बस भाडा कहाँबाट वढाइन्छ यात्रुलाई पत्तो हुन्न तर कन्डक्टरसँग पैसाको निहुँमा झगडा पर्दछ । त्यस्तै मुलुकको नीति कार्यक्रम कताबाट बनाइन्छ मेसो हुन्न तर नागरिकको गाली भने वडाका जनप्रतिनिधिहरुले खानु पर्दछ । किनकी एक आपसमा प्रत्यक्ष भेट भैरहन्छ । सिमित साधान स्रोत, असिमित चाहाना वडाका जनप्रतिनिधिकालागि नियमित चुनौती हुन् । यस्तै सन्दर्भमा एक वडाका केही अंश यहाँ समेट्ने कोशिस गरिएकोछ ।
दोलखा जिल्लाका ७४ वटा वडाहरु मध्ये धेरै मतदाता र जनसंख्या भएको भीमेश्वर नगरपालिका वडा नं. ५ हो । साविक माटी गाविस नैं अहिले वडा भएकोछ । ४ हजार २ सय भन्दा वढि मतदाताको लागि ३ वटा मतदान केन्द्र कायम गरिएकोछ । गएको निर्वाचनबाट नेकपा एमालेको उम्मेदवारहरु वडा अध्यक्ष वासु श्रेष्ठ, सदस्यहरु मिना वि.क. कुमार कार्की, बालकृष्ण कुँवर, एकमाया भुजेल विजयी भैं क्रियाशिल हुनुहुन्छ । नगर उपप्रमुख कमला वस्नेतको वडा पनि यहि हो ।
नागरिक र जनप्रतिनिधिहरुकोे चाहाना सवै काम एकै पटक गरौं भन्ने देखिन्छ । नगर वा वडाहरुवाट सञ्चालन भैरहेका कामहरु धेरै जसो कर्मकाण्डी नैं छन् । जसका कारणले प्रतिफल देखिने काम हुन्न कि भन्ने चिन्ता छ । यस वडाको लागि चालु वर्षमा एक करोडको वजेट सिमा थियो । ७७ वटा योजना छनौट भएका छन् । २९ वटा त सडकसँग सम्वन्धीत छन् । थोरै वजेट धेरै योजना हुँदा प्रतिफल आउँदैन भन्ने जान्दाजान्दै पनि त्यही गर्नु पर्ने वाध्यता रहेको छ ।
खानेपानी, सिचाई, मन्दिर निर्माण मर्मत संभार, सामुदायिक भवन, ढुँगेधारालाई नयाँ स्वरुप प्रदान, केरा पकेट क्षेत्र जस्ता योजनाहरुमा धेरथोर वजेट विनियोजन गरिएको छ ।छरिपष्ट योजना छनौट र वजेट विनियोजन गरेता पनि जनप्रतिनिधिसँग केही नयाँ काम हुटहुटी रहेको पाइन्छ । सवै काम नयाँ गर्न सकिन्न तर केही नयाँ ढँगले गर्न सकिन्छ कि भनी नागरिकहरुसँग टोलगत रुपमा संवाद गरिरहन्छन । केही छाप छाड्न सक्ने खाल्का कामहरु पनि हुँदैछन् ।
जहाँ नागरिक त्यहाँ सेवा
निर्वाचनको समयमा जाहेर प्रतिवद्धता अनुसार आफ्ना कामहरु सम्पादन गर्ने कोशिस भैरहेको छ । ५ नं. वडा वासिन्दा चरिकोट वजारमा नैं धेरै वस्दछन् । त्यही भएर एक सम्पर्क कार्यालय चरिकोट वजारमा राखिएको छ । त्यस कार्यालयबाट हरेक आइतवार सेवा प्रवाह गर्ने गरिएकोछ । वाँकी दिन वडाको करिव करिव विचमा रहेको कार्यालयवाट सेवा प्रवाह हुन्छ । अनुदानमा उपलव्ध हुने रासायनिक मल र सामाजिक सुरक्षा भत्ता वितरण, योजना छनौट र संझौताका कामहरु टोलटोलबाट गरी ‘जहाँ नागरिक त्यहाँ सेवा’को अवधारणालाई आत्मसात गरिएको छ ।
ज्येष्ठ नागरिकलाई सम्मानमा अग्रसरता
‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ भन्ने उक्तीलाई आत्मसात गर्दै यस वडा समितिले विभिन्न कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरिरहेको छ । टोल टोलमा गएर ज्येष्ठ नागरिकहरुसँग भलाकुसारी गर्ने, कुरा सुन्ने र लौरो वितरण गरेको छ । यसवाट ५४० जना लाभान्वित भए । त्यसै गरी वडा अध्यक्षले राज्यवाट प्राप्त गर्ने मासिक पारिश्रमिकबाट ३६ जना ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण गराउने काम भएको छ । यस भ्रमणमा २ लाख भन्दा वढि खर्च भएको छ । खर्चको तुलनामा ज्येष्ठ नागरिकको सन्तुष्टी मापन नहुने असिमित रहेको पाइयो । भ्रमणका क्रममा तत्कालिन राष्ट्रप्रमुख विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपी शर्मा वलीसँग भेटघाट गरी अन्तरक्रिया समेत गरिएको थियो । कृष्ण कँडेलद्वारा सञ्चालिन सांस्कृतिक कार्यक्रम ‘इन्द्रेणी’ कार्यक्रममा समेत सहभागीता हुनु पाउँदा ज्येष्ठ नागरिकको हर्षको सिमा थिएन । यो कामको राष्ट्रियस्तरमा समेत चर्चा भएको थियो ।
राज्यले उपलव्ध गराउने सामाजिक सुरक्षा भत्ता पनि वडाका विभिन्न ३ स्थानवाट वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
संस्कृती जोगाउन र आयआर्जनकालागि पञ्चेवाजा
हरेकलाई लठ्ठ पार्ने नाचौंनाचौं लाग्ने पञ्चेवाजा हाम्रो मौलिक हो । पछिल्ला दिनमा यो लोप हुने हो कि भन्ने चिन्ता जनप्रतिनिधिहरुलाई लागि रह्यो । यसमा महिलाहरुलाई क्रियाशिलता वनाउँदा दिगो र आयआर्जनको स्रोत पनि हुने सोच विकास भयो । पूर्व जनप्रतिनिधि समेत रहनु भएकी तारा नेपालीको अगुवाईमा १६ जना महिलाहरु संगठित हुनु भयो । वाजा वजाउने सिप विकासको लागि वडा कार्यालयले रु. ५० हजार वजेटको प्रवन्ध गरिदियो । यसबाट १५ दिने तालिमको व्यवस्था भयो । तालिमवाट उत्साहित महिलाहरुलाई वाजाको सामाग्रीहरु नगरपालिकाले खरिद गरी पोशाकको समेत व्यवस्था गरिदियो ।
भीमेश्वर पञ्चेवाजा महिला समूहमा १६ जना दिदीवहिनी संगठित हुनुहुन्छ । त्यस समूहमा दमाहा, कर्नाल, सनाई, ढल्की, ट्याम्को, नर्सिङ्गा जस्ता वाजा रहेका छन् । यस मध्येमा सनाई वजाउन मुस्कील परिरहेको छ । थप तालिमको आवश्यक परेकोछ । अहिले धार्मिक काम, जात्रा तथा समारोहमा बाजाको माग हुन थालेको छ । आम्दानी वढेको छ । महिलाहरुले एउटै पोशाक लगाएर बाजा वजाउँदाको रौनक नैं आकर्षक देखिन्छ । यस अघि बाजा छुँदापनि नछुएका महिलाहरुले व्यवसायीक काम गर्न अझ धेरै मेहनत गर्नु पर्ने छ तर निरन्तरताको अठोट तारा नेपालीको समूहमा रहेकोछ ।
अन्त्यमा, नागरिकको घरदैलोको सरकार स्थानीय तह हो । संघीय र प्रदेश सरकार भनेको ‘रेडियोमा सुन्ने टिभीमा देखिने’ मात्र हो । ‘मर्दाको मलामी जिउँदाको साथी’ भनेको स्थानीय सरकार र वडाका जनप्रतिनिधिहरु नैं हुन् । उनीहरुको भूमिकाले ‘समृद्ध मुलुक’ वनाउने भूमिकामा प्रत्यक्ष योगदान पुग्दछ । नागरिकको चाहानामा उनीहरुलाईनैं उत्प्रेरित गराइ दिगो विकास गराउन सफलता मिलोस् शुभकामना छ ।(तामाकोशीसन्देशबाट)