पर्यटन क्षेत्रलाई लयमा फर्किएको छ

अन्तरवार्ता

 
कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ । सन् २०२०को अन्त्यमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । सन् २०२२ देखि भने पर्यटक आगमनमा सुधार हुँदै आएको छ । याफ्टिङ, होटल, क्यासिनो, हिमाल आरोहणको नियमन र व्यवस्थापनको पर्यटनको मुख्य प्रोडक्ट हिमाल आरोहणको अनुमति दिने, हिमाल आरोहण खोल्ने र प्रवद्र्धन गर्नेसम्मको जिम्मा पर्यटन विभागलाई छ । एकातिर निजी क्षेत्रको लगानी जोगाउनुपर्ने अवस्था छ भने नियमन गरेर प्रतिस्पर्धी, चुस्त र पारदर्शी पर्यटन उद्योग बनाउनुपर्ने मुख्य जिम्मेवारी पनि पर्यटन विभागकै मातहतमा छ । पर्यटन विभागको नेतृत्व सम्हालेका होम प्रसाद लुइटेलसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः

० पर्यटन विभागका काम, कर्तव्य र अधिकारहरु के के हुन् ?
नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ । देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवर्द्धन गरिनु आवश्यक छ ।पर्यटन क्षेत्रको विकास र विस्तार सहित आन्तरिक र बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक छ । नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढ्दै गए अनुरुप यसलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राखिएको, नेपालको सांस्कृतिक विविधता अनुपम रहेकोले यसलाई संरक्षण, विकास र प्रबर्द्धन गर्दै यसको आर्थिक उपयोग एवम् पर्यटनको मुख्य उत्पादन र गन्तव्यको रुपमा विकास गर्न आवश्यक भएको, साथै हवाई सेवाले भौगोलिक विषमतामा यातायात सेवा उपलब्ध गराउनुको अतिरिक्त बाह्य र आन्तरिक रुपमा पहुँच विस्तार भै पर्यटन सेवामा समेत पर्याप्त योगदान पुर्याउने भएकोले यी तीनओटै क्षेत्रलाई एकीकृत रुपमा अगाडि बढाउन एउटै मन्त्रालयको कार्यक्षेत्रमा राखिएको पाइन्छ । पर्यटन उद्योगहरुको दर्ता, नवीकरण, स्तरीकरण, अनुगमन एवम् पर्यटन व्यवसायको नियमन गर्ने कार्य, पर्यटकीय सम्पदाहरुको संरक्षण तथा पर्यटन पूर्वाधारहरुको विकास, पर्यटकहरुको सुरक्षा गर्ने जस्ता कार्यहरु विभागस्तर र कार्यालयस्तरबाट गर्नु औचित्यपूर्ण हुन्छ । त्यसमा पनि धेरै पर्यटक व्यवसाय र उद्योग भएको काठमाण्डौ र ठूला पर्यटन उद्योगहरु जस्तो पाँचतारे होटलहरु, क्यासिनो, स्वदेश विदेशमा पर्यटन प्रबर्द्धन, पर्वतारोहण अनुमति र पर्वतीय पर्यटनको एकीकृत विकास जस्ता कार्य विभागको तहबाट गर्नु उपयुक्त हुने भएकोले पर्यटन पूर्वाधार विकास, पर्यटन उद्योगहरुको नियमन, पर्यटन प्रबद्र्धन र विकास, पर्यटक प्रहरीको व्यवस्थापन गर्नु हो ।
० पछिल्लो समय पर्यटन विभागले के कस्तो काम गर्दै आएको छ ?
यहाँ भएका ट्राभल ट्रेकिङ दर्ता नवीकरण र खारेजी गर्न कार्य र अन्य यससँग सम्बन्धित जिम्मेवारी प्रदेशमा हस्तान्तरण गरेका छौं । प्रस्तावित पर्यटन ऐनमा हामीले कम्तीमा ३ तारेसम्मका होटलहरू वर्गीकरण गर्ने, स्तरवृद्धि गर्ने प्रस्ताव प्रदेश तहबाट नै हुने भनेका छौं । तारे होटलको सेवा–सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसारै संघको नियमनमा प्रदेशमा पनि कायम हुनुपर्ने भनेका छौं । कतिपय स्थानीय होटलहरूलाई हाम्रो मापदण्ड र कानुनले चिन्दैन, तारे होटलका नामका धेरै होटल राजमार्गदेखि अन्य क्षेत्रमा रहेका छन् । यसका लागि स्थानीय तहका होटललाई नियमन गर्न स्थानीय होटल मापदण्डको तयारी गरेका छौं । पदयात्रा, हिमाल आरोहण गर्ने, पर्यटकलाई नेपाल आगमनमा सहजीकरण गर्ने काम गर्दैं आएको छु । अलपत्रमा परेका नेपालीको व्यवस्थापन क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाउनेदेखि आवश्यक नीति नियम बनाउने काम गर्दै आएका छौं । थोरै जनशक्ति, साधनस्रोतका बीचमा व्यवस्थापन गर्दै आएका छौं । हामीले पर्वतारोहणको अनुमति, आरोहणको रेकर्ड, आरोहणको समग्र व्यवस्थापन, दोस्रो होटलको व्यवस्थापन, होटलको तारे निर्धारण, ईआईए–आईए, प्लानको स्वीकृति, भन्सारमा दिने सहुलियत, विनिमयका सुविधाजन्य काम अनुगमन, नवीकरण, साहसिक क्रियाकलापमा ¥याफ्टिङ, क्रुज, जिपलाइनिङ, बन्जिजम्पिङ्स, यसको ईआईए, आईए, दर्ता र सहजीकरण गर्दा, त्यस्तै पूर्वाधारमा ट्रेकिङ, ट्रले, जियस्टी, पर्यटकीय गन्तव्यको विकास, साथै भएका पर्यटकीय पूर्वाधारको मर्मत–सम्भार गरेर सञ्चालनमा सहजीकरण गर्छौं । नीति तथा संघीयताअनुसार कार्यक्षेत्र प्रदेशमा दिएका छौं । त्यसमा पनि समन्वय गरिरहेका छौं । पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि नयाँ गन्तव्य र पूर्वाधारमा पनि जोड दिनुपर्छ भनेर विभागले आवश्यक अध्ययन गरिरहेको छ ।

० २०७२ बैशाख १२ को महाभूकम्पपछिको पुनर्निर्माण र पर्यटकीय गन्तव्यहरूको पूर्वाधारको काम कहाँ पुगेको छ ?
पुनर्निर्माण र पर्यटकीय गन्तव्यहरूको पूर्वाधारको काम भइरहेको छ । २०७२ सालको भूकम्पपछिका पदमार्ग लाङटाङ, अन्नपूर्ण, मनास्लु साथै केही पदमार्गको मर्मत–सम्भारको काम पूरा गरेका छौं । तोकिएका कामहरू गत वर्ष र अघिल्लो ठाउँमा हामीले निर्माण तथा मर्मतसम्भार सम्पन्न गरेका छौं । मनास्लु बेसक्याम्प, चांैरीखर्कमा पनि बाटो निर्माणको काम भइरहेको छ । साथै उद्धारका लागि, मुक्तिनाथ र मानसरोवर हिल्लासा तीर्थ यात्रामा जानेहरूको स्वास्थ्यलाई ध्यानमा राखेर उद्धार केन्द्र स्थापना गर्दैछौं ।

० पर्यटन विभागले पुरानो क्यासिनोको समस्या राजस्व संकलन बक्यौतामा विवादको समस्या कसरी समाधान गर्दैछ ?
क्यासिनोको दर्ता तथा नवीकरण मन्त्रालयले गर्छ । केही क्यासिनो अदालतको आदेशका कारण बक्यौता र छानबिनको क्रममा रहेको छ । बक्यौता असुली र बेरुजु फछ्र्यौटका काम विभागले सँगसँगै अगाडि बढाएको छ । नयाँ प्रक्रियामा आउन पुराना बक्यौता नतिर्नेहरूको हकमा हामीले चैतसम्मको समय सीमा राखेर पत्राचार गरी रोयल्टी उठाउने प्रक्रिया अगाडि बढाइसकेको अवस्था छ ।

० विगतदेखि सगरमाथा सरसफाइ हुँदै आएको छ । गत वर्ष कोभिड–१९ का कारण सरसफाइ हुन सकेन । यस वर्ष विभागको तयारी के छ ?
नेपाली सेनासँगको सहकार्यमा सरसफाइ अगाडि बढ्नेछ । यसका लागि दुई पक्षीय छलफल जारी छ । विभागसँगको सीमित बजेटका बाबजुत एस्पिटिसन मोडलमा सरसफाइ अभियान गर्नेछौं । विभागले नेपाली सेनासँगको व्यवस्थापन र सहकार्यमा वन तथा वातावरण मन्त्रालयको सहयोगमा सरसफाइ अभियान सञ्चालन हुने गरी टक्स फोर्सले काम गर्नेछ ।

० विभागको भावी काम, अवसर र चुनौती के–के छन् ?
हाम्रो कार्य क्षेत्र धेरै छैन । सेवा प्रवाह, होटल, हिमाल, क्यासिनो, साहसिक साथै पूर्वाधारको काम रहेका छन् । यिनै क्षेत्र नै पर्यटक विकासका लागि कोर क्षेत्र हुन् भन्ने मलाई लाग्छ । हामीले गुणस्तरीय पर्यटकीय विकासका लागि पर्यटकीय गन्तव्यहरूलाई पनि सोहीअनुसार विकास गर्नुपर्छ । बजेट अभावका कारण पूर्वाधारमा पनि भनेजस्तो सुधार र निर्माण हुन नसकेको अवस्था छ । बजेट अभावमा पूर्वाधारमा जोड दिन सकिएको छैन । दातृ निकायबाट सहकार्यका लागि हातहरू आएका छन् । यसमा सरकारको निर्देशनमा मन्त्रालय र विभागले केही कदम चाल्ने नै छ भन्ने मेरो विश्वास छ । सीमित साधनस्रोतले सरकारले लिएको लक्ष्य प्राप्तिका लागि काम गर्नेका लागि चुनौती रहेको छ । पर्यटन ऐनको मस्यौदा बनिसकेको छ । मातहतका निकायमा प्रदेशमा पनि होटल ट्राभल, ट्रेकको मस्यौदा बनाएर प्रदेशमा पठाएको अवस्था छ । पर्यटक संख्या बढेपछि लगानीकर्ताहरू बढेर गए । लगानीकर्ता पनि नयाँ किसिमले पर्यटन क्षेत्रमा भित्रिने अवसर विगतका पर्यटन वर्षले दिएको थियो । पहिले आफ्नै सम्पत्ति लगानी गर्ने परम्परा थियो । हाल बैंकबाट कर्जा लिएर लगानी गर्ने परम्पराको विकास भएको छ । नयाँ–नयाँ युवा समूह पर्यटनमा लगानी गर्न आएका छन् । अब चिन्ता लगानीकर्ताको मात्र होइन; बैंक, सरकार सबै चिन्तित हुनुपर्ने अवस्था आएको छ । अहिले ठूला घराना पनि लगानीकर्ता भएर पर्यटनमा आएका छन् । पर्यटक आगमनमा वृद्धिसँगै पर्यटन उद्योगमा नयाँ ऊर्जा थपिएको छ । लगानी बढेसँगै पर्यटक आगमन बढ्ने क्रममा रहेको छ । पर्यटक आगमन बढ्यो भने लगानीकर्ता पनि सुरक्षित हुनेछ, जसबाट रोजगारी सिर्जना हुनुका साथै राज्यको आम्दानीको सबैमा एकसाथ प्रभाव पर्नेछ । यसकारण सबै निकायले समन्वय गर्दै प्रवद्र्धन, पूर्वाधार निर्माण एकैसाथ अगाडि बढाउनुपर्ने चुनौती छ ।

० होटल, ट्रेकिङ, ट्राभल, क्यासिनोले कस्तो सेवा प्रवाह गरिरहेका छन् ?
औसतमा उहाँहरूले सेवा प्रवाह गरिरहनुभएको छ । विगतमा भन्दा सुधार हुँदै आएको छ । यो क्षेत्रमा गरेका सेवा सत्कारले नै आगामी दिनमा अन्य पर्यटक आकर्षित गर्न सहयोग पुग्छ । सुधार क्रमशः हुँदै जाने हो, आजको भोलि नै परिवर्तन र सुधार हुने होइन । फेक रेस्क्युमा पनि सुधार भएको छ, कसैले औंला उठाउने ठाउँ छैन । पूर्णरूपमा सुधार नभएको भए पनि हामीले कडा निगरानी र नियमन गरिरहेका छौं, विगतमा जस्तो छैन । विदेशी इन्स्युरेन्सका एजेन्टहरूले नेपालमा गर्ने गतिविधिमा पनि हामीलाई शंका छ । यसमा विभागले सरोकारवाला निकायसँग सहकार्य गरी सूक्ष्म अध्ययन गरिरहेको अवस्था छ । सेवा–सुविधामा गुणस्तरमा व्यापक सुधार आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *