यातायात क्षेत्रमा महंगो भाडा

राजनीति समाचार

गुणस्तरहीन खानामा कसले गर्ने अनुगमन ?
काठमाडौं । सातदलीय समर्थनसँगै स्वतन्त्र सांसदहरु मिलेर बनेको सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नारायणकाजी श्रेष्ठले सम्हालेका छन् । उनी मन्त्री भएको पनि महिना दिन पुगिसकेको छ । तर, यतिखेर यातायात क्षेत्रमा देखिएको विकृति, विसंगति र भद्रगोल नयाँ बनेका मन्त्रीले कसरी नियन्त्रण गर्दछन् सर्वसाधारण जनताले चासोका साथ हेरिरहेका छन् । हुन त तत्कालीन भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्रीहरुले यस क्षेत्रको बारेमा कुनै ठोस योजना ल्याएर काम गर्न सकेका थिएनन् ।

हालका मन्त्री नारायणकाजी श्रेष्ठले पनि त्यस्तो उल्लेखनीय काम गरेर यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र जनतामैत्री बनाउलान् भन्ने आशा कमै गरिएको छ । यतिखेर अधिकांश यातायात व्यवसायीहरुले दूरी र रुटको ख्यालै नगरी मनपरी भाडा असुलिरहेका छन् । त्यसतर्पm सम्बन्धित मन्त्रालय र मन्त्री, यातायातका कर्मचारी, यातायात व्यवस्था विभागका डिजी र प्राविधिकहरुले यसको अनुगमन गर्नेपर्नेमा त्यो नगरी कमिसनमा लिप्त भएको पाइन्छ ।

यस क्षेत्रमा भएको विकृति र विसंगतिलाई सुधार गर्न पहल गरेको पाइँदैन । यतिखेर राजधानीबाट देशभरका विभिन्नरुट हुँदै सञ्चालनमा रहेका अधिकांश यातायात सेवाहरुले मनपरी ढंगले भाडा असुलेर सर्वसाधारणलाई ठगी रहेका छन् । यसमा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीहरु पनि गुमनाम भएर बसेका छन् । सवारी साधानहरुले आफूखुसी महंगो भाडा असुल्नमा बिचौलिया र ट्राफिक प्रहरीहरुलाई पनि कमिसन दिनुपर्ने भएकोले हुन सक्छ ।

विभिन्न सुविधाको आशा देखाएर काठमाडौंबाट देशैभर चल्ने रात्री बस, दिवा सेवाका बसहरु, हाइस, डिलक्स, सुमो जस्ता यातायातका साधनले बिचौलिया प्रयोग गरी महंगो भाडा असुल्ने गरेका छन् । यसरी सञ्चालित सवारी साधनका टिकट काउन्टर भए पनि त्यसमा बिचौलियाले खेल्ने र बिनाकाम कमिसन खाने गरेकाले यात्रुहरु बारम्बार ठगिने गरेका छन् । यसरी दिन दुई गुणा रात चौगुणा यात्रु ठगिने र अलपत्र पर्ने गर्दा पनि यातायात व्यवस्था विभाग र सम्बन्धित मन्त्रालयले ध्यान दिएको देखिँदैन ।

यस्ता घटना त साधारण उदाहरण मात्रै हुन् । यसरी सञ्चालित यातायात व्यवसायीहरुले बाटोमा खाना, खाजा, चिया खाने होटेलमा समेत कमिसन खाने गरेकाले यात्रुहरु गुणस्तरहीन खाना खान वाध्य हुने गर्दछन् । अधिकांश राजमार्ग हुँदै चल्ने गाडीले खाना खुवाउने होटेलहरु सरसफाइ नहुने, यात्रुका लागि गुणस्तरहिन खाना खुवाउने, महंगो रुपमा पैसा असुल्ने र त्यसबाट गाडीवालालाई महिनावारी कमिसनसहित निःशुल्क खाना खुवाउने गरिएका थुप्रै उदाहरणहरु छन् ।

सवारी चालकहरुले पनि आफ्नो गन्तव्य र कमिसन आउने होटेलमा जति ढिला गरेर भएपनि गाडी लगेर पु¥याएरै छाड्छन् । यसरी एउटै होटेलमा सयौं गाडी भीडभाड गराउँदा यात्रुहरुलाई सौचालय प्रयोगदेखि खाना खान समेत समस्या पर्ने गर्दछ । यात्रुहरु पनि निर्धारित समयमा खाना खाएर गाडीमा बस्नुपर्ने हतारले ती होटेलमा जे÷जस्ता खाना तयार भएको हुन्छ त्यही खाना बढी मूल्य तिरेर खान वाध्य हुने गरेका छन् ।

यति मात्रै होइन, काठमाडौंबाट दार्चुला, महेन्द्रनगर, डडेलधुरा, धनगढी, नेपालगञ्ज, सूर्खेत, दाङ, रुकुम, रोल्पा, सल्यान, प्यूठान, बाग्लुङ, पोखरा, बुटवल, भैरहवा, पूर्व ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम, इलाम, झापा, धरान, धनकुटा, हिले, विराटनगर, खोटाङलगायतका विभिन्न क्षेत्रमा चल्ने सवारी साधानका चालक र सहचालकहरुले खाना खाने र खुवाउने होटेलहरु वार्षिक कमिसनको आधारमा तय गरेका हुन्छन् । यस्ता रुटमा चल्ने सवारी साधनका चालक, सहचालकहरुले कारणबस बाटोमा गाडी जाम भएर ढिला भएपनि त्यही होटेलमा खाना खुवाउन पु¥याएरै छाड्छन् ।

यस्ता रुटमा चल्ने गाडीका प्यासेन्जरले चाहेको ठाउँमा खाना, खाजा, चिया, पानी केही खान पाउँदैनन् । यस्ता सवारी साधानमा यात्रा गर्ने यात्रुले चालक र सहचालकको इच्छामा मात्रै खानाखान वाध्य हुनुपरेको छ । त्यसैगरी सहचालक र चालकहरु पनि लामो दूरीका सवारी साधन चलाउँदा एउटै व्यक्ति चालक र सहचालक रहेको पाइन्छ । नेपालका अधिकांश लामो दूरीको सवारी साधन एउटै व्यक्तिले २४ घण्टासम्म हाक्नुपर्ने हुन्छ । यसमा यातायात सेवा विभाग र सरकारका सम्बन्धित निकायले ध्यान दिएका छैनन् ।

यसरी १८, २४ र ३० घण्टासम्म समय लाग्ने दुरीमा एउटै व्यक्तिले लगातार गाडी चलाउनु पर्दा ती चालकलाई थकाइ र निद्राले गाँजिसकेको हुन्छ । त्यसकारण पनि नेपालका अधिकांश क्षेत्रमा सवारी दूर्घटना भएर धेरै यात्रुहरुले अकालमै ज्यान गुमाउन वाध्य हुनुपरेको छ । यसरी लामो दूरीका गाडीहरु बिना चेकजाच, बिना अनगुमन र लगातार एउटै व्यक्तिले चलाइरहँदा बीचमा अनियन्त्रित भएर पनि दूर्घटना हुने गरेका थुप्रै उदाहरणहरु छन् । यसरी लथालिङ्ग र लापरवाही ढंगले सञ्चालन गरिएको कारण अधिकांश क्षेत्रमा सञ्चालित सवारी साधन दूर्घटनामा पर्ने गरेका छन् । (तामाकोशीसन्देशाबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *