राजनीति आडमा पशुपति क्षेत्र विकास कोष लथालिङ्ग

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीति दिनानुदिन बिग्रिँदै गएपछि राजनीतिक नियुक्तिले गर्दा नेपाल सरकारको स्वामित्वमा रहेका संस्थानहरु पनि धरासाही बन्दै गएका छन् । त्यसको गतिलो उदाहरणको रुपमा पशुपति क्षेत्र विकास कोषलाई लिन सकिन्छ । यतिबेला पशुपति क्षेत्र विकास कोषभित्रको भ्रष्टाचारले सबैतिर आक्रन्त पारेको छ । यसको नियमक निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने मुकदर्शक बनेर बसिरहेको छ ।

उक्त मन्त्रालयमा कार्यरत कर्मचारीको मनोमानी र उदासिनताले गर्दा यस मन्त्रालय अन्तर्गत पर्ने सबै निकायहरु अहिले राजनीतिक भागबन्डा र आन्तरिक तेजाबधका कारण दिनप्रतिदिन तहसनहस बन्दै गएका छन् । बारम्बार सरकार फेरिएसँगै मन्त्रीले सम्बन्धित निकायका विभाग र संघसंस्थाहरुमा राजनीतिक नियुक्ति गर्ने गर्दछन् । यसरी गरिने राजनीतिक नियुक्ति खानाका लागि सम्बन्धित पार्टीका नेतादेखि कार्यकर्ताको मन्त्रीकोमा भीड लाग्ने गर्दछ । मन्त्रीले पनि कुन ठाउँमा कसलाई पठाउने, कसले बढी रकम दिन्छ, को चाहीं आफ्नो पार्टीको भन्दा पनि नजिकको नातागोता भित्रको मान्छे हुन्छ त्यसैलाई नियुक्ति दिने चलन नयाँ होइन ।

यसरी राजनीतिक नियुक्ति खाएर पशुपति क्षेत्र विकासको पदमा पुगेका अध्यक्ष, सदस्यसचिव र अन्य सदस्यहरुको भ्रष्ट चरित्रका कारण दिनानुदिन पशुपति क्षेत्र विकास कोष बद्नाम हुँदै गएको छ । पशुपति जस्तो पवित्र मन्दिर परिसरमा हुनुपर्ने सरसफाइ उचित रुपमा हुन सकेको छैन । खानेपानी, फोहोर व्यवस्थापन राम्रो हुन सकेको छैन । त्यसैगरी बाँदरले भक्तजनहरुलाई दुःख दिने, मन्दिरमा चढाउन लगेका फलफूल नष्ट गरिदिने, भक्तजनहरुलाई चोटपटक लगाइदिने गरेको पाइन्छ । यसरी भक्तजनमाथि हुने यस्ता दुःख, कष्टप्रति पशुपति क्षेत्र विकास कोषले खासै ध्यान दिएको छैन ।

त्यसैगरी बागमती नदीमा बग्ने पानीको सरसफाइ भएको छैन । मृत्यु भएका मान्छेको सबदाहा गर्दा निस्कने धुँवाको कारण वातावरण दिनदिनै अस्तव्यस्त बन्दै गएको छ । कतिपय विपन्न परिवारका सदस्यको मृत्यु हुँदा दाहासंस्कारको नाममा महंगो शुल्क असुल्ने गरिने गरेको पीडितको भनाइ रहेको छ । पशुपति क्षेत्रभित्र रहेका शौचालयहरुको हालत पनि एकदमै नाजुक अवस्थामा गुज्रिइरहेको छ । मन्दिर परिसरमा विक्रीको लागि राखिएका फलफूल र भक्तजनहरुलाई आवश्यक पर्ने पूजा सामग्री पनि एकदमै महंगो हुने गरेको छ ।

त्यसैगरी मन्दिरमा पूजाआजा गर्न जाने, घुम्न जाने, मलामी जाने, क्रियापुत्री भेट्न जानेले लगेका मोटरसाइकिल लगायतका सवारी साधनको पनि महंगो रुपमा भाडा असुल्ने गरिएको छ । यति मात्रै होइन नेपालदेखि भारतलगायत विभिन्न देशका हिन्दू धर्मावलम्बीहरु नेपालको पशुपति मन्दिरमा दर्शन गर्न आउने गरेका छन् । त्यसरी आउने भक्तजनहरुले पशुपति मन्दिरलाई चढाएको भेटीबाट करोडौं रकम जम्मा हुने गर्दछ । त्यसको खर्च पनि यकिन भएको छैन र सम्बन्धित निकायले अहिलेसम्म खोजबिन गर्न सकेको छैन ।

गरिहाले तापनि कमिसनको लोभमा झारा टार्ने काम मात्रै गरेका छन् । पशुपति क्षेत्र विकास कोषभित्र रहेका विभिन्न व्यापार व्यवसाय गर्नेहरुबाट उठाएको भाडासमेतको यकिन लेखाजोखा हुने गरेको छैन । त्यसमा पनि विकास कोषका पदाधिकारी र कर्मचारीकै हालीमुहाली चल्ने गरेको छ । यसरी पशुपति विकास कोषभित्रको हालीमुहाली चल्नुमा चेक एण्ड ब्यालेन्स गर्न नसक्नु नै हो । अहिले पशुपति क्षेत्र विकासको भ्रष्टाचारले गर्दा अधिकांश सर्वसाधारणदेखि भक्तजनहरु मारमा पर्ने गरेका छन् । यसतर्फ राज्यका सम्बन्धित निकायहरुले ध्यान दिने कि नदिने सोचनीय विषय बनेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *