बालेन शासनले गरिबलाई हैरान

समाचार

काठमाडौं । मुलुकमा रोजगारीको अवसर छैन । जनताले देशको राजधानीबाट केही न केही अपेक्षा गरेको हुन्छ । तर स्थानीय तह र संघीय सरकारको नजरमा नपर्ने तल्लो वर्ग दैनिक महानगरको दमनमा पर्ने गरेको छ । जनतालाई वैकल्पिक व्यवस्था नगरी सडकको पेटी कब्जा गरेको भन्दै अव्यवहारिक र अवैधानिक रुपमा गरिब तथा साना व्यवसायीलाई पाखा लगाउनु अनुचित कार्य हो । काठमाडौं महानगरभित्र यो भन्दा ठूलो विकृति छ । कर्मचारी इमान्दार नहुँदा नक्सा पास नगरी भवन बनाउने, राजस्व तिरेको भन्दा फरक संरचना बनाएर भाडा लगाउनेहरुको विरुद्ध कोही बोल्न सकेको छैन । बाध्यताले डोकामा साग, ठेलागाडामा मकै बेच्ने माथिको कारबाहीलाई लिएर बालेन शासन तानाशाह जस्तै बनेको छ । नगरको सभ्यता बचाउने, सांस्कृतिक धरोहर जोगाउने दायित्व महानगरपालिकाको हो ।
तर चाडपर्वको समयमा मौका नदिने, गरिब ठेलागाडा लुट्ने कामबाट चार महिनामा संकलित ४० लाख मूल्यको सामान जफत गर्दा बालेन शासनको गुणगान गाउन मिल्दैन । महानगरले सडक पार्किङमा भएको लुटमा छुट दिएको छ । देशको सुविधा सम्पन्न वीर अस्पतालकै जमिनमा सडक बनाएर त्यसैको दायाँबायाँ मोटर साइकल पार्किङ गरेर गरिएको लुटमा बालेनको नजर किन पर्दैन ?
फुटपाथ पैदल यात्रुको हो । राजधानीका प्रत्येक वडामा त्यस्ता समस्या छन् । तर महानगरले खानेपानी, ढल, सडक मात्र होइन, विद्युत, नेट र केबुल तारहरुसमेत व्यवस्थित गर्न सकेको छैन । कतिपय स्थानमा महानगरकै कर्मचारीले आँखा चिम्लिँदा विकृति बढिरहेको छ । नगर प्रहरीले फुटपाथबाट समातेका लत्ताकपडा आफ्ना छोराछोरी, आफन्तले प्रयोग गर्ने गरेका थुप्रै प्रमाणहरु छन् । तरकारी, फलफुल नगर प्रहरीले आपसमा बाड्दा प्रतिस्पर्धा नै हुने गर्दछ । नेतृत्वले सबैतिर ध्यान दिन नसक्ने भएकाले विभागहरु खडा गरेका हुन् । जसले नीति निर्माण गर्छ, त्यही अंगले गर्ने बद्मासीको छानबिन कसले गर्ने ? त्यही कारण महानगरमा बालेन शाहको सुधारको अभियान डनवादमा परिणत हुन थालेको छ । महानगरको सभ्यता बिगार्ने कांग्रेस र एमाले र माओवादी सबै हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *