ramchandra

दलहरुले निर्वाचनको भविष्यवाणी गर्नु मूर्खता

समाचार

रामचन्द्र बस्नेत

मुलुकको राजनीति आगामी मंसिर ४ गतेका लागि तोकिएको संघीय र प्रदेशसभा निर्वाचनको कारण नयाँ चरणमा प्रवेश गरी सकेको छ । आगामी आम चुनावमा एउटा बलियो शक्तिको रुपमा प्रस्तुत हुन गई रहेको पाँच दलको गठबन्धन यतिखेर आपसमा सीट बाँडफाँटको माथावच्चीमा व्यस्त छ । उता गठबन्धनले एक्लो पारेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्नो चुनावी रणनीति अझै बनाई सकेको छैन । हुन सक्छ नेकपा एमाले गठबन्धनले बनाउने थप रणनीतिलाई पर्खिएर बसेको होस् । तथापी एमालेका कतिपय नेताले आगामी चुनावमा आफनो पार्टी एक्लै भिड्छ भन्ने दाबी गरेपनि राजनीतिक क्षेत्रले यसलाई धाक दिन दिएको गफ मात्र मानेको छ र एमाले पनि चुनावी सहयात्राका लागि सहयात्री खोजी राखेको छ ।

सरकारमा रहेका पाँच दलको गठबन्धन चुनावी सहकार्यका लागि सहसत भएर यसका लागि आवश्यक गृहकार्य गरी राखेको छ । तर यो गठबन्धनमा अरु कति दल सहभागी हुने हुन निश्चित भएको छैन । र, प्रत्येक्ष तर्फको १६५ सीटको भागबण्डा पनि मिलिसकेको छैन । सत्तारुढ गठबन्धनमा बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी र बामदेव गौतमले नेतृत्व गरेको नेकपा एकीकरण राष्ट्रिय अभियानमा सामेल हुने सहमति भएपनि कसरी भन्ने सम्बन्धमा भने ठोस फर्मुला बनी सकेको छैन ।

गठबन्धनका दललाई सीट बाँडफाँट गर्न महाभारत परेको अवस्थामा थप दुई दललाई मिलाएर चुनावमा जान गठबन्धनलाई सजिलो हुने देखिदैन । तर अहिलेसम्म नेपाली जनताले काँगे्रस सभापति शेर बहादुर देउवाको नेतृत्वमा यो गठबन्धन किन बनेको हो भनेर बुझन सकेका छैनन् । किनभने प्रतिगमनका विरुद्धमा यो गठबन्धन बनेको हो भनिन्छ । तर यसोभन्दा देउवाले नै राजा ज्ञानेन्द्रलाई प्रजातन्त्र बुझाएर प्रतिगमनको प्रारम्भ गरेको घटना जनतालाई याद आउँछ । त्यस कारण पाँच दलको गठबन्धनलाई विचारको होईन सत्ताको जगमा उभिएको मान्नुपर्दछ यस बाहेक, विचार, सिद्धान्त तथा कार्यदिशामा कुनै मेल नभएका दलहरु प्रतिगमन कै कारणले गर्दा एक ठाउमा आएको कसैले पनि विश्वास गर्दैन । कारण जे भए पनि पाँच दल एक ठाउँमा छन । नेपालको राजनीतिको आजको सत्य यही हो ।

तर जति सजिलोसँग गठबन्धन बनेको छ । सिटको बाँडफाँट गर्न त्यती नै कठिन पर्ने देखिएको छ । यही कारणले गर्दा गठबन्धन टुट्छ भन्ने विश्वास एमालेका कतिपय नेताको छ । नेकपा एमालेले चुनावी रणनीति नबनाउनुको एउटा कारण यो पनि हो । सरकारले संघीय र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको भोली पल्टै पाँच दलको गठबन्धनका सर्वोच्च नेताहरुले सीटको बाँडफाँट मिलाउन भनेर गत साउन मसान्तसम्मको समय दिएर ११ सदस्यीय कार्यदल गठन गरेको थियो । तर यो कार्यदलले सीट बाँडफाँटको मापदण्ड त बनायो तर गठबन्धनमा रहेका पाँच दलका निम्ति सीट बाँडफाँट भने गर्न सकेन । किनभने संघीय संसदको १६५ सीट गठबन्धनका पाँच दललाई उसको हैसियत अनुसार भाग लगाउन सजिलो छैन ।

यो मामिलामा अर्को महत्वपूर्ण पक्ष के छ भने सजिलै जित हात पर्छ भन्ने भ्रम गठबन्धनका नेतामा छ । यही भ्रमको कारण बाबुराम भट्टराईदेखि बामदेव गौतम समेत गठबन्धनको बलियो घटक माओवादीको चुनाव चिन्हवाट आम चुनाव लड्न कस्सिएका छन् । गठबन्धन कै कारण एमाले पराजित हुन्छ भन्ने विश्लेषण पनि हुने गरेको छ । तर राजनीति गणितको सिधा रेखाका कहिले पनि हिड्ँदैन भन्ने सबैले बुझ्नु पर्दछ । र, चुनावी परिणामलाई मुद्दा र दलको कामले प्रवाब पार्दछ । तर गठबन्धनमा रहेका दल र गठबन्धन बनाएको सरकारको एउटा काम पनि जनताले सन्तोष मान्ने तहको छैन । त्यस कारण ०७४ साल र हालै सम्पन्न भएको स्थानीय चुनावमा विभिन्न दलले पाएको मत गनेर अबहुने आम चुनावको परिणामको भविष्यवाणी गर्नु भन्दा ठुलो मुर्खता अर्को केही हुदैन ।

प्रष्ट छ, पाँच दलले गठबन्धन बनाएर मैदानमा उत्रन थालेको चुनाव जित्नका लागि हो । तर गठबन्धनमा रहेका दलले मतदाताको मन जित्ने काम त एउटा पनि गरेका छैनन् । यसैगरी नेकपा एमालेले पनि सत्तामा रहँदा जनताको मन जित्ने काम एउटा पनि गरेन । अर्थात् यो मामिलामा दुबैपक्ष कान चिरिएको जोगिछन् । यसैले गर्दा जनता अहिले विकल्प खोजी राखेका छन् । यसको संकेत जनताले स्थानीय निर्वाचनमा गरी सकेका छन् ।

यसैगरी मैदानमा आउन थालेका नयाँ अनुहार र दलको चर्चासँगै राजनीतिक बजारमा घन्किन थालेको पाका नेतालाई संसद होईन बृद्धाश्रम भन्ने नाराले पनि यो कुरालाई संकेत गर्दछ । दल र नेताको कारणले गर्दा जनताले परिवर्तन र उपलब्धी माथि नै प्रश्न उठाई राखेका छन् । यही कारणले गर्दा जनताले विकल्पको मुद्दा उठाएका हुन् । नेता र दलको व्यावहारमा सुधार नभए जनता यो भन्दा अगाडी पनि जान सक्दछन् । यो मामिलामा विचित्र के देखिएको छ भने सम्पुर्ण रुपले असफल सावित भएका र उमेरले पनि अस्ताउँदो सूर्यको स्थितिमा पुगेका नेताहरु राजनीतिबाट विश्राम लिने होईन एक पटक फेरि संसदमा पुगेर मन्त्री प्रधानमन्त्री हुने धोको पु¥याउने कुरा गर्छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *