भावी राष्ट्रपतिको लागि दलहरुबीच लफडा

राजनीति समाचार

सरकार बनेको दुई महिना नबित्दै भाँडभैलो सुरु
काठमाडौं । सरकार बनेको पनि झन्डै दुई महिना पुग्न लागिसकेको छ । तर, यतिका दिनसम्म सरकारले गर्नुपर्ने ठोस काम गर्न सकेको छैन । यतिखेर मुलुकमा सरकार छ कि छैन त्यसको सर्वसाधारण जनताले अनुभूति गर्न समेत पाएका छैनन् । सरकार बनेको दुई महिना नपुग्दै धर्मराउन थालेको छ । दुई महिना पुग्दा नपुग्दै सरकार साझेदार दलहरुबीच मनमुटाव सुरु भइसकेको छ । अझ सत्तागठबन्धनभित्रको एउटा साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले त सरकारै छाडिसकेको अवस्था छ ।

तर, उसले सरकारलाई दिएको समर्थन भने आधिकारिक रुपमा फिर्ता लिएको छैन । गत सोमबार ‘जनयुद्ध दिवस’ मनाउने नाममा गरिएको बिदा दिने कि नदिने भनेर सत्तासाझेदार दलबीच नै मनमुटाव भएको थियो । नयाँ विचार सहित जनताको पक्षमा क्रान्तिकारी काम गरेर देखाउने भनेर बनेको सरकार यस्तै सानातिना लफडामा फस्दै जाने गरेको छ । अहिले न्यायालयभित्र शक्तिकेन्द्रमा खेलेर एकले अर्काको खुट्टा तान्ने काम भइरहेको छ । त्यस कारणले सरकार पनि अलमलिएको छ ।

अहिले सर्वोच्च अदालतमा प्रधान न्यायाधीशस सरकारले नियुक्ति गर्न नसक्दा पुरानै कायममुकायम न्यायाधीशले काम चलाइरहेका छन् । कायममुकायमको कारणले गर्दा कतिपय महत्वपूर्ण मुद्दाहरु विचाराधिन अवस्था रहेका छन् । त्यसैगरी कतिपय उच्च अदालतमा न्यायाधीशहरु समेत सरकारले नियुक्त गर्न सकेको छैन । विभिन्न जिल्ला अदालतहरुमा पनि न्यायाधीश नियुक्ति नभएकै कारण कतिपय महत्वपूर्ण मुद्दाहरु थन्किएर बसेका छन् । त्यति मात्रै होइन, सरकारले कुटनीतिक नियोगमा राजदूतहरु समेत नियुक्ति गर्न सकेको छैन ।

सरकार भने भावी राष्ट्रपतिको लागि खिचडी पकाउँदै छ । जनताका दैनिक जीवनसँग जोडिएका जल्दाबल्दा कामहरु भने पुरै ओझेलमा परेका छन् । उता भावी राष्ट्रपतिको लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुरको नाम चर्चामा आउने गरेको छ ।

त्योसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेसकै नेता, कृष्णप्रसाद सिटौला, नेकपा एमालेका नेता सुवास नेम्वाङ, डोरमणि पौडेल, ईश्वर पोखरेल, राजन भट्टराईलगायतका नेताहरुको नाम पनि चर्चामा ल्याइएको छ । तर, नेपालका राजनीतिक दलहरुले राष्ट्रपति बनाउने भन्दा पनि छिमेकी राष्ट्र भारत र चीनसँगै युरोपियन युनियन र अमेरिकाले कसलाई बनाउने हो त्यो भने अहिलेसम्म एकिन छैन । यी माथि चर्चामा आएका नाममध्ये को राष्ट्रपति बन्ने भन्ने बारेमा आगामी फागुन १३ गते हुने मनोनय दर्ताले करिवकरिव टुंगो लाग्ने देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *