

मुलुकको भौगोलिक अवस्थितिलाई मध्यनजर गर्ने हो भने नेपालको समृद्धि र विकासको प्रमुख मेरुदण्डको रुपमा कृषि र पर्यटन नै रहेका छन् । मुलुकको श्रम शक्तिको प्रयोग गर्न नसक्ने, आयातलाई सहजीकरण गर्ने, आन्तरिक उत्पादनको प्रयोगमा सरकारले प्रोत्साहन नगर्ने, कृषि क्षेत्रमा आवश्यक सामाग्री, मल, बिउबिजन, प्रविधि भित्र्याउन नसक्ने कारणले गर्दा कृषिप्रधान मुलुकमै कृषि क्षेत्रको बेहाल भएको देख्न सकिन्छ । यस्तै पर्यटनको सम्भावना बोकेको मुलुकमा पनि विविध कारणले ह्रास आइरहेको अवस्थामा कुनै पक्षबाट ध्यान पुग्न नसकेको बोध गर्न सकिन्छ । सन् २०७२ मा नेपालमा गएको भुकम्पले पर्यटनको आवागमन स्वतः न्यून बनाएको थियो । मुलुकको आकर्षणहरुमा भूकम्पले असर गरेको अवस्थामा पर्यटकको आवागमन घट्दै गएको थियो ।

अर्काेतर्फ, सन् २०१९ पछि देखापरेको कोरोना संक्रमण अझै पनि व्याप्त छ । पर्यटनमा सबैभन्दा असर गरेको पनि कोरोना संक्रमणले हो । विश्वभर कोरोना संक्रमण बढेपछि नेपालमा पनि पर्यटकको आगमनमा निकै घटेको थियो । पछिल्लो समय कोरोना संक्रमणको प्रभाव घट्दै गएपनि पर्यटन क्षेत्रमा खासै सुधार भने देखिएको छैन । नेपाललाई पर्यटकीय मुलुकका रुपमा पनि विकास गर्न नसक्नु मुलुकको अर्काे कमजोरी हो । नेपालकै भौगोलिक विशेषता बोकेको युरोपेली मुलुक स्वीजरल्याण्डले आफ्नो भौगोलिक विशेषतालाई मध्यनजर गर्दै पयर्टन क्षेत्रलाई विकास गरी मुलुकको प्रमुख आयस्रोत बनाएको छ । नेपाल र स्वीजरल्याण्डको भौगोलिक विशेषता उस्तै छ ।

आफ्नो भौगोलिक विशेषताका आधारमा स्वीजरल्याण्डले अन्य क्षेत्रलाई भन्दा पर्यटनलाई प्राथमिकतामा राखेको छ । जसले गर्दा विश्वबाट नै वर्षेनी करोडौंको संख्यामा पर्यटकहरु स्वीजरल्याण्ड भ्रमणमा जाने गर्दछन् । युरोपेली मुलुक स्वीजरल्याण्डको प्रमुख आयस्रोत नै पर्यटन हो । यस लेखको तात्पर्य के हो भने मुलुक जुन भौगोलिक विशेषता, जुन परिवेश, जुन आर्थिक अवस्था, जुन जनसांख्यिकी विशेषतामा छ, त्यही अनुरुपको प्राथमिकता रहनुपर्दछ । सरकारले मुलुकको पर्यटन क्षेत्रबाट हुने आम्दानीलाई आफ्नो प्रमुख आयस्रोत बनाउन सकेमा नेपाल सफल र समृद्ध हुने देखिन्छ । भौगोलिक विशेषतालाई हेर्ने हो भने नेपाल र स्वीजरल्याण्ड एउटै मानस्थितिमा रहन्छन् ।

तर सरकारले मुलुकको यी विशेषतालाई बेवास्ता गर्दै वैदेशिक आयातबाट हुने भन्सार महसुल संकलन र आन्तरिक कर वृद्धिलाई आफ्नो आय बनाउँदा अल्पकालीन रुपमा सहजै भएपनि दीर्घकालीन रुपमा पूर्णतः असफल हुने देखिन्छ । सरकारले गर्दै आएको यही अभ्यासको असर पछिल्लो समय देखिएको व्यापक महंगी र अर्थतन्त्रको खराब स्थिति हो । पर्यटन क्षेत्र नेपालको उदाउँदो र दीर्घकालीन आय स्रोत बन्न सक्छ । यसलाई प्राथमिकतामा राखेर नेपालको भौगोलिक विशेषता र यसको महत्वलाई उपभोग र उपयोग गर्न सक्नुपर्दछ । नेपालले पर्यटनलाई कथमकदाचित महत्व दिएपनि प्राथमिकतामा नराख्दा अहिले पर्यटन क्षेत्रमा मन्दी देखिएको छ ।

मुलुकको अर्थतन्त्रमा आयस्रोतको मेरुदण्ड बन्न सक्ने पर्यटन क्षेत्रलाई बेवास्ता गरेर प्राथमिकतामा नराख्नु नेपालको सबैभन्दा ठूलो कमजोरी हो । नेपालमा गएको भुकम्प र त्यसपछिका कोरोनाजस्ता अन्य विपत्तिले गर्दा पर्यटन क्षेत्र फस्टाउन सकेको छैन । उस्तै प्रकृतिका भौगोलिक विशेषता रहेका युरोपका अधिकाशं मुलुकबाट नेपालले अझै पनि सिक्न सकेको छैन । पर्यटनलाई प्रमुख आयस्रोत बनाएर मुलुक समृद्ध बनाएको युरोपेली अभ्यास प्रत्यक्ष महसुस गर्न सकिन्छ ।

त्यसैकारण, नेपालले अब पर्यटनलाई प्राथमिकतामा राखेर पर्यटकीय क्षेत्र पहिचान गर्ने, पर्यटन आकर्षणका निम्ति योजना तथा स्किमहरु ल्याउने, आन्तरिक तथा विदेशी पर्यटक प्रवद्र्धन गर्ने, पर्यटन विस्तारका निम्ति सहुलियत प्रदान गर्ने, पर्यटन क्षेत्रमा नयाँ प्रविधि विस्तार गर्ने, पर्यटनका निम्ति सडक तथा अन्य पूर्वाधार विकास गर्ने जस्ता काम गर्न अपरिहार्य बनेको छ । सरकारले तत्कालै यस विषयलाई गम्भीरताका साथ लिएर पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्न आवश्यक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *