कर्मचारीभित्र रजगग, एकै स्थानमा वर्षाैंसम्म

विविध समाचार

काठमाडौं । देशका विभागीय मन्त्रालय कसले चलाउला ?मन्त्री वा सचिवले तर केही यस्ता मन्त्रालयहरू पनि छन् जहाँ मन्त्रीभन्दा बढी खरदार तहका कर्मचारी,विचौलिया र कमिसनखोरहरूको रजगज चल्छ । यस्ता रैथाने कर्मचारीको कारण सरकारी कार्यालयहरु दुर्गन्धित बनेका छन् । एउटै कर्मचारी एक÷दुई बर्षदेखि होइन ३० वर्षदेखि एउटै मन्त्रालय,एउटै शाखामा कसरी र कुन शक्तिले टिक्छ ?
सिंहदरबारका अधिकांश मन्त्रालयमा यस्तै रजगज देखिन्छ ।

एउटा खरदार तहको कर्मचारीले सिंगो मन्त्रालयल नै हल्लाइरहेको छ । जस्तो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी रामचन्द्र अधिकारी,कर्मचारी संगठनका नेता । आठ बर्षदेखि त्यहाँको आन्तरिक शाखाको हर्ताकर्ता छन् । आन्तरिक शाखा भनेको खरिद,गाडीको तेलको व्यवस्थापन गर्ने शाखा हो । उनको खेलोफड्को थाहा पाएपछि पूर्व सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले शाखा परिवर्तन गरेका थिए । उनी हटे लगतै पुन सोही शाखामा फर्कन सफल भएका छन् ।

कर्मचारी संगठनकै नेताहरुका अनुसार आरसी (रामचन्द्र)ले त्यही शाखामा बसेर लोकन्थलीमा करोडौं मूल्य बराबरको जग्गा जोड्न भ्याएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया,पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको जग्गा कित्तासँगै जोडिएको ठाउँमा उनले करोडौं हालेर जग्गा खरिद गरेका छन् । मामुली ४० हजार हाराहारी तलब थाप्ने आरसीको यो आम्दानीको स्रोत के हो ? उनी करोडौं मूल्य पर्ने सवारी चढेर हिड्छन् । उनको रवाफ देखेर उच्च पदस्थ कर्मचारीहरु नै चकित खाने गर्दछन् ।

सामान्यमा अर्का रैथाने कर्मचारी छन्,रविन्द्रजंग थापा,नाताले पूर्व उपप्रधानमन्त्री कमल थापाको आफन्त । जागिर खाए यता सिंहदरबार छाडेर अन्यन्त्र बाहिर जानु परेको छैन । कर्मचारी प्रशासनको हर्ताकर्ता हुँदा सरुवामा लाखौं उठाउने धन्दा नै चलाएर बदनाम । कतिसम्म भने गोदावरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा विरेन्द्रदेव भारतीलाई खटाउँदा (पञ्च पञ्च) राप्रपाको साइनो लगाउँदै आठ लाख लिएर सरुवा गराउने उनै हुन भन्छन्,कर्मचारीहरु ।

अर्का रैथाने छन्,वन तथा वातावरण मन्त्रालयअन्तर्गतको खरिद शाखामा ३० वर्षदेखि एकछत्र राज गरिरहेका नायब सुब्बा हुन् विश्व काफ्ले । कर्मचारी युनियनका नेताहरूको आड र भरोसामा उनी एउटै शाखामा यति लामो समयदेखि टिकेर चलखेल गरिरहेका छन् । निजामती सेवा नियमावली ०४९ अनुसार कुनै पनि कर्मचारी एउटै निकायमा २ वर्षभन्दा बढी बस्न मिल्दैन । तर, नासु तहका काफ्ले वन तथा वातावरण मन्त्रालयको खरिद शाखामै बसेका ३० वर्ष व्यतित भयो ।

मन्त्री तथा सचिवहरूसँग सेटिङ हानेर उनी खरिद शाखामै बसेर चलखेल गरिरहेको वन तथा वातावरण मन्त्रालयका कर्मचारीहरू सुनाउँछन् । मन्त्रालयको सबैजसो खरिदको काम उनैले गर्दै आएका छन् । एउटै कर्मचारी ३० वर्षसम्म, एउटै निकायमा बसेर चुस्त कमाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकाय के हेरेर बसिरहेका छन् ? हालै उपसचिवमा उक्लिएका मोहन घिमिरे पनि यस्तै खेलाडी कर्मचारीमा गनिन्छन्,जो १५ बर्षदेखि पर्यटन मन्त्रालयको आन्तरिक शाखाबाट दायाँ बायाँ हुनु परेको छैन ।

यो शाखाको काम खरिद हेर्ने हो । यस्तै नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष उत्तम कटवाल यस्ता कर्मचारी हुन्,जो खरदार हुँदा पनि टेकुमा रहेको राष्ट्रिय खोप उत्पादन प्रयोगशालामा थिए । नासु तहमा बढूवा भए पछि पनि त्यही ठाउँमा जागिर खान गए । यो प्रयोगशालाले बार्षिक सात करोड माथिको कारोबार गर्दछ । महालेखाले त्यहाँको बेरुजुमात्र ६ करोड निकालेको छ । काँग्रेस निकटकै नेपाल निजामती कर्मचारी युनियन (संघ)को विभागीय अध्यक्ष रामप्रसाद लम्सालले यसैगरी ६ बर्ष गृहको आन्तरिक शाखामा बसेर खाएकै हुन ।

त्यसैगरी, माओवादी निकट कर्मचारी संगठनको आडमा हरि रावलले १५ बर्षदेखि एकै ठाउँमा बसेर लुट मच्चाइरहेकै छन् । रावल,माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हुन् । सरकारले उपयोग गर्न दिएको बबरमहलको सरकारी जग्गामा भवन ठडाएर क्याफेलाई भाडामा लगाएर उनले मासिक ६० हजार उठाएर खाइरहेकामात्र छैनन् । नासु पदमा सहकारी प्रशिक्षण केन्द्रमा कार्यरत रावलले १० बर्षदेखि त्यहाँको क्वार्टर त प्रयोग गर्दै आएका उनले हालैमात्र महालेखाले गरेको सरुवामा आफ्नो पत्नी प्रमिलालाई आकर्षक मानिने परराष्ट्र मन्त्रालयमा फिट गर्न सफल भएको भन्दै माओवादी निकट कर्मचारीबाटै उनको तिव्र आलोचना भइरहेको छ ।

१२ बर्षदेखि नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनमा छन् । पाँच वर्ष महासचिव र सात वर्ष अध्यक्ष गरी १२ वर्षदेखि संगठनको नेतृत्वमा रहेका उनले पुनः एकदेखि डेढ वर्ष कार्यकाल बढाउने योजना अनुसार यही माघ २० र २१ गते भैरहवामा महाधिवेशन स्थगित गरेर एक कार्यकाल आफू लम्बिने खेलोमेलोमा लागेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *