बढी पैसा असुल्ने र राज्यलाई कर नतिर्ने यी व्यवसायीहरु

राजनीति समाचार

काठमाडौं । अधिकांश उद्योगधन्दा बन्द हुने अवस्था आएसँगै अहिले काठमाडौं उपत्यकाभित्र गेष्ट हाउस सञ्चालन गर्नेको संख्या ह्वात्तै बढेको छ । कतिपय उद्योग धन्दा सञ्चालन गर्नेहरुले राज्यलाई थोरबहुत कर तिरेका छन् भने अधिकांशले छली गर्दै आएका छन् । यतिखेर कतिपय गेष्टहाउस सञ्चालकहरुले खोलेका गेष्टहाउसमा मनलाग्दी हुने गरेको छ । तिनीहरु एकातिर राज्यलाई कर छलिरहेका छन् भने अर्कोतिर गेष्टहाउस सञ्चालकहरुले मान्छे बिगार्ने र मोटो रकम असुल्ने काम गरिरहेका छन् ।

कतिपय गेष्टहाउसहरुले तल रेष्टुरेन्टको आइटम राखेर कोठामा देहव्यापार गर्नेदेखि जुवा, तास खेलाउनेसम्मका काम गर्दै आएका छन् । तर, सम्बन्धित क्षेत्र र इलाकाका प्रहरीहरु भने महिनावरी र हप्ता सुलेर तैँ चुप, मै चुप भएर बस्ने गरेका छन् । यसरी महिनावरी तथा हप्ता नबुझाउनेलाई रंगेहात पक्राउ गरेजस्तो गर्दछन् । तर, दिनदहाडै गेष्टहाउसहरुमा हुने गरेका विकृति, विसंगति रोक्ने काम भने प्रहरीहरुले गर्न सकेका छैनन् । उल्टै गेष्टहाउस सञ्चालकसँग मिलेर कमिसनको आडमा विकृति, विसंगतिलाई ढाकछोप गर्ने काम गर्दछन् । यस्ता गेष्टहाउसमा बस्न जानेहरु पनि सेकुवा र दारुपानीमा रमाउने र प्रेमी, प्रेमिका लिएर गोप्य कोठामा जाने गर्दछन् ।

यसरी जानेहरुमा अधिकांश मालदार सरकारी अड्डाका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, मेनपावर व्यवसायी, जग्गा कारोबार गर्ने, गिटी, बालुवा, ढुंगा, इँटा, सिमेन्ट, रड जस्ता निर्माण सामग्री व्यवसायी, राजनीतिक विचौलिय, सरकारी कार्यालयका लेखनदास, न्याय क्षेत्रका विचौलिया, यातायात क्षेत्रका विचौलिया, बस व्यवसायी लगायतका व्यक्तिहरु हुने गर्दछन् । यिनीहरु नै विभिन्न बहानामा सुरासुन्दरीसहित देश दौडाहामा घुमेर मोजमस्ती गर्ने गर्दछन् । यस्ता पाहुनालाई कोठा र खाना उपलब्ध गराएर गेष्टहाउस सञ्चालकहरुले उनीहरुको कमजोरीमा खेलेर मोटो रकम असुल्ने गरेका हुन्छन् ।

त्यसरी असुलेको पैसाको न त उनीहरुले प्यान, भ्याट बिल काट्छन् न त राज्यालाई कर नै तिर्छन् । मौका अनुसार ती गेष्टहाउस सञ्चालकहरुले एउटा कोठा बराबर एक दिनमा १० देखि १५ हजारसम्म असुल्ने गरेका हुन्छन् । यो त एउटा सानो उदाहरण मात्रै हो । अहिले नेपालमा स्थानीय, प्रदेश र संघमा गरी तीन तहको सरकार छ । तर, यसरी अनियमित ढंगले होटल गेष्टहाउस सञ्चालन गर्नेहरुलाई कुनै निकायले छानविन भने गरेको पाइँदैन । उनीहरुले उल्टै राज्यका सम्बन्धित निकायलाई मुख बुझो लगाएर ठूलो मात्रामा कर छली गरिराखेका हुन्छन् । त्यसरी सञ्चालन गरिएका गेष्टहाउसहरुले घरबहाल करसमेत तिर्ने गरेका छैनन् ।

त्यसको न त स्थानीय सरकारले खोजी गर्दछ, न त प्रदेश र केन्द्र सरकारले खोजी गर्दछ । अहिले सबैभन्दा कर नतिर्ने क्षेत्र भनेको पहिलो मेनपावर कम्पनी, दोस्रो क्याफे र गेष्टहाउस, तेस्रो टोलटोलमा खोलिएका भट्टीपसल अर्को साउने च्याउसरी टोलैपिच्छे खोलिएका निजी बोर्डिङ स्कुल र कलेज रहेका छन् । त्यसैगरी विभिन्न ठाउँमा खोलिएका रिसोट, होमस्टे, होस्टेलहरु पनि कर छली गर्नेमा पर्दछन् । त्यसैगरी विभिन्न स्थानीयस्तरमा रहेका रिसोट, गेष्टहाउसहरुलेसमेत कर नतिर्ने परिपाटी चल्दै आएको छ ।

जस्तो जर्सिङपौवा, ककनी, बालाजुवाइपास क्षेत्र, भट्टेडाँडा, दक्षिणकाली क्षेत्र, चन्द्रागिरी हिल्स, ककनी, नगरकोट, धुलिखेल आसपासका क्षेत्रमा सञ्चालन गरिने रिसोट, भक्तपुरको डोलेश्वर महादेव मन्दिर आसपास, भक्तपुरको पाइलट बाबा क्षेत्रका रिसोट, बुढानिलकण्ठ क्षेत्रलगायत थुप्रै ठाउँमा खोलिएका रिसोटहरुले व्यवसाय गरेबापत मोटो रकम असुल्ने तर राज्यलाई कर नतिर्ने गर्दै आएको स्रोतको भनाई रहेको छ । (तामाकोशीसन्देशबाट)

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *