प्रचण्डको ढुलमुले नीतिले देशमा राजनीतिक संकट

राजनीति समाचार

विदेशीको इसारामा बनेको समिकरण कहिलेसम्म टिक्ला ?
काठमाडौं । गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा कुनै पनि राजनीतिक दलहरुले स्पष्ट बहुमत ल्याउन नसकेपछि चुनावी सहकर्मी पाँच दलीय गठबन्धन र प्रतिपक्ष दल नेकपा एमालेबीच सरकार कसले बनाउने भनेर होडवाजी नै चलेको थियो । त्यसपछि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पदीय भागबन्डा नमिल्दा माओवादीका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरणमा पुगेका थिए । त्यसपछि केपी शर्मा ओलीको सहयोगबाट माओवादी नेता प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

केपी ओलीको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले ६२ दिन नपुग्दै फेरि नयाँ सत्तासमिकरण गरेर नेपाली कांग्रेससँग मिल्न पुगेका छन् । यसरी प्रचण्डले पटक–पटक विभिन्न पार्टीलाई सत्तासमिकरणको नाममा धोका दिने गरेका छन् । उनले यस्तो ढुलमुले नीतिले देशलाई नै बर्बादतिर लैजाँदै छ । प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीबीच भएको सम्झौतालाई दुवै नेताको घमण्डका कारण सरकार बनेको ६२ दिन नपुग्दै राष्ट्रपति निर्वाचनलाई लिएर विघटनतर्फ धकेलिन पुग्यो ।

केपी ओलीसँग विश्वास गुमेपछि अहिले नयाँ समिकरणको आडमा प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति चुनावतिर केन्द्रित भएका छन् । यसरी बनेको समिकरणले आगामी दिनमा स्थायित्व पाउने कुनै सम्भावना देखिँदैन । नेपाली कांग्रेस पनि राजनीतिक खेलाडीको रुपमा राम्रो गनिन्छ । अहिले फेरि आठ दलीय गठबन्धन गरेर बनेको समिकरण कति दिन टिक्ने हो या पाँचै वर्ष जाने हो त्यो भने एकिन छैन । यसरी एकाएक आठ दलीय नयाँ समिकरण बन्नुमा नेपाली राजनीतिक पार्टी र नेताको मात्रै चाहना नभएर छिमेकी मुलुक भारत, दाता राष्ट्र अमेरिका र युरोपियन युनियनको समेत सहयोग रहेको विश्लेषकहरुले टिप्पणी गर्न थालेका छन् ।

त्यसकारण पनि नेपालमा राजनीतिक दलहरु र त्यसबाट बनेका सरकारले स्थायित्व नपाउने गरेको पाइन्छ । आगामी दिनमा पनि एकआपसमा समझदारी र स्वार्थयुक्त सम्झौतामा बनेको समिकरणले कहिलेसम्म स्थायित्व पाउने हो एकिन छैन । केही विश्लेषकहरुले भन्ने गरेका छन् यो समिकरण पनि कांग्रेसको राष्ट्रपति बनेपछि आलोपालो भनेर गरिएको सम्झौता तुहिने छ । र, माओवादी अध्यक्ष प्रचण्डलाई सरकारबाट गलहत्याएर कांग्रेसकै नेतृत्वमा सरकार बन्न सक्ने आँकलन गर्न थालिएको छ ।

यसले गर्दा माओवादी नेता प्रचण्डको ढुलमुले नीति र बेतुकको बोलीले गर्दा माओवादी पार्टी नै सकिने हो कि भन्ने आशंका पनि माओवादी केन्द्रभित्रका केही नेताहरुले गर्न थालेका छन् । माओवादीकै कारणले गर्दा उता एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भविष्यमा पनि आँच आउने देखिन्छ । एस पार्टीका अध्यक्ष माधव नेपाल पनि अहिलेको समिकरणको फाइदा उठाउन लागिपरेका छन् । तर, उनी पनि आफ्नो पार्टीको संगठन बनाएर अगाडि बढाउने भन्दा पनि व्यक्तिगत सत्तास्वार्थमा लागेको देखिन्छ ।

त्यसकारण पनि नेपालमा राजनीतिक स्थायित्व नहुने स्पष्ट देखिँदैछ । यतिबेला वामपन्थी शक्तिहरुलाई छिन्नभिन्न पारेर कमजोर बनाउने खेलमा दक्षिणपन्थीहरु राम्रोसँग लागेको देखिन्छ । हिजोका दिनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई फुटाउन पनि विभिन्न शक्तिकेन्द्रको हात रहेको थियो । अहिले आएर पनि विभिन्न शक्तिकेन्द्रको हानथापमा कहिले कसलाई मिलाउने कहिले कसलाई फुटाउने खेल भइरहेको छ ।

यो खेलले वामपन्थी शक्तिहरुलाई एक ठाउँमा आउन नदिने र फुटाएर टुक्राटुक्रा पार्ने भइराखेको छ । यस्ता खेल कहिले प्रधानमन्त्री बनाउने त कहिले राष्ट्रपति बनाउने निहुमा हुने गरेका छन् । नेपालका वामपन्थी शक्तिहरु पनि यस्तै खेलमा लोभिएर एक ठाउँमा उभिन सकेका छैनन् । त्योसँगै नेकपा एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन ६३ दिनमै फिर्ता लिइसकेको छ । उता राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट हटे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । तर, प्रधानमन्त्री प्रचण्डले भने फेरि विश्वासको मत लिनुपर्ने भएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *