अकुत कमाएका भ्रष्टलाई माओवादीको टिकट

समाचार

काठमाडौं । के माओवादीमा इमान्दार र योग्य मान्छेको खडेरी लागेको हो ? हुन त काँग्रेसका लागि मोहम्मद आफ्ताल आलमजस्ता हत्यारा,एमालेका लागि चक्रे मिलनजस्ता गुण्डाले टिकट पाएपछि माओवादी पनि के कम ?
उस्ले अकुत र भ्रष्टाचार मुद्धामा डामिएका एक जना पात्रलाई चुनावमा उठाउने तरखर गरिरहेको रहष्य खुलेको छ । त्यस्को खुलासा स्वयं तिनै भ्रष्टाचारमा डामिएका पूर्व नासुले खुलासा गरेका छन् । कहिले राज्यमन्त्री उमेश श्रेष्ठसँग जोडिएको फोटोका कारण चर्चा र विवादमा तानिएका पात्र हुन भीमकान्त भण्डारी ।
गत आइतबार तीन बजेर २५ मिनेट जाँदा उनको सामाजिक सञ्जालमा अध्यक्ष प्रचण्डसँगै जोडिएर दुई वटा तस्विर सार्वजनिक भयो । लेखिएको थियो, अध्यक्ष भन्नुहुन्छ गुल्मीमा के छ जितिन्छ ? मैले भने गुल्मी २ का जनताले हसिया हतौडामा भोट हाल्ने रहर गरेका छन ! यो तथ्यबाट के बुझ्न सकिन्छ भने उनी गुल्मीबाट माओवादीको तर्फबाट उम्मेद्धार बन्दैछन् । तर त्यहाँसम्म पुग्नु अघि ०७९ असार ३ गते फर्कनुपर्ने हुन्छ । यिनै भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत आर्जनको अभियोगमा मुद्धा दायर गरेको छ । उनी चार जना माओवादी मन्त्रीको पिए हुँदा ६ करोड २४ लाख ४ हजार अकुत आर्जनको अभियोगमा विशेष अदालतमा मुद्धा चलिरहेको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायकका रुपमा कार्यरत रहँदा भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी ६ करोड २४ लाख ४ हजार अकुत वा गैरकानूनी सम्पत्ति आर्जन गरेको र सो को स्रोत देखाउन नसकेपछि उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । ०७३ असोज २१ मा सरकारी सेवामा प्रवेश गरेका भण्डारी २०७७ साउन १ मा स्वेच्छिक अवकाश रोजेका भण्डारीले कोरोना कहर शुरु भए पछि सरकारी जागिर छाडेर बिथ ल्याब नामक कोरोना किट परीक्षणको धन्दामा चलाएका थिए । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा ओम्नी नामक कम्पनी बदनामीमा मुछिए पछि भण्डारीले बिथ ल्याब जन्माएर उनी कोरोनाको किट परीक्षणमा लागेका थिए । मासिक २८ हजार हाराहारी तलब थाप्ने भण्डारीले एकाध बर्षमै अकुत आर्जन गरेपछि गुल्मीतिर उनलाई नजिकबाट चिन्ने र जान्नेहरु चकित भएका थिए ।
उनलाई नजिकबाट चिन्नेहरुका अनुसार कुनै समय काठमाडौंमा कोठाभाडा तिर्न नसकेर एक हजार सापटी माग्ने भण्डारी छोटो समयमै रातारात करोडपतिमा रुपान्तरित भएका थिए । गुल्मीको मालिका गाउँपालिका ५ का सामान्य परिवारमा जन्मेका भण्डारीको सम्पत्ति विवरण हेर्दा यति धेरै लगानी गर्ने आर्थिक हैसियत देखिँदैन । स्थानीय विकास मन्त्रालय स्रोतले उपलब्ध गराएको सम्पत्ति विवरण अनुसार २०७१ माघ २२ गतेसम्म भण्डारीले बुबाको नाममा १ रोपनी बारी, २ रोपनी खरबारी र ३ रोपनी खेत तथा हजुरबुबाको नाममा १४ रोपनी पुर्ख्यौली बारी रहेको विबरण बुझाएका छन् । सबै परिवारको जम्मा गर्दा उनको परिवारसँग २० रोपनी १२ आना जग्गा रहेको देखिन्छ । भण्डारी जागिरे जीवनका क्रममा रहँदा तत्कालीन स्थानीय विकास मन्त्री हितराज पाण्डे ,महिला बालबालिका मन्त्री आशा कोइराला,अर्थमन्त्री कृष्णबहादुर महरा र उर्जामन्त्री बर्षमान पुनको सचिवालयमा बसेर काम गरेका थिए ।उनको अवैद्य सम्पत्ति बर्षमान पुनको भएको र उक्त व्याल्क मनीलाई ह्वाइट बनाउनका लागि भीमकान्तलाई डमीका रुपमा तयार गरिएको पनि कतिपय गुल्मीका स्थानीयहरु सुनाउँछन् । अहिले तिनै भीमकान्तलाई टिकट दिनुपर्ने भन्दै माओवादीभित्र लबिङ बढेपछि रामकुमारी झाक्री अप्ठ्यारोमा परेकी छिन् । गुल्मी २ रामकुमारी झाक्रीको क्षेत्र हो त्यहाँबाट एमालेले गोकर्ण विष्ट,काँग्रेसबाट चन्द्र भण्डारीलाई उठाउने तयारी छ । माओवादीले कोही उम्मेद्धार नपाएपछि भ्रष्टाचारीमा डामिएका र अकुतमा मुछिएका भिमकान्तलाई अगाडि सारेको छ ।
गत स्थानीय तहको निर्वाचनमा १२ स्थानीय तह रहेको गुल्मीमा माओवादीले चारवटामा प्रमुख पद जितेको छ । प्रमुख जितेकामध्ये रुरुक्षेत्र गाउँपालिकाबाहेक अन्य तीनवटा पालिका क्षेत्र नम्बर २ मा पर्छन् । सो क्षेत्रमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले टिकट दाबी गरेका कारण माओवादीका स्थानीय नेता कार्यकर्ता केन्द्रीय नेताहरुसमक्ष डेलिगेशन धाइरहेपछि रामकुमारी अप्ठ्यारोमा परेकी हुन । गुल्मीबाट माओवादीले उम्मेद्धारका रुपमा भीमकान्त भण्डारी,नुमराज पाण्डे र वीरवहादुर कार्कीको नाम सिफारिस भएको छ । पहिलो नम्बरमै उनको नाम सिफारिस भएका कारण भिमले नै टिकट पाउने सम्भवना छ । अकुत आर्जन गरिसकेका भिम पार्टीका लागि समेत मनग्य खर्च गर्न सक्ने हुँदा माओवादीले उनैलाई टिकट दिने पक्षमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *