काठमाडौं । राजनीतिक दलभित्र कल, बल र छलसँगै वामपन्थी शक्तिले बाजी मारेको छ । यसरी बाजी मारे तापनि अहिलेको सरकार चलाउन भने त्यति सजिलो छैन । किन कि अहिलेको आर्थिक अवस्था अत्यन्त नाजुक अवस्थामा पुगेको छ । नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाउनलाई विदेशीको भर पर्नुपर्ने देखिन्छ । त्यसकारणले पनि राजनीतिक दल र सरकारको अस्थिरताले मुलुकको आर्थिक अवस्था नाजुक हुँदै गएको विश्लेषकहरुले चर्चा गर्न थालेका छन् ।
यतिखेर देशको आर्थिक अवस्था विदेशमा रहेका युवायुवतीहरुले पठाएको रेमिट्यान्सबाट धानिने गरेको छ । यदि नेपालीहरुले विदेशबाट पठाएको रेमिट्यान्स थिएन भने नेपालको अर्थतन्त्र झन् कमजोर हुने र नियमित खर्च थान्न पनि सरकारलाई हम्मेहम्मे पर्ने थियो । र, अब बनेको सरकारको हालत पनि त्यहीं रहने देखिन्छ । त्यसकारण पनि नेपाली युवायुवतीलाई सरकारले कानुनी रुपमै विदेश पठाएर रेमिट्यान्स भित्र्याउने काम गरिरहेको छ ।
र, तत्कालीन पाँच दलीय गठबन्धन सरकारले नेपालको आर्थिक क्षेत्रलाई ध्यान नदिएर सरकार चलाउने काम बाहेक नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाउने कुनै खाका ल्याउन सकेको थिएन । अब बनेको सरकारले नेपालको आर्थिक क्षेत्र चलायमान बनाउन कस्तो योजना ल्याउने हो त्यो भने यकिन छैन । किन कि तत्कालीन सरकार पाँच दलीय गठबन्धन मिलेर बनेको थियो । त्यो गठबन्धनले देश र जनताको लागि कुनै पनि महत्वपूर्ण भूमिका खेल्न सकेको थिएन ।
खाली राजनीतिक भागबन्डा मिलाएर खाने र चुनावको खर्च जुटाउने बाहेक कुनै ठोस काम गरेन । तत्कालीन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि ठोस काम गर्न सकेका थिएनन् भने अहिले तीन स्वतन्त्रसहित सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक क्षेत्रलाई कसरी चलायमान बनाउँछन् त्यो भने अहिलेसम्म एकिन भइसकेको छैन ।
यसमा पनि अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री बनेका नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले कस्तो भूमिका खेल्छन् त्यो पनि एकिन छैन । हुन त विष्णु पौडेल पहिला पनि अर्थमन्त्री चलाइसकेका व्यक्ति हुन् । तर, पहिलाको र अहिलेको अवस्था धेरै फरक भइसकेको छ । त्यसमा पनि वामपन्थी सरकारले देशको विसका र जनहितमा काम गर्नुपर्ने चुनौति थपिएको छ ।(तामाकोशी सन्देशमा समाचार छ)