जनजातीका चम्किला तारा भद्रा घले

लेख विविध

पञ्चायत कालमा औंलामा गन्न सकिने संख्यामा महिलाहरु नेपालको राजनीतिमा सक्रिय थिए । कमल शाह, कमल राणा, सुशिला थापा जस्ता कुलिन महिलाहरु नेपालको राजनीतिमा सक्रिय रहेको बेला आम नेपाली घरानाबाट आएका त्यो पनि जनजातीबाट महिला उत्थानको लागि ग्रासरुट तहबाट काम गर्दै केन्द्रको नेतृत्व तह सम्म पुग्न वरिष्ठ नेतृ सुश्री भद्रा घले सफल भएकी थिइन । राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायत व्यवस्था अन्तर्गत बिभिन्न वर्गिय संगठनहरु पनि बनेका थिए ।

महिला अगुवा भनौ वा नेतृ सुश्री भद्रा घले त्यो बेलाको नेपाल महिला संगठन मार्फत नेपालको राजनीतिमा सक्रिय रहेकी थिईन । उहाँ नेपालको तीन जिल्लाहरुमा सम्बन्धित हुनुहुन्छ । मावली दोलखा जिल्ला हो भने जन्म ओखलढुंगा जिल्लामा भएको थियो र राजनीतिको कर्मभूमि भने सिन्धुली जिल्ला नै रहेको देखिन्छ । राजनीतिमा प्रवेश गरेको सुरुवाती चरण देखि नै उहाँले जनकपुर अञ्चल भित्र पर्ने ६ वटा जिल्ला कै महिलाहरुलाई नेपाल महिला संगठनमा आबद्ध गरी त्यसको नेतृत्व गर्नु भएको थियो । त्यो बेला अहिलेको जस्तो राजनीतिमा लाग्नु सजिलो थिएन । सडक र बाटोघाटोको बिकास भएको थिएन त्यसकारण राजनीतिक संगठन बानाउँदा पैदल हिड्नु पर्ने र कतै कतै घोडाको पनि प्रयोग गर्न सकिन्थ्यो ।

त्यस्तो प्रतिकूल अवस्थामा पनि नेतृ भद्रा घले ज्यूले नेपाली महिलाहरुलाई संगठित तुल्याएर नेपालको राजनीतिमा परिचालित गर्ने सफलता पाउनु भएकी थिईन । उहाँको बिशिष्ठ योगदानको कदरस्वरुप पूर्व प्रधानमंत्री सूर्य बहादुर थापाको नेतृत्वमा बनेको मंत्रीपरिषद्को राज्यमंत्री पदमा आसिन हुने मौका पाउनु भएको थियो । पञ्चायत व्यवस्था निर्दलीय राजनीतिक व्यवस्था भएको हुँदा दलहरुको भन्दा व्यक्ति व्यक्तिको राजनीतिलाई मात्रै मान्यता थियो ।

तर नेतृ सुश्री भद्रा घले एक्लै पनि अहिलेको दलहरु जस्तै प्रभावशाली थिए । उहाँ एक्लै भएर पनि महिला उत्थानको निमिक्त अनेक शन्तिपूर्ण सडक आन्दोलनहरु गरी राज्यको ध्यान माहिला मूक्तिको लागि आकर्षण गराउने सफल्ता पाउनु भएको थियो । त्यसैले नेपालको सामाजिक बिकासमा उहाँको योगदानलाई कम आँक्नु धेरै ठुलो अन्याय नै हुन्छ । राजनीतिको कर्मथलो सिन्धुली जिल्ला भएपनि उहाँले भारतको महाराष्ट्रमा पर्ने वार्धाबाट पेशेवार नर्सको शिक्षा ग्रहण गर्नु भएको थियो । अध्ययनको सिलसिलामा उता बस्दाबस्दै महात्मा गान्धीको जीवनीवाट प्रभावित हुनुभयो र गान्धीवादी बन्नु भयो ।

उहाँ नेपालका अहिलेका नेताहरु जस्तो मुखमा रामराम बगलीमा छुरा भएको नेता होइन । अहिले जीवनको नौदशक पार गर्दा पनि गान्धीवाद अनुसार नै सादगी जीवन बिताइरहनु भएको छ । उहाँले गान्धीको चर्खा आन्दोलनमा लागेकै हुँदा सकेसम्म घरमा नै हातैले बुनेको कपडाहरु लगाउन र त्यसको बिकास गर्न प्रोत्साहन गर्दै आउनु भएको छ । अहिलेका दलका नेताहरुले उहाँ जस्ता नेताबाट सिक्ने वा शिक्षा लिने धेरै बिषयहरु छन । यसै सिलसिलामा पूर्व प्रधानमंत्री श्री खड्ग प्रसाद ओली ज्यू उहाँलाई भेट्न उहाँ कै निवासमा पुग्नु भएको थियो र उहाँको योगदानलाई उच्च कदर गर्दै विशिष्ट पदक आभुषण राज्यको तर्फबाट प्रदान गर्नु भएको थियो ।

नेतृ सुश्री भद्रा घलेको कीर्तिहरु धेरै भएको हुँदा त्यस बारे सम्छिप्तमा बर्णन गरेर मात्रै पुग्दैन । अनेक पुस्तकहरु लेख्नु भएको छ भने चित्रकलाको अग्रनिय हुनुहुन्छ । उहाँको अनेक मूर्त अमूर्त चित्रकलाको अवलोकन गर्न अनामनगर पारी पट्टी बनेको भद्रा घले सदनको प्रदर्शन हलमा नै पुग्नुपर्छ । उहाँका सबै कीर्तिहरुको सग्रह गरी प्रदर्शनीमा मिलाए राखिएका छन । भद्रा घले सेवा सदन परिसर लगभग ८ रोपनी क्षेत्रफलमा फैलिएको छ र त्यो भित्र स्कूल देखि लिएर बृद्ध आश्रमहरु सम्म सञ्चालित छन ।

गुठीको कार्यालय पनि त्यसै भित्र छ भने उहाँकै अगुवाईमा एक अस्पताल पनि बन्नेक्रममा भएको बुझिएको छ । उहाँ महाभारत कालका दनवीर कर्ण जस्तै दानी पनि हुनु हुन्छ । उहाँले आप्नो नाममा भएका धरजग्गाहरु पशुपति क्याम्पसलाई दान गरीसक्नु भएको छ । अहिले पनि उहाँको जीवनको महत्वपूर्ण संगालोहरु युट्यूव च्यानलहरुमा बग्रल्दी आईरहेका हुन्छन ।

त्यसको अध्ययन मनन् गर्न सकिएमा नेपालको बिग्रिएको र दिशाहिन राजनीतिका लागि आँखा खोल्ने उदाहरणहरु हुनसक्छन । महिला वरिष्ठ नेतृ सुश्री भद्रा घले दिदी सबैका दिदी मात्र होइन नेपालकै राजनीतिका अग्रज दिदी हुनुहुन्छ । उहाँले देखाएको बाटो वा बनाएको बाटोमा नेपालको राजनीतिलाई चलाउन सके नेपालको राजनीतिमा अहिले कायम रहेको अन्योलता वा नैराश्यता स्वतः समाप्त हुनेछन् ।

जसरी नेपाली जनताले हालै स्वर्गिय बडामहाराजधिराज श्री ५ पृथ्वी नरायण शाहको ३०१ जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा पौष २७ गते मनाए त्यसरी नै अब उप्रान्त पनि पूर्खाको योगदानलाई मेटाउदै लाने भन्दा पनि त्यसबाट शिक्षा ग्रहण गर्न सकिएमा सुनमा सुगण्ध नै थपिएको बराबर हुनेछन । वरिष्ठ महिला नेतृ भद्रा कुमारी धले गान्धीवादी संस्कारमा पलेबढेको भएको हुँदा नेपालका सबै गान्धीवादी अभियानहरुमा उहाँको नाम जोडिएका छन ।

सबैमा उहाँले नेतृत्व तहमा बसी अतुलनिय योगदान पुर्याउनु भएको छ । उहाँले उच्च शिक्षा पनि गान्धीवादको शिद्धान्त अनुसार चलेको काँशी विद्यापिठ बनारसबाटै पुरा गर्नु भएको छ । उहाँ वास्तवमा नै नेपालको चम्किलो तारा नै हुन । खासगरी जनजातीमा त उहाँको बराबरी गर्ने मात्र होइन दुरदुर सम्म पनि कोही कतै छैन । त्यो बेलाको नेपालमा आम जनताले पनि औपचारिक शिक्षा लिन पाउने स्कुलहरु नेपालमा खुलेको थिएन । त्यसकारण जनजातिका वरिष्ठ नेतृ सुश्री भद्रा धले ज्यूले प्रारम्भिक शिक्षा दोलखा जिल्ला हालको गौरी शंकर गाउँपालिका वडा नंवर ६ चंखु निवासी मावली बाजे स्वर्गिय नर बहादुर गुरुङ्गबाट पाउनु भयो ।

त्यसपछिको औपचारिक शिक्षा भारतको वार्धा र बनारसबाट पाउनु भएको कुरा पहिले नै उल्लेख गरिसकिएको छ । त्यो बेलाको प्रतिकूल परिस्थितिले पनि जनजातीका चम्किला तारा सुश्री भद्रा धले ज्यूलाई औपचारिक शिक्षा लिनबाट बञ्चित हुनुपरेन । मावली बाजे स्वर्गिय नर बहादुर गुरूङ्गले भद्राई चरा जस्तो धेरै कराउने भनी वरिष्ठ नेतृ सुश्री भद्रा घलेलाई भद्रा भनी बोलाउने गरेका थिए । सबैलाई थाहा भएकै कुरो हो भद्राई चरोलाई ज्ञान शिक्षाको प्रतिक मानी बालकलाई अन्न ग्रहण गराउँदा पहिले भद्राई चरोको चुच्चोबाट खुवाउने गरिन्छ । अझ सम्म पनि त्यो चलन नेपालमा कायम नै छ ।
उनै भद्रा अहिले आएर नेपालमा जनजातीको चम्किला तारा बनेर उदाएकी छिन । राजतन्त्र र पञ्चायत व्यवस्थाको पतन संगै उहाँको नेपालको राजनीतिमा रहेको वर्चश्वमा केही कमी आएको भएतापनि उहाँको अमर कीर्तिहरुले उहाँलाई नेपालमा सदाकालको लागि जीवन्त नै राख्ने छन । भारतको वार्धावाट नर्स बनेर नेपाल फर्कनु भएकी सुश्री भद्रा घले ज्यूले जनकपुरको सरकारी अस्पतालमा नर्स वनेर केही समय सेवा पनि गर्नु भएको थियो ।

तर पीडित नेपाली महिलाहरुको उत्थान नर्स सेवामा बसी गर्न नसकिने देखेपछि उहाँ नेपालको राजनीतिमा होमिनु भयो । भारतमा बस्दा गान्धीवादको प्रभावमा आउनु भएको हुँदा उहाँले आफ्नो जन्मभूमि र कर्मभूमि नेपालमा पनि महिला मूक्तिको लागि राजनीतिको अभ्यास गर्दा जहिले पनि सत्याग्रहको शिद्धान्त अनुसार नै गर्ने गरेकी थिईन । उहाँ एक्लैले सत्याग्रहको बलमा नेपालको राजदरवार देखि लिएर पञ्च नेताहरुलाई समेत बेलाबेलामा महिला मूक्तिको लागि झुक्न बाध्य भएको अनेक दृष्टान्तहरु छन् ।

अहिले जीवनको उत्तरार्धमा आएर उहाँ भद्रा घले सेवा सदन खोली त्यसै मार्फत गरिव दुखीहरुको सेवा गर्दै बस्नु भएकी छिन । उहाँका समकालिन राजनीतिका साथीहरु अहिले कोही सक्रिय छैनन् । तर वरिष्ठ नेतृ भद्रा घलेको सक्रियतालाई भने उमेरले रोक्न सकेको छैन । अहिले पनि उहाँ लेखन र कला कीर्तिको सृजना गर्नमा तल्लिन भएर लागेको लागेकी नै छन । रातको १ बजे काठमान्डौ निदाएको बेलामा उहाँ जागो बसेर थप कला कीर्तिहरुको सृजना गर्न तल्लिन भएर लागेको देख्दा जोकोही पनि आश्चर्य चकित हुन्छन ।

उहाँको अमर कला कीर्तिहरुलाई हेर्न र त्यसबाट शिक्षा ग्रहण गर्नको लागि नेपालका अध्यता र अनुसन्धताहरुले भद्रा घले सदन परिसरमा पुग्नै पर्ने हुन्छ । नजिकको तीर्थ हेला गर्ने बानी भएका नेपालीहरुले आफ्ना पूर्वजहरुको कामबाट शिक्षा लिनु पर्छ । गत पौष २७ गतेका दिन नेपाली जनताले राष्ट्रिय एकता दिवस मनाएका छन । ३०१ बर्ष पहिले जन्मेका स्वर्गिय बडामहाराजधिराज श्री ५ पृथ्बी नरायण शाहको योगदानलाई र उहाँले दिनु भएको दिव्य उपदेशलाई ग्रहण गरी त्यसबाट शिक्षा लिने अवसर राष्ट्रिय एकता दिवस मनाउने क्रममा नेपाली जनतालाई प्राप्त भएको छ ।

नेपाल राष्ट्रको रक्षा र नेपाली जनताको शान्तिको लागि नेपालका पूर्बजहरुले बनाएको ईतिहासलाई एकबार मात्र होईन अनेक बार स्मरण गर्दै अगाडि बढ्नु पर्छ । नेपाली त्यसै नेपाली भएको होइन त्यसमा नेपालीका पूर्खाले धेरै मेहनत गरी रगत पशिना बगाएका छन । दलहरुले त्यसैलाई मेट्न खोज्नु र नेपालको बिकासको लागि विदेशीको भरमा मात्रै पर्नुले नेपाल राष्ट्र असुरक्षित र नेपाली जनताको शान्ति खलबलिएका छन । वरिष्ठ जनजाती नेतृ भद्रा घले राजनीतिका कहिले नथाक्ने दिदी हुनुहुन्छ ।

उहाँका समकालिन राजनीतिज्ञहरु सबै थाक्दा पनि उहाँ भने अनवरत रुपमा नेपाल राष्ट्र र नेपाली जनताको सेवामा लागेको लागेकै हुनुहुन्छ । आङकाजी जस्ता पृथ्वी नरायण शाहको शालिकमा थुकेर घृणा फैलाउने जनजाती नेता नेपाललाई चाहिएको छैन । नेपालको लागि भद्रा घले जस्ता गान्धीवादी नेता नेपाल राष्ट्र र नेपाली जनतालाई जोडेर लाने जनजाती नेतृ कै खाँचो छ । पूर्व प्रधानमंत्री खड्ग प्रसाद ओली ज्यूले भद्रा घले जस्ता र डा. जगमान गुरुङ्ग जस्ता जनजाती अगुवाहरुको यहि गुणलाई देखेर नै राष्ट्रिय सम्मान दिनु भएको छ ।

हिराको परख जौहरीलाई हुन्छ भने झै पूर्व प्रधानमंत्री ओलीले एक कुशल जौहरीले झै जनजाती हिराहरुको पहिचान गरी सम्मान गर्नु भएकोमा उहाँलाई धन्यवाद अर्पण गर्नैपर्छ । यसरी नै जनजातीका चम्किला तारा नेतृ सुश्री भद्रा घले नेपालको आकासमा नेपाली जनताका प्रेरणाको श्रोत बन्दै चम्कीरहोस र क्षितजबाट कहिले पनि नअस्ताउन भन्ने कामनाका साथ उहाँले अनुशरण गर्नु भएको आपसी सद्भाव र राष्ट्र प्रेमलाई फैलाउने काम गरौं । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *