काठमाडौं । सरकार बनेको करिव डेढ महिना भइसक्दा पनि सरकारको गतिविधि हेर्दा देश र जनताको हितमा भन्दा पनि राजनीतिक पार्टीको हित र आफ्नो स्वार्थ पूर्तिको लागि नेताहरुबीच खटपट शुरु हुन लागेको छ । नयाँ सरकार बनेसँगै अधिकांश नेपालीले सर्वसुलभ खाद्यान्नदेखि रोजगारीको सिर्जना होला भनेर आशा राखेका थिए । तर, त्यो आशा सपना जस्तै हुन पुगेको छ । यतिखेर बजार महंगीले जनताको ढाड सेकेसँगै आर्थिक अभावले पिरोल्न थालेको छ ।
उता बैंक तथा वित्तीय संस्थाहरु आर्थिक मन्दीका कारण देखाएर नेपालीलाई ठगिरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरु मध्येमा च्याउसरी खोलिएका फाइनान्स कम्पनी, माइक्रोफाइनान्स र सहकारी संस्थाहरु आर्थिक संकटले जर्जर भएका छन् । किन कि यसरी खोलिएका ती वित्तीय संस्थाहरुमा व्यापारीदेखि सर्वसाधारण नेपालीहरुले आफ्नो आयआम्दानी अनुसार पैसा राख्दै आएका थिए । त्यसरी निक्षेपकर्ताले राखेको पैसा आफूलाई आवश्यक परेको बेला फाइनान्स तथा सहकारी संस्थाहरुले फिर्ता दिन सकेका छैनन् ।
कतिपय निक्षेपकर्ताहरुले आफ्नो पैसा झिक्नको लागि पनि बारम्बार सहकारी तथा फाइनान्स कम्पनीहरुमा धाउदासमेत पाएका छैनन् । यतिखेर अधिकांश निक्षेपकर्ताहरुले जम्मा गर्दै आएको पैसा पनि बजार महंगीका कारणले जम्मा गर्न पनि छाडेका छन् । त्यसकारणले पनि ती सहकारी तथा फाइनान्स कम्पनीहरुले निक्षेपकर्ताले पैसा झिक्न जाँदा दिन नसकेका हुन् ।
किन भने निक्षेपकर्ताले पहिला जम्मा गरेको पैसा अन्यत्र लगानी गरेका हुन्छन् । वित्तीय संस्थाले लगानी गरेको पैसा उठाउन सकेका छैनन् । यता दैनिक जम्मा गर्नेहरु बजार महंगी र आम्दानी घटेकाले जम्मा गर्न सक्ने अवस्थामा छैनन् । पहिला जम्मा गरेको पैसा पनि सहकारी संस्था र फाइनान्स कम्पनीहरुले खाएर भागेका कारण यतिबेला निक्षेपकर्ता मारमा परेका हुन् । अधिकांश नाम चलेका र ठूला भनिने सहकारी संस्था, फाइनान्स कम्पनी र ठूलो स्केलमा लगानी गर्ने र चर्को ब्याज असुल्ने माइक्रोफाइनान्स कम्पनीहरुको लगानी डुबेर टाट पल्टिएका छन् ।
यसरी टाट पल्टिनेमा लालीगुराँस सहकारी संस्था, हिमालयन सहकारी, पशुपति फाइनान्स कम्पनी, कान्तिपुर फाइनान्स कम्पनीलगायत अधिकांश ठूला भनेर चिनिने सहकारी तथा फाइनान्स कम्पनीहरु टाट पल्टिएका छन् । अझ काठमाडौं उपत्यका र उपत्यकाबाहिर प्रदेश र स्थानीय तहमा समेतमा विभिन्न नामले साउने च्याउसरी खोलिएका सहकारी संस्थाहरुको त झन् हालत खराब भएको छ । यसरी खोलिएका ती सहकारी संस्थाहरुले गाउँवस्तीका सोझा, सिधा, एकल महिला, बालबालिका, जेष्ठनागरिक र अशक्त भएका नागरिकहरुले खाइनखाइ जम्मा गरेको पैसा समेत झ्वाम पारेर भाग्ने गरेका छन् ।
काठमाडौं उपत्यकाभित्र खोलिएका ठूला र व्यवस्थित भनिएका सहकारी संस्था र फाइनान्स कम्पनीहरु त भागेर निक्षेपकर्ताको उठिवास लगाएका छन् भने गाउँगाउँमा खोलिएका सहहकारी संस्थाको के हालत होला । काठमाडौंको मैतीदेवीमा केन्द्रीय कार्यालय खडा गरी खोलिएको तत्कालीन ओरेन्टियल फाइनान्स कम्पनीले हजारौं निक्षेपकर्तालाई उठिवास लगाएको थियो । त्यतिबेला ओरेन्टियल फाइनान्स कम्पनीले हजारौं निक्षेपकर्ता र लगानीकर्ताको पैसा खाएर भागेको थियो ।
त्यसका सञ्चालक सुधिर बस्नेत अहिले पनि भागिभागि हिँडेका छन् । यसैगरी काठमाडौं उपत्यकाभित्र खोलिएका अधिकांश सहकारी संस्था र फाइनान्स कम्पनीहरु डुब्ने अवस्थामा पुगिसकेका छन् र कतिपय डुबिसकेका पनि छन् । तर, यसको नियमक निकाय सहकारी विभाग, कृषि तथा सहकारी मन्त्रालय र नेपाल राष्ट्र बैंक जस्ता जिम्मेवार संस्थाहरु यतिखेर चुपचाप बसेको अवस्था छ ।
यसरी बैंक, सहकारी र फाइनान्स जस्तो जनताको पैसा संकलन गरी लगानी गर्ने संस्थाहरुले उल्टै बचतकर्ताहरुको पैसा खाएर भागी उठिवास लगाउँदा पनि राज्यका सम्बन्धित निकायले खोजी गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । वित्तीय क्षेत्रको यस्तो गैरजिम्मेवार र विकृतिजन्य कामको कारण अधिकांश नेपालीहरुले आफ्नो पैसा बैंक, सहकारी र फाइनान्सहरुमा राख्न डराउन थालेका छन् । यसरी जनतामाझ विश्वास गुमाएका कारण नै वित्तीय संस्थाहरु धरासायी बन्दै गएका हुन् । (तामाकोशीसन्देशबाट)