किन हुन्छ अमेरिका र भारतको पटक–पटक नेपाल भ्रमण

राजनीति लेख

नेपालमा जब वामपन्थी सरकार बन्छ अनि विदेशीहरुले विभिन्न चलखेल गर्न थाल्छन् । त्यस्तै अहिले सरकार बनेको पनि दुई महिना नपुग्दै देशमा विभिन्न समस्याहरु देखिन थालेका छन् । सरकार गठबन्धन दलहरुमध्ये एउटा दल विवादकै कारण सरकारबाट बाहिरिइसकेको अवस्था छ । उता सरकारमा सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि यतिखेर सरकारभित्र बसेर खेल्दै छ ।

अहिले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेता ज्ञानेन्द्र शाहीबीच पनि विभिन्न विषयमा टसल पर्न थालिसकेको छ । उता नेपालमा राष्ट्रपतिको निर्वाचनको चर्चा चलिरहँदा भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण भएको छ । उनको यो भ्रमण नेपालको सीमा र परराष्ट्र मामिला सम्बन्धी छलफल गर्न भनिए पनि त्यस विषय कुनै प्रवेश पाएको छैन । त्यस्तै अमेरिकी उपसहायक विदेशमन्त्री गत सोमबार नेपाल आएकी छिन् ।

उनको एक महिनाभित्र यो तेस्रो पटक नेपाल भ्रमण भएको हो । त्यसले पनि नेपालको राजनीतिमा विदेशी चलखेल बढेको देखिन्छ । अहिले राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर छिमेकी मुलुक भारत, अमेरिका र युरोपियन युनियनहरुले चासो बढाइरहेको विश्लेषकहरुको भनाइ रहेको छ । त्यस्तै वर्तमान सरकार बन्नुमा पनि चीनको ठूलो भूमिका रहेको बताइन्छ । तर, यतिखेर छिमेकी मुलुक चीन भने चुपचाप रहेको अवस्था छ ।

भावी राष्ट्रपतिको लागि आगामी फागुन १३ गते मनोनय दर्ता हुँदै छ । त्यसपछि नेपालको राष्ट्रपतिमा को छनोट हुन्छ भन्ने कुराको छनक पाइने छ । त्यसपछि हुने राष्ट्रपति निर्वाचनमा पनि विभिन्न छिमेकी मुलुक भारत, चीनसँगै अमेरिका र युरोपियन युनियनहरुले नेपालमा नखेल्लान् भन्न सकिँदैन । यतिखेर नेपालमा विभिन्न बहाना पारेर भारतीय र अमेरिकीहरुको लर्को लाग्न थालेको छ ।

जब नेपालमा राजनीतिक दलभित्र उत्तरचढाव सुरु हुन्छ तब छिमेकी मुलुकदेखि अन्य देशका प्रतिनिधिहरुको नेपालको भ्रमण बाक्लिन थाल्छ । यस्ता क्रियाकलापले गर्दा नेपालको राजनीतिक दलभित्र अस्थिरता ल्याइदिने आफूहरुले फाइदा लिने गरेको प्रष्ट देखिन्छ । त्योसँगै अहिले सरकारमा रहेका दलहरुले पनि राष्ट्रपतिमा दावी गरिरहेका छन् ।

यसरी राष्ट्रपतिको दावी गर्ने दलहरुमा सत्तारुढ दल नेकपा एमालेले पहिले नै बैना गरिसकेको थियो । तर, पछिल्लो राजनीतिक घटनाक्रमले नेकपा एमालेले राष्ट्रपति पाउने अवस्था भने क्षीण हुँदै गएको अवस्था छ । त्यस्तै उता नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिएर भावी राष्ट्रपतिको लागि च्याखे थालेको छ ।

तर, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै भन्न थालेका छन्, ‘राष्ट्रपतिको लागि राजनीतिक सहमति गरेर अगाडि बढ्ने ।’ उनले यसो भनेपछि उता सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने राष्ट्रपति पद आफ्नो दलको भागमा परिसकेको भनेर दावी गरिरहेका छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *