कांग्रेसभित्र दुख पाइस मंगले, आफ्नै ढंगले

समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको जालमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले ३२ सिट भएको माओवादी पार्टीलाई वामपन्थी एकता गराएर एमाले बराबर त गर्न सक्दैनन् । तर देशको शासकीय सत्ताका प्रत्येक क्षणमा माओवादीको उपस्थिति गराउन भने सकेका छन् । चार प्रदेशमा माओवादीको सभामुख भएका छन् । ती पद स्थायी हुन् । आलोपालो मुख्यमन्त्री र प्रधानमन्त्री गर्दा अहिले माओवादी मुख्यमन्त्री भएका बागमती र कर्णालीमा सभामुख फेरिन सक्छ । एमाले मुख्यमन्त्री भएको प्रदेश १, लुम्बिनी, गण्डकी, सुदूरपश्चिममा माओवादीले मुख्यमन्त्री पाउने भनेको लुम्बिनी र सुदूरपश्चिममा मात्र हो । वर्तमान राजनीति भाँडिएको छ । अस्थिरता अझै बढेर गएको छ ।

कांग्रेसले ठूलो भाग खोज्दाको परिणाम ठूलो पार्टी भएर पनि समाप्त भएको छ । कांग्रेस पार्टीले आफु कसरी र के कारणले ठूलो भइयो त्यसको ख्याल गरेन । माओवादीको साथ हुनेथिएन भने चुनाव जित्न नेपाली कांग्रेसलाई मोरङ र तनहुँमा मात्र होइन शेरबहादुर देउवालाई डडेल्धुरामा पनि सहज हुने थिएन । खानेपानीको समेत संकट भोेगेका डडेल्धुराका जनताले शेरबहादुर देउवालाई जिताएकै हुन् । अहिले नेपाली कांग्रेस आफैंले बिगारेको राजनीति अझ बिगार्नेतिर लाग्दैछ ।

लोकतन्त्रको गफ दिन नथाक्ने कांग्रेस जनतालाई प्राथमिकता दिँदैन । बिचौलिया, माफिया, तस्करबाट राज्यको स्रोत खान पछि नपर्ने डा.आरजु राणाहरुलाई कांग्रेसले हार्ने राष्ट्रपतिको चुनावमा उम्मेद्वार बनाउने काम किन गर्दैन ? आखिर समानुपातिक सांसदमा आरजुलाई नै ल्याउनुको सट्टा पार्टीमा त्याग गरेका अरु नेतालाई ल्याउनुपथ्र्याे । काम गर्ने कालु, मकै खाने भालुको नियति सबै दलमा छ । नेताका छोराछोरी, श्रीमती, भाञ्जाभाञ्जीलाई सांसद बनाएर परिवारवाद बढाउने र लोकतन्त्रका एजेण्डा कार्यान्वयन नगरेकै कारण ठूला दलभित्र विद्रोह निम्त्याएको हो । कांग्रेसको अपरिपक्व कामलाई गगन थापा, गठबन्धन विरोधी डा.शेखर कोइरालाले निर्वाचन परिणामले मुलुक कसको पक्षमा छ भन्ने बुझेकी बुझ्ेनन् ? कांग्रेसकै साथमा पाएर घण्टीले प्राप्त गरेको जनमत गणतन्त्रको असफल व्यक्तिहरु प्रचण्ड, केपी ओली, माधव नेपाल र शेरबहादुर देउवाको कार्यशैलीप्रति थियो ।
नेता सच्चिन नपर्ने, जनताको समस्यामा कुनै चासो नदिने तर छैठौं पटक प्रधानमन्त्री बन्न खोज्दा देउवालाई माओवादीले बोक्नुपर्ने के कांग्रेसको समाजवाद हो ? त्यसैकारण कांगे्रसका संस्थापक विपी, गणेशमानका पुत्रहरुको प्रतिष्ठा घट्दै गएको छ । पार्टीमा तिनको क्षमता र योगदान भनेको भाग खोज्ने मात्र हो । अहिले कांग्रेस खुम्चिनुपर्ने बाध्यता यिनीहरुको कारण हो । जो सांसदको टिकट वितरण गर्दा समानुपातिक सिटमा कोटा छुट्याउँदा भाग खोज्थे । तिनका भागमा कति परे सन्तोष लिने त्यही नै हो ।

सांसदको सिट संख्या केन्द्रदेखि प्रदेशसम्म कांग्रेसकै बढी छ । स्थानीय तहमा पनि कांग्रेसकै बहुमत छ । तर एक्लै पद प्राप्त गर्न कांग्रेसले सक्दैन । गठबन्धनमा इमान्दार भएको भए राष्ट्रपति, सभामुख कांग्रेसकै हुन्थ्यो । प्रधानमन्त्री माओवादी अध्यक्षलाई दिएको भए अहिले कांग्रेस सरकारमा हुने थियो । यो घटनाक्रम हेर्दा दुख पाइस मंगले आफ्नै ढंगले भन्ने उखान साबित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *