भागवन्डा नमिल्दा शरणार्थी काण्ड छताछुल्ला

राजनीति समाचार

काठमाडौं । नेपालका राजनीतिक दलभित्र नेताहरुको छत्रछायाँमा बसेर विचौलियाको काम गर्छन् भनेर आरोप लागिरहँदा अहिले त्यो पुष्टि हुँदै गएको छ । तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारको परराष्ट्र मन्त्री बनेकी सुजता कोइरालाको सहयोगीको भूमिका निर्वाह गर्दै आएका केशव दुलालले लुकिछिपी नेपालीहरुलाई अमेरिका पठाउँदै आएका थिए ।

त्यहीं मेसोमा सानु भण्डारी पनि जोडिन पुगे । सानु भण्डारी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका भान्छा हुन् भनिन्छ । यसरी दुलाल र भण्डारीले राजनीतिक शक्तिको दुरुपयोग गर्दै विभिन्न अनियमितताको काम गर्दै आएका थिए । उनीहरुले पछिल्लो समय दाङ, प्यूठान, सल्यान, अर्घाखाँचीजस्ता ठाउँबाट नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुली अमेरिका पठाउने काम भित्री रुपमा गर्दै आएको बताइन्छ ।

यसरी लामो समयदेखि योजना बनाएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको काण्ड अहिले बाहिर आउनुमा जिल्ला प्रशासन कार्यालयका उच्च पदस्थ कर्मचारी र लेखनदासबीचको आन्तरिक लेनदेनको विवादले गर्दा हो । यस्तै प्रकरण केही महिना अगाडि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तिब्बतीयनहरुलाई नागरिकता दिलाएको समेत सञ्चारमाध्यममा समाचार आएको थियो । त्यसरी तिब्बतीहरुलाई विभिन्न जिल्ला प्रशासन कार्यालयले करिब ५ सय जनालाई नागरिकता दिएको विषय अहिले गुमनाम अवस्थामा छ । यस विषयमा सम्बन्धित निकायले चासो दिएको पाइँदैन ।

यतिबेला नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको समाचारले मुलुक तातिएको छ । त्यसमा कुनकुन पार्टीका को को नेता फस्ने हुन् अथवा जोगाइने हो त्यो भने एकिन भइसकेको छैन । राजनीतिक दलहरुले आफ्नो नेता, कार्यकता र सहयोगी जोगाउन खोजे तापनि यो काण्ड सर्वसाधारण जनता सामु छर्लङ्ग भइसकेको छ । यदि सरकारले यस्ता जघन्य अपराधमा मुछिएका दोषीलाई कारबाही नगर्ने हो भने जनता सडकमा नआउलान् भन्न सकिँदैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *