अरुण भ्याली हाइड्रोपावरले पायो हकप्रद निष्काशन गर्ने अनुमति

अर्थ/वाणिज्य समाचार

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई हकप्रद शेयर निष्काशन अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट शत प्रतिशत हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनी सञ्चालक समितिको बैशाख ६ गते बसेको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगले पूर्व स्वीकृति प्रदान गरेको हो ।
हकप्रद शेयर निष्काशन गरेर कम्पनीले प्राप्त गरेको रकम मध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ एएचपीसी हाइड्रोपावरले विकास गर्दै गरेको ३० मेगाबाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपूँजीको लागि लगानी गर्नेछ ।

यस्तै बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकबाट लिएको ऋण भुक्तानीमा प्रयोग गरिने जनाएको छ ।

विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएसँगै कम्पनीको विशेष साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *