मानिसमा आफु अरुभन्दा कसरी अगाडि बढ्ने वितृष्णा बढेसँगै आफ्नो मानसिक, शारिरीक, स्वास्थ्यप्रति गम्भीर रुपमा चासो दिएको नदेखिँदा अहिलेको मानिसमा बर्नआउटको समस्या बढ्दो रुपमा रहेको छ । बर्नआउट सामान्य भाषामा भन्नुपर्दा भावनात्मक, शारीरिक र मानसिक थकान हो । अत्याधिक र लामो तनाव को कारण यो समस्या बढ्दो रहेको छ । बर्नआउटका विभिन्न कारणहरू छन्। सबैलाई एउटै कारणले बर्नआउट समस्या हुन्छ भन्ने पनि हुँदैन । कसैलाई फरक प्रवित्तृ प्रति फरक धारणाका कारण असन्तुष्टि पैदाहुन सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बर्नआउटको तीनवटा पक्ष रहेको छ जसमाः अत्यन्तै थकित महसुस हुनु, काममा कमजोर प्रदर्शन र काममा लगाव नहुनु रहेको छ । तर पूर्ण रूपमा थाकेर केही गर्नै नसक्ने हुने बेलासम्म कुर्दा यसबाट पार पाउन अलिकति कठिन हुन सक्छ ।
सन् २०१८ मा अमेरिकाले गरेको अध्ययनले विश्वभरका एक तिहाइ वयस्कहरू कामको बोझका कारण थकित महसुस गर्नु नै बर्नआउट अर्थात् सिन्ड्रोमको परिभाषा भनि व्याख्या गरेका छन् । अहिले विश्वभरमा एक प्रकारको हलचल रहेको छ, जुन अव्यवस्थित वातावरण हो । चाहे त्यो व्यावसायिक संसार होस्, सामाजिक संसार होस् वा भर्चुअल संसार । यो जताततै स्पष्ट देखिन्छ । मानिसले आफ्नो क्षमता पूरा गर्न नसक्ने गरी सामान्य भन्दा बढी काम गरिरहेको हुन्छ, यसले मन र शरीरमा प्रभाव पार्नु स्वभाविक हो । मानिसमा क्षमताभन्दा बढी काम गर्ने धेरै कारण छन् । मानिसहरूमा विलासी जीवन जिउने चाहना बढ्दै गएकोले धेरैभन्दा धेरै पैसा कमाउन चाहन्छन् ।
यस सबैका कारण मानिसहरु आफ्नो क्षमता भन्दा बढी काम गर्न थाल्छन् र थकान महसुस गर्दा, एक समय आउँछ जब उनीहरुलाई आफू पूर्णतया असफल भएको महसुस हुन्छ । उनीहरुमा काम गर्ने इच्छा नै हुँदैन, यस अवस्थालाई बर्नआउट सिन्ड्रोम भनिन्छ । थकान र बर्न आउटबीच के भिन्नता छ ? भन्ने विषयमा, बेलायती सांस्कृतिक इतिहासकार र बर्न–आउट मुद्दाहरूमा कार्यकारी प्रशिक्षक अन्ना क्याथरिना स्याफनरले आफ्नो नयाँ पुस्तक एग्जस्टेडः ‘ए टु जेड फर द केयर’ मा कामको तनाव र त्यसलाई हटाउने उपायहरूको बारेमा लेखेका छन् ।
कार्डियोलोजीसम्बन्धी युरोपेली जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार बर्नआउट सिन्ड्रोको कारण मुटुको धड्कनमा गडबडी आउन सक्ने औँल्याइएको छ । मुटुको चालमा गडबडी आउने समस्याले हृदयघात र मस्तिष्क घातसमेत गराउने गर्छ । बर्नआउट हुँदा मुड अलि डिप्रेसनमा गएको जस्तो हुने भएकोले डिप्रेसन र बर्नआउट उस्तै जस्तो लागे पनि यी दुईमा भिन्नता भने अवश्य छन्। बर्नआउटमा मेडिकल्ली कुनै रोगको निदान हुँदैन तर डिप्रेसनमा रोगको निदान हुन्छ। बर्नआउट काम वा जिम्मेवारीको तनावको कारण हुन्छ भने डिप्रेसन वंशानुगत, मनोवैज्ञानिक र वातावरणीय परिस्थितिको संयुक्त कारणबाट हुन्छ।
बर्नआउटमा आफूलाई तनाव दिइरहेको कुनै निश्चित कामप्रति नकारात्मक अनुभव हुन्छ भने डिप्रेसनमा जीवनको कुनै पनि पक्षप्रति नकारात्मक अनुभव हुन्छ । बर्नआउट सिन्ड्रोममा जुन कारणले तनाव भइरहेको हो, त्यसको उचित व्यवस्थापन र आराम गर्दा ठीक हुन्छ भने डिप्रेसनमा औषधि उपचार र जीवनशैली परिवर्तनको आवश्यकता पर्नसक्छ ।
प्रशस्त आराम गर्नु, चुरोट, मदिरा नखानु, सन्तुलित भोजन गर्नु, काममा प्राथमिकता निर्धारण गरेर निश्चित अवधिमात्र काम गर्नु, बढी महत्वाकांक्षी बनेर कामको जिम्मेवारी नलिनु, अफिसको काम घरमा नलैजानु, आफूलाई खुसी लाग्ने कार्यमा हरेक दिन सहभागी हुनु, नियमित व्यायाम गर्नु, बेलाबेलामा कामबाट छुट्टी लिएर घुम्न जानु, राम्रो निन्द्रा पर्ने गरी सुत्ने बानी गर्नु पनि यसका समाधानका उपाय हुन सक्छन् ।

