राष्ट्रबैंकद्वारा तीन बैंकका सीइओमाथि एक्सन लिँदै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । एउटा अध्ययन र तथ्यांकले भन्छ कि, विभिन्न बैंक तथा वित्त संस्थाबाट कर्जा लिनेमध्ये ९० प्रतिशत कर्जा सिमित व्यक्ति तथा संस्थाको हातमा छ । अर्थात कूल कर्जाको ३ प्रतिशत कर्जा ९० प्रतिशतको हातमा रहेको देखाउँछ । ठूला उद्यमी र व्यापारी भनिने १ सय जनाकै सेरोफेरोमा बैंक तथा वित्त संस्थाले प्रवाह गर्ने कर्जा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

त्यस्ता ठूला उद्यमी र व्यापारीले बैंक तथा वित्त संस्थाबाट ऋृण पाउन के के प्रक्रिया गर्लान ? उनीहरुका लागि ‘धितो’ चाहिएला वा नचाहिएला ? उसै पनि बैंक तथा वित्त कम्पनीमाथि लाग्दै आएको आरोप हो टाइ लगाएका गुण्डा । उनीहरुले इमान्दार ढंगले धितो राखेर व्यवसाय गर्न खोज्ने गरिब र कृषकलाई ऋृण विरलै पत्याउँछन् तर एउटा डुब्न लागेको कम्पनीलाई धितोसहित र बिनाधितो अर्बाै ऋृण प्रवाह गरेको भेटिएको छ,बैंकका सिइओ र बैंकका उच्च व्यवस्थापकसँगको सम्बन्धका आधारमा ।

यसरी बैंकका उच्च तहका हाकिमहरुलाई फस्ल्याङ फुस्लुङ पारेर एक जना बदनाम व्यवसायीले झण्डै ३० करोड रकम विना धितो फुत्याएको भेटिएको छ । नेपाल राष्ट्रबैंक स्रोतले दिएको जानकारी अनुसार, बैंकका सिइओसँगको सम्बन्धकै कारण स्मार्ट टेलिकमका साहू सतिशलाल आचार्यले तीन वटा वाणिज्य बैंकबाट बिनाधितो ३० करोड रकम लिएको बिषयलाई नेपाल राष्ट्रबैंकले कैफियत भनेको छ । अहिले आचार्यका कारण तीन वटा बैंकका व्यवस्थापक र सिइओहरुको टाउको दुखाई शुरु भएको छ ।

आचार्यले हालैमात्र पृथ्वीबहादुर शाह प्रकरणमा मुछिएर बदनामी कमाएर र ५० लाख जरिवाना तिर्न बाध्य भएको प्राइम बैंकका साथै नेपाल इन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकका टाउकाहरुलाई तनाव शुरु भएको हो । ती बैंकका सिइओहरुले पृथ्वीसँगको विशेष सम्बन्धकै आधारमा २ अर्ब रकम ऋृण प्रवाह गरेकोमा ३० करोड ऋृण विना धितो दिइएको भेटिएको नेपाल राष्ट्रबैंकको सुपरीवेक्षण विभागले जानकारी दिएको छ । सो स्रोतका अनुसार,नेपाल टेलिकम,एनसेलजस्तै कम्पनीका रुपमा स्थापना गर्ने गरी स्मार्ट टेलिकम खडा गरी विभिन्न बैंकबाट २ अर्ब ३० करोड ऋृण निकालिएकोमा ३० करोड रकम बिनाधितो लिइएको भेटिए पछि नेपाल राष्ट्रबैंकले एक्सन लिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यो कम्पनीले राज्यलाई झण्डै २१ अर्ब राजश्व बुझाउन बाँकी छ । यस्तो तन्नम कम्पनीका नाममा प्राइम कमर्सियल बैंक, लक्ष्मी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबाट २ अर्ब २१ करोड १० लाख ५३ हजार २ सय ४६ रुपैयाँ ऋण प्रवाह भएको छ । जसमा प्राइमबाट ७३ करोड ३९ लाख ५३ हजार ३ सय ४६, नेपाल इन्भेस्टमेन्टबाट १ अर्ब ३१ करोड ७१ लाख र लक्ष्मीबाट ८ करोड रुपैयाँ ऋण प्रवाह भएकोमध्ये ३० करोड विना धितो ऋृण गएको भेटिए पछि नेपाल राष्ट्रबैंकको सुपरीवेक्षण विभागले तीन बैंकका सिइओसँग विना धितो ऋृण प्रवाह हुनुको कारण खोजेको हो ।

नेपाल राष्ट्रबैंक स्रोतका अनुसार २०७६ कात्तिक ५ मा लक्ष्मी बैंकले ४ करोड र २०७६ कात्तिक ७ मा ४ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकबाट २०७६ कात्तिक ७ मा ३ करोड, २०७६ कात्तिक १७ मा २ करोड र २०७६ कात्तिक १९ मा १० करोड, प्राइम बैंकबाट २०७६ मंसिर २ मा ४ करोड, २०७६ मंसिर ५ मा १ करोड, २०७६ मंसिर ६ मा १ करोड तथा २०७६ असोज २७ मा इन्भेस्टमेन्ट बैंकबाट ९ करोड रुपैयाँ कर्जा दिँइदा कुनै पनि बैंकले धितो नराखी दिइएको जनाइएको छ ।

सरकारी बक्यौता समेत तिर्न नसकेर टाट पल्टिएको स्मार्टलाई बिनाधितो ठूलो रकम कर्जा लिएको छ । सतिशलाल आचार्यको व्यक्तिगत जमानीमा बिनाधितो ठूलो रकम कर्जाका रूपमा दिएका हुन् । यसरी आचार्यलाई विना धितो ऋृण प्रवाह गरिएपछि नेपाल राष्ट्रबैंकले उनीहरुसँग जवाफ मागेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

एउटा बदनाम व्यवसायीका कारण एकै पटक तीन वटा वाणिज्य बैंकको करोडौं रकम जोखिममा पार्ने सतिशलाल यस्ता खेलाडी हुन,जस्ले स्मार्ट टेलिकमका दुई मुख्य साझेदार पूर्वराजा वीरेन्द्रका ज्वाइँ राजबहादुर सिंह र गैरआवासीय नेपाली उपेन्द्र महतोलाई गलहत्याएर अहिले त्यो कम्पनी नै आफ्नो बनाउन सफल भएका छन् । तर तिनै आचार्यका कारण तीन बैंकका सिइओको निन्द्रा उडेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *