राजनीतिक दलभित्र इमानदार कार्यकर्ताको खरेडी कहिलेसम्म ?

राजनीति लेख

रामचन्द्र बस्नेत
२०४६ सालयता नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि राजनीतिक पार्टीको रुपमा उदाएका ठूला भनाउँदा दल नेपाली कांग्रेस र नेकपा एमाले मात्रै थिए । २०४६ देखि २०७९ को अन्तिमसम्ममा आइपुग्दा साना ठूला गरी ११ वटा दल त सरकारमै सामेल छन् । अन्य दलहरु भने कोही प्रतिपक्षमा छन् भने कुनै चुनावमा भागसमेत नलिएर बसेका छन् । तर, नेपालमा राजनीतिक दलहरु भने पछिल्लो समयमा उद्योग धन्दा खोलेजस्तै गरी खोलिएको छ । तर, यसरी खोलिएका राजनीतिक दलहरुमध्ये अधिकांशले अब एक्लै चुनाव लडेर बहुमत ल्याउने छाटकाँट देखिँदैन ।

तर, यतिखेर ठूला राजनीतिक दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र मधेसवादी दलहर देखिएका छन् । यी दलहरुभित्र इमानदार पार्टीप्रति त्यागी र पढेलेखेका, बुद्धिजीवीहरु भने बाहिरिँदै गएका छन् । तर, जो पार्टीप्रति इमानदार छैनन्, बफादार बनेर काम गर्दैनन् । शिक्षामा कमजोर छन् । जो शीर्ष नेताहरुको व्यक्तिगत भजन गाउन सक्छन् ।

त्यस्ता व्यक्तिको पार्टीभित्र हालीमुहाली हुने गरेका छन् । तिनै अयोग्य र चाकडीचाप्लुसीवादहरुले पार्टीका विभिन्न तहमा ठाउँ पाउने गरेका छन् । अन्य क्षमता भएका व्यक्तिहरु आफ्नो क्षमताअनुसार जिम्मेवारी र काम नपाउँदा बाहिरिँदै जाने क्रम सबै राजनीतिक पार्टीमा बढ्दै गएको छ । त्यस्ता व्यक्तिलाई ठाउँ दिइहाले पनि सल्लाकारको रुपमा थन्क्याउने काम गरिएको छ । अहिले भन्नुपर्दा सबैभन्दा विश्वासिलो र भरपर्दो जनताले रुचाएको पार्टी भनेको एमाले हो ।

तर, त्यो एमाले पार्टीभित्र उच्च शिक्षा हासिल गर्ने पार्टीलाई चलाएमान बनाउने, पार्टीभित्रका विकृति, विसंगतिको बारेमा आवाज उठाउने व्यक्तिहरु पलायन हुँदै गएका छन् । उल्टै पार्टीलाई भजाएर खाने, नेताको व्यक्तिगत चाकडी र चाप्लुसी गर्ने, अयोग्य, एकापसमा नेताको कुरा काट्ने र सामाजिक सञ्जालहरुमा नेताहरुको खैरो खन्नेहरुको पार्टीभित्र हालीमुहाली बढेर गएको छ । त्यसकारण पनि अधिकांश राजनीतिक पार्टीहरुले निर्वाचनमा सोचे अनुसारको प्रगति हासिल गर्न सक्दैनन् ।

त्यसको उदाहरण बनेका छन् एमालेका उपाध्यक्ष भीम रावल । उनको बारेमा एमाले पार्टीले एउटा कार्यदल नै गठन गरेको छ । यो कार्यदलले के काम गर्ने हो र कसरी अगाडि बढ्ने हो त्यो अहिले चर्चाको विषय बनेको छ । उता, नेपाली कांग्रेसमा वीपी कोइरालाको हवाला दिँदै आएका आफूलाई एकदमै विद्धान अर्थशास्त्री भनेर दावी गर्ने स्वर्णिम वाग्लेले पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

रास्वपामा प्रवेश गरेसँगै उनी वैशाख १० गते हुने उपनिर्वाचनको लागि तनहूँ १ बाट उम्मेदवार बनेका छन् । उनीसँगै नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार बनेका छन् । चुनावमा प्रतिस्पर्धा पनि यिनैबीचबाट हुने देखिन्छ । यी तीनमध्ये कसले वाजी मार्ने हुन् त्यसको एकिन अझै भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *