बारी न बिरुवा नौमुरी तोरीको अवस्थामा नेपाल

समाचार

नेपालको गाउँ घरमा फुर्ती गर्दै हिड्ने सुकुलगुण्डे स्वभावको मान्छेलाई बारी न बिरुवा नौमुरी तोरी भनेर बुढा पाका ज्ञानीहरुले सम्झाउने गर्दछन । अहिले ठ्याक्कै नेपालको राजनीतिमा र बिकासमा त्यस्तै स्वभाव भएका दलक नेताहरुको बर्चश्व कायम भएको देखिन्छ । पहिले त राजनीतिक दलहरुले नेपालको आर्थिक स्रोतहरु माथि ध्यानै नदिई महंगो राजनीतिक संरचनाको व्यवस्था नेपालको संविधान २०७२ मा गरेका छन जसको आर्थिक बोझ राष्ट्को आम्दानीले धान्न सकीरहेको छैन ।

दलका नेताहरुले भावी राजनीतिक संरचनाको परिकल्पना गर्दा आफु लगायत आफ्ना राजनीतिक कार्यकर्ताहरुको व्यवस्थापन गर्ने पक्षमा मात्रै ध्यान दिएका छन जसको परिणामले गर्दा आज मुलुकको चालु खर्च विदेशी ऋण बिना चल्दै नचल्ने भएको छ । एमालेका शीर्ष नेता ओलीको नेतृत्वमा बनेको नेकपाको सरकारले तीन बर्षमा लगभग १० खरब विदेशी ऋण लिएको पुष्टी भईसकेको छ । यहि तीन सालको दौरानमा नेपालको राष्ट्रिय ऋण पनि दोव्वर भएको देखिन्छ ।

हाल नेपाल लगभग १८ खरबको हाराहारीको विदेशी ऋणमा डुबीसकेको छ । संघियता कार्यान्वयन गर्ने दौरानमा जथाभावी खर्च गरिएका छन । यसै पनि संघियताको आर्थिक भार धेरै थियो त्यसमा भ्रष्टाचारको भार पनि थपिदा झनै थेगीनसक्ने भयो । दलका नेताहरु र जनप्रतिनिधिहरुले आर्थिक अनुशासनको नियमहरुको पालना नगरी मनमोजी तरिकाले खर्च गरेकाले राष्ट्रको आर्थिक हालत झनै बिग्रदै गयो ।

विकासको नाममा जथाभावी पूर्वाधारका संरचनाहरु बनाउने काम भयो जसबाट राष्ट्रको खर्च मात्रै बढ्दै गयो तर आम्दानी फुटेको कौडी हुनसकेन । एमालेले नेतृत्व गरेको ओली सरकारको पालामा बनेका र हाल पनि बनाउँदै गरेका भ्युटावरहरु यस्ता उदाहरणहरु हुन । ओली सरकारको पालामा आधाकरो बनेका ठुला परियोजनाहरुलाई जबरजस्ती पुरा भयो भन्दै लोकार्पण गर्ने कामहरु गरिए । मेलम्ची खानेपानी परियोजनालाई राम्रो सित पुरा नहुँदै परीक्षण समेत नगरी लोकार्पण गर्दै सञ्चालनमा ल्याएको हुँदा त्यसको परिणाम के निस्कियो सबैको सामु ऐना झै छर्ललङ्ग भएकै छ । ओली सरकारकै पालामा लोकार्पण गरिएको धराहराको अवस्था पनि उस्तै छ । आज सम्म त्यो धराहराको सबै निर्माणको कामहरु पुरागरी सञ्चालनमा ल्याउन सकेको छैन ।

जुन बिजोग लोकार्पण गर्दाको अवस्थामा धराहराको थियो आज पनि सोही अवस्था कायम नै रहेको छ । धराहरा पूर्ण सञ्चालनमा ल्याउन अझ पनि केही बर्ष लाग्ने प्रष्ट नै छ । माथिल्लो तामाकोशी जलबिद्युत परियोजनालाई पनि निर्माण परीक्षाण पुरा नहुँदै जेनेरेटर सेट चलाएर बिजुली निकाली लोकार्पण ओली सरकारको पालामा तत्कालिन प्रधानमन्त्री ओलीको करकमलबाट भएको थियो । सोपरियोजनामा धन्य कुनै दुर्घटना भएन किनकि परियोजना अधिकारीहरुले अवस्था र राजनीतिक दबाबलाई राम्रो सित व्यवस्थापन गरी सबै जरुरी परीक्षणहरु रामै सित पछिल्लो समयमा पुरा गरेको हुँदा दुर्घटना हुनबाट बचाउ भयो ।

ओली सरकारको पालामा भए गरेका बिकासका नमुनाहरु अनेक छन । सामाजिक सञ्जालका भित्ताहरुमा त्यस्तो बिकासको फोटोहरु छ्यापछ्याप्ती छन । सडक र खोला नै नभएको ठाउँमा पुलहरु बनाउने कामहरु भएका छन भने कती बनी सकेका पुलहरु गुणस्तरहिन भएकाले भाँसिएका वा हावाले उडाएर लगेका छन । केही पुलहरु बन्दाबन्दै भाँचिएकाले अहिले अलपत्र अवस्थामा रहेका छन । शीर्ष नेता ओली बेलाबेलामा अहिले पनि बारदलीमा वसेर आफ्ना पालामा भएका यस्ता बिकास कार्यहरुको बखान गर्दै आफ्नो कार्यकालमा भएको नेपालको बिकासले संसारलाई चकित पारेको बताउँछन । नेपालमा दलहरुले गरेका बिकासको हालत देखेपछि संसार चकित नहुने कुरै भएन ।

राष्ट्रको नाममा ऋण गरीगरी दलका नेताहरुले काम्लो ओढी घीउ पीएको देखेपछि संसारका जानकारहरु वास्तविक रुपमा नै चकित भएका छन । दलका नेताहरु आफ्नो बिकास लक्ष समृद्ध नेपाल र सुखी नेपाली भएको बताउँछन् तर उहाँहरुले गरेका बिकासका कामहरु त्यो राष्ट्रिय लक्ष सित कतैबाट पनि जोडिएको देखिन्न । दलहरुले अहिले सम्म गरेका बिकासका कामहरु हचुवाको भएको हुँदा त्यसको कुनै मेलोमेसो छैन । नेपालमा अहिले सम्म भए गरेका सबै बिकासका कामहरु नमुना जस्ता मात्रै छन् ।

दाताहरुले आफ्नै प्राथमिकता अनुसार परियोजनाहरु छान्दै त्यसमा ऋण लगानी गरी बनाउने भएको हुँदा नेपालको बिकासको प्राथमिकता सित त्यो कतैबाट पनि गाँसिएको हुँदैन । जसरी पनि ऋण लिने मानसिकता भएका दलका नेताहरुले दाताहरुलाई नेपालको बिकासको लक्ष यो हो र यसै लक्ष पुरा हुने गरी तिमीहरुले परियोजनाहरु छान्ने र त्यसमा ऋण लगानी गर्ने भनी दबाब कहिले दिन सकेन । फलस्वरुप दाताको ऋण मात्रै राष्ट्रलाई बोकाउने काम दलका नेताहरुबाट भएको हुँदा परियोजनाहरु छान्ने काम भने विदेशीले नै गर्दै आएको हुनाले नेपालको आराजक बिकासको थुप्रो बढ्दै गयो अनि त्यसवाट नेपालको बिकास लक्ष पुरा गर्नमा कुनै योगदान भएन । मिटर व्याज तिर्ने गरी विदेशी सित ऋण काढेर पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनायो तर सञ्चालन गर्नको लागि डाँडै काट्नु पर्ने भएपछि रोकिएको छ ।

दाता मुलुकको विदेश मन्त्री आएर चाबी निर्माण सम्पन्न भएको घोषणा गर्दै परियोजनाको चाबी बुझाएर मिटर व्याज चालु गर्दै स्वदेश फर्केका छन । यता बिमानस्थल भने चालु कहिले गर्न सकिने हो टंगो छैन । चालु भएपछि पनि कति आम्दानी उठ्ने हो त्यो पनि टुंगो छैन । डाँडै काट्नु परेकाले परियोजनाको लागत झन बढेको हुँदा नोक्सानी पनि बढेको छ । त्यस माथि बिमानस्थल संचालनमा आउन नसक्दा कुन अम्दानीले साँवा व्याजको भुक्तानी सहमति भएकै समय भित्र गर्ने भन्ने चिन्ताको बिषय बनेको छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवाको पनि भएको छ । बल्लतल्ल महंगो व्याजमा विदेशी सित ऋण काढेर उक्त बिमानस्थल बानउने काम त सम्पन्न भयो तर बिबाह गर्ने हतारले केटी माग्न बिर्सियो भनेको जस्तो भारतले प्रवेश मार्गको अनुमति नै दिएको छन । अहिले उक्त बिमानस्थाल सञ्चालनमा त आएको छ तर बिमानले सिमराकै प्रवेश मार्ग उपयोग गरी त्यहाँ सम्म पुग्नु पर्ने हुन्छ ।

भारतले प्रवेश मार्गको अनुमति दिनेमा कुनै निश्चित छैन । नजिकै भारतीय वायु सेनाको अखडा भएको हुनाले भारतले सजिलै मान्ला जस्तो छैन । राष्ट्रको बहुमुल्य लगानी यसरी समस्या भएका परियोजनाहरुमा लगानी भएको हँदा सोलगानीबाट नाफा कमाएर विदेशी ऋण तिर्ने कुरा सजिलो छैन । सोभन्दा पहिले प्रश्तावित निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनमा ऋणको पैसा लगानी गरेको भए नेपालको राष्ट्रको शीर कसैको अगाडि झुक्नु पर्ने थिएन र नेपाल राष्ट्रको स्वाभिमानमा चारचाँद लाग्ने थियो । दलका नेताहरुको लापरबाहीले गर्दा बनेका बिमानस्थलहरु सञ्चालन गर्नमा बाँधा उत्पन्न भएका छन भने नेपाललाई नभैनहुने निजगढ अन्तर्ष्टिट्रय बिमानस्थलको निर्माण हुन सकिरहेको छैन ।

राष्ट्रलाई घाटा दोहोरो रुपमा भएको छ एकतिर गरेको लगानीबाट फाईदा लिन सकेको छैन भने अर्को तिर मिटर व्याज बुझाउने गरी लिएको विदेशी ऋणको साँवा व्याज समयमा भुक्तानी गर्न नसकेमा डिपाल्टरको कार्बाही पर्ला भन्ने डरत्रास राष्ट्र माथि बढेको छ । पाकिस्तान र श्रीलंका त्यस्तै ऋणको साँवा व्याज तोकिएको समयमा भुक्तान गर्न नसक्दा अहिले डिफाल्टरको कार्यबाहीमा परेका छन । उक्त मुलुकहरुलाई अहिले कुनै पनि विदेशी मुलुकले सुको सम्म पनि सरसापट दिन मानेका छैनन् । ढिलो चाँडो नेपालको हालत पनि त्यस्तै नहोला भन्नेमा कुनै प्रत्याभूति छैन । त्यसैले हामी सबै नेपाली जागौं र तुरुन्तै सुकुलगुण्डे स्वभाव र सोही अनुरुपको विकास कार्यहरुलाई त्यागी हालौं ।

बारी न बिरुवा नौमुरी तोरीको फुटनी लगाउने अभ्यासको क्रमभंग हामी नेपालीले गर्नै पर्छ र दलका नेताहरुलाई पनि त्यसो गर्न बाध्य पार्नु पर्छ । राजनीतिक निर्णयबाट भएका अराजक नेताहरुको मनगढन्ते बिकास परियोजनाहरुले नेपाल समृद्ध कहिले पनि हुन सक्दैन र नेपाली जनतालाई सुखी होइन दुखी बनाउदै लानेछ । नेपाल राष्ट्र आज डरलाग्दो आर्थिक संकटको चपेटामा पर्नै लागेको छ । दलहरुले तीन दशक सम्म नेपालको सत्ता सम्हाली सक्दा पनि राष्ट्रलाई निश्चिद बिकासको खाका दिन सकेको छैन । बरु उल्टै बारी न बिरुवा नेमुरी तोरीको अवस्थामा नेपाल राष्ट्रलाई रुपान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *