गठबन्धनका दलभित्र पाक्न सकेन खिचडी

राजनीति समाचार

काठमाडौं । आगामी आमनिर्वाचनको लागि गठबन्धनका दलहरुले अहिलेसम्म सिट बाँडफाडको सकेका छैनन् । एकाआपसमा आरोप प्रत्यारोप गर्दै सिटका लागि झगडा गर्दै समय कटाइरहेका छन् । जम्मा १६५ सिटको संघमा नेपाली कांग्रेसले ८० देखि ९० सिटमा दावी गरेको छ । नेकपा माओवादी केन्द्रले आफ्नो दावी कायमै राखेको छ । उता एकीकृत समाजवादी पनि आफ्नो दावीबाट तसमस भएको छैन । अर्का मधेसवादी नेता उपेन्द्र यादवले २०–२५ सिटमा दावी गरिरहेका छन् ।

त्यस्तै चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले ५, ६ सिटमा दावी गरेको छ ।
यसरी गठबन्धनमा संलग्न दलका नेताहरु सिट बाँडफाडमा आ–आफ्नो दावीबाट एकइन्ची पनि नडगमगाउँदा भागबन्डामा किचलो सुरु भएको छ । उता एमाले अध्यक्ष केपी शर्मा ओली भने कांग्रेस संस्थापन इतरका नेता डा. शेखर कोइरालालाई उकासिरहेका छन् । गठबन्धनभित्र अहिले सिट बाडफाडको विषयलाई लिएर भाडभैलो मच्चिएको छ । अहिले राजनीति दलका नेताहरु देश विकास र जनताका काम गर्नेभन्दा पनि सिट बाडफाड र भागबन्डामा अल्झिएर दिन कटाइरहेका छन् । राजनीतिक पार्टीहरुले यसरी झगडा गरेर लिएका सिटमा पनि क्षमतावान, योग्य र अनुभवी व्यक्तिलाई टिकट नदिएर पत्नी, छोराछोरी, भाइबुहारी, ज्वाइ, सालासाली, साइनानाता तथा आसेपासेलाई दिने गरेका छन् ।

पार्टीका केही व्यक्तिहरुलाई दिइहाले पनि जनतामाझ बद्नाम भएका, भ्रष्टाचारको मुद्दा खेपिरहेका, कतिपय ज्यान मुद्दामा फसेका, अपराधी, ठेकेदार, माफियालाई टिकट दिने गरिएको छ । त्यसैमेसोमा गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले इँटा भट्टमा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा मुद्दा खेपिरहेका व्यक्तिवलाई टिकट दिई सांसद बनाउने खेल गर्दै छ ।

त्यस्तै अन्य दलहरुमा पनि भ्रष्टाचार आरोपी, विभिन्न ठेक्कापट्टामा मुछिएका, अनियमितता गरेका, जनताको भन्दा आफू र आफ्ना परिवारको मात्रै काम गर्ने, विभिन्न राजश्व छलीमा फसेका व्यापारी, ठेकेदार, उद्यमीलाई टिकट दिने खेल भइरहेको छ । यी सबैलाई हेरिरहँदा यस्ता नेता र सांसदले देश र जनताको हितमा काम गर्दैनन् भन्ने जनताको बुझाइ छ । त्यसैले राजनीतिक पार्टीका नेताले यसप्रति बेलैमा सोचेर स्वच्छ छवि भएका व्यक्तिहरुलाई छानेर टिकट दिई सांसद बनाउँदा उचित हुन्छ कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *