अवसरको लागि विदेशिने महिलाको सुरक्षा कसले गर्ने ?

राेजगार समाचार

काठमाडौं । विगत लामो समयसम्म विभिन्न राजनीतिक दलहरुले उठाउँदै आएको विषय हो नेपालमा उद्योगधन्दा सञ्चालन गरी नेपाली युवायुवतीहरुलाई स्वदेशमै रोजगारी प्रदान गरी विदेशिने क्रम निरुत्साहित गर्ने भन्दै आएका छन् । तर, अधिकांश राजनीतिकहरुले यतिबेला ‘मुखमा रामराम बगलीमा छुरा’ भन्ने उखान चरितार्थ गरिराखेका छन् । गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा धेरै उम्मेदवारहरुले स्वदेशमै रोजगारी सिर्जना गर्ने भनेर आ–आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेका थिए ।

त्यसमध्ये कतिपय राजनीतिक दलका नेताहरुले चुनाव जितेका थिए भने कतिपयले पराजय भोग्नुपरेको छ । तर, निर्वाचन सम्पन्न भएको एक महिना पुरा भइसक्दा पनि सरकार बन्ने कुनै छाटकाँट देखिँदैन । सरकार बनिहाले पनि कुन पार्टीको नेतृत्वमा बन्छ भन्ने कुरा अहिलेसम्म एकिन भएको छैन । यतिखेर सरकार पूर्ण रुपमा काम चलाउन अवस्थामा रहेको छ । हुन त काम चलाउ सरकारले पनि यी र यस्ता समस्याहरुलाई समाधान गर्न सक्छ । तर पनि अधिकांश नेपाली युवा युवतीहरु अध्ययन र रोजगारीको लागि विदेशिने क्रम भने जारी छ । यतिखेर अधिकांश युवायुवतीहरु विदेशिने क्रम जारी छ ।

यसको रोकथाम भने कुनै पनि सम्बन्धित निकायले गर्न सकेको छैन । यतिखेर काम चलाउ सरकारको अवज्ञ गर्दै मेनपावर सञ्चालक, विचौलिया, श्रम तथा रोजगार मन्त्रालयका उच्च निकायका कर्मचारीदेखि अध्यागमन विभागका कर्मचारी, विभिन्न देशका रोजगारदाता एजेन्ट र नेपाली एजेन्टको मिलिभगतमा फिरी भिसा, फिरी टिकटदेखि भारतीय बाटो हुँदै कुवेत, बहराइन, इजराइललगायत देशमा विचौलियाहरुले बिना श्रम स्वीकृति, बिना पासपोर्ट र बिनाभिसा अवैध रुपमा नेपाली युवतीहरुलाई रोजगारीको नाममा विदेश पठाउने गरिएको छ ।

तर, यता श्रम तथा रोजगार सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भने त्यसरी विदेश जाने युवायुवतीलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा त्यो नगरी कामचलाउ सरकारको मन्त्री भएको कारणले होला उनी अहिले राज्यको सम्पत्ति र गरीवलाई ठगी मेनपावरको इसारामा देश दौडाहामा रमाएका छन् । उता मेनपावर व्यवसायी र विचौलिया मिलेर मन्त्री कुँवरलाई गुमराहमा पारेर अवैध रुपमा थुप्रै युवती तथा महिलाहरुलाई कमिसनको आधारमा विदेश पठाउने काम भइरहेको छ । यसरी अवैध तरिकाले विदेशमा पठाइएका युवती तथा महिलाहरुको जीवन सुरक्षाको बारेमा नेपाल सरकार तथा सम्बन्धित निकायले कुनै ध्यान दिएको छैन ।

अधिकांश महिलाहरुलाई विदेश पाठउने योजना सम्बन्धित संघ संस्था, महिला अधिकारकर्मीदेखि महिलाहरु नै यसको भागीदार बन्ने गरेका छन् । किन कि अधिकांश महिलाहरु रोजगारीका लागि विदेशिने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । तिनै महिलाबाट महिलामाथि अन्याय, अत्याचार र अपमानित ढंगले कतिपय महिलाहरुलाई आर्थिक प्रलोभनमा पारेर विदेश लगिने प्रवृत्ति हावी भएको छ । यस कारण कतिपय महिलाहरु रोजीरोटी र उच्च शिक्षा हासिल गर्न विदेशिने गरेका छन् ।

यसरी विदेशिने महिलाहरु जानी नजानी फस्ने गरेका उदाहरणहरु पनि थुप्रै छन् । त्यसरी फसेबापत उनीहरुले पारिवारिक र सामाजिक रुपमा अपहेलित हुनुपरेको उदाहरणहरु पनि जगजाहेर छ । किन कि ती महिलाहरु रोजीरोटी र उच्च शिक्षाको लागि अध्ययन गर्ने सिलसिलामा विदेश गए तापनि वाध्यता या भुलवस नैतिक या अनैतिक रुपमा यौन सम्पर्क भएपछि सम्बन्धित विदेशी नागरिकबाट जन्मिएका बालबच्चाको हेरविचार कसले गर्ने र नागरिकता कसरी प्राप्त गर्ने भन्ने समस्या पनि त्यत्तिकै उब्जिएको छ ।

यसरी जन्मिएका बालबच्चाहरुको हेरविचार र रेखदेखको लागि सरकार र सम्बन्धित निकायले ध्यान दिने कि नदिने ? यसैलाई लिएर यतिखेर सामाजिक बहस खडा भएको छ । अहिले नेपालमा नाम कहलिएका मेनपावर व्यवसायीहरु र विदेशी एजेन्टहरु मिलेर कतिपय समस्याको समाधान उच्च निकायका कर्मचारी र विचौलियाले कानुनको धज्जी उडाउँदै मौखिक आधारमा कर्मचारीको मिलेमतोमा अवैध तरिकाले नेपाली युवतीहरुलाई विदेश पठाउने काम भइरहेको छ । यसरी महिलाहरु पनि रोजीरोटी र क्षणिक फाइदाको कारण विदेशिने क्रम पनि जारी छ ।

भोलिका दिनमा उनीहरुको पारिवारिक समस्याको समाधान कसले र कसरी गर्ने भन्ने विषयमा नेपाल सरकार र सम्बन्धित निकायका उच्च पदाधिारीहरुले ध्यान दिन जरुरी छ । (तामोकाशीसन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *