भौतिक मन्त्री श्रेष्ठ डिजी फेर्दै, पार्टीको नाममा करोडौं असुल्दै

राजनीति समाचार

काठमाडौं । सरकार बनेको ६२ दिनमै अर्को आठ दलीय गठबन्धन खडा भएको छ । यो भन्दा अगाडि बनेको सरकारले पूर्णता पाएसँगै सरकारमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट हटिसकेको छ र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । रास्वपाले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । त्यहीं सात दलीय गठबन्धनबाट भौतिक पूर्वाधार मन्त्री बनेका नारायणकाजी श्रेष्ठले सडक विभागको महानिर्देशक परिवर्तन गरेका छन् ।

त्योसँगै उनले ठूला–ठूला आयोजना प्रमुखहरुको पनि सरुवा गरेका छन् । गोर्खा घर भएका सुशिलबाबु ढकाललाई सडक विभागको महानिर्देशक बनाएर राम्रै आम्दानीको स्रोत बटुलेका छन् । त्यति मात्रै होइन उनले वरिष्ठ शिव नेपाललाई पन्छाएर कनिष्ट सुशिलबाबु ढकाललाई सडक विभागको महानिर्देशक बनाएका हुन् । त्योसँगै हुलाकी सडक राजमार्गका आयोजना प्रमुख धर्मेन्द्र झालाई मन्त्रालयमा तानेका छन् भने धुलिखेल सडक आयोजनाका राजेन्द्र दासलाई पनि सडक विभागमा पठाएका छन् ।

त्यस्तै सडक विभागमा रहेका उमेश बिन्दुलाई एडीबीमा लगेका छन् । सबैभन्दा बजेट भएको मन्त्रालय भौतिक, पूर्वाधार तथा यातायात मानिन्छ । अहिलेसम्मको इतिहासमा सरकार फेरबदल भइरहँदा पैसाको चलखेल नगरीकन मन्त्रीहरुले सडक विभागको महानिर्देशक बनाएको एउटा पनि उदाहरण छैनन् । मन्त्रीहरुले सडक विभागको महानिर्देशक बनाउँदा कम्तिमा ३ देखि ७ करोडको हाराहारी मोलतोल गरी डिजी बनाउने गरेका थुप्रै उदाहरणहरु छन् । सडक विभागमा यसरी डिजी बन्नेहरुले पनि आफ्नो गच्छेअनुसार अग्रिम बुकिङ्ग गर्ने गरेका छन् । मन्त्रीले पैसा नखाए तापनि पार्टीलाई सहयोग गर्ने नाममा मोटो रकम असुल्ने गरिन्छ ।

यसरी पार्टीको नाममा संकलन गरिएको पैसा केही पार्टीलाई सहयोग र बाँकी पैसा क्षमता अनुसार भाग शान्तिमा खाने चलन नयाँ होइन । त्यसैगरी अहिलेका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पनि हाकाहाकी पैसा नखाएको बताइए तापनि उनले अर्बौंको बजेट भएको ठूला–ठूला ठेक्काको आयोजना आफ्ना आसेपासेलाई दिने गरी सुशीलबाबु ढकाललाई डिजी बनाइएको सडक विभागमित्रै चर्चा चल्ने गरेको छ । यो चर्चासँगै अर्को ८ दलीय गठबन्धन सरकार बन्ने पक्का भइसकेको छ ।

त्यसमा पनि अब बन्ने सरकारमा भौतिक मन्त्री कुन पार्टीको भागमा पर्ने हो एकिन छैन । या त माओवादीकै हातमा रहन्छ अथवा अन्य पार्टीको पोल्टामा जान्छ त्यसपछि फेरि सडक विभागको डिजीमा नयाँ चलखेल सुरु हुन्छ । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत हुलाकी राजमार्ग आयोजना, मध्यपहाडी लोकमार्ग आयोजना, मदन भण्डारी लोकमार्ग आयोजना, धुलिखेल–बनेपा आयोजना, तिर्सुली, गल्छी, स्याप्रोवेशी सडक आयोजना जस्ता प्रोजेक्टहरुमा कर्मचारी नियुक्ति र सरुवामा ठूलो चलखेल हुने देखिन्छ ।

त्यस्तै सडक विभागमा जागिरबाट रिटायर भएपछि तत्कालीन महानिर्देशकहरुले समेत आफ्नै कन्सल्टेन्सी खोली ठेक्कापट्टाको काम गर्ने गरेका छन् । महानिर्देशकले मात्रै नभएर तत्कालीन मन्त्रालयका सचिव, डीई र सुईहरुले समेत जागिरपछि ठेक्कापट्टाको काम गर्ने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भनेको बिचौलियाको सञ्जालमा परेको समेत बताइन्छ ।

त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्रीदेखि सचिवसम्मलाई ठेकेदारको पक्षमा काम नगरिदिए मन्त्री र सचिव नै ठेकेदारले फर्ने गरेका छन् । त्यसैगरी मन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक शाखामा रहेका रामहरि पोखरेललाई सडक विभागमा सरुवा गरेका छन् । रिप शाखामा रहेका चुडा ढकाललाई हुलाकी राजमार्गमा लगिएको छ । त्यस्तै मदन भण्डारी लोकमार्गमा रहेका अशोक तिवारीको जागिरे अवधि यही फागुनको अन्तिमतिर रिटायडमा जाने क्रम थियो भने उनी कार्यरत रहेको मदन भण्डारी लोकमार्गमा बेलबहादुर भुजेललाई ल्याइएको छ । त्यसमा पनि करोडौं चलखेल भएको अवस्था छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *