रामचन्द्र बस्नेत
काठमाडौं । नेपालका राजनीतिक दलहरु जब सत्तामा पुग्छन् अनि एउटा न एउटा फन्दा ल्याएर बदनाम हुने गर्दछन् । तत्कालिन नेकपाको सरकार हुँदा नेकपाभित्र एक नेताले अर्काे नेतालाई खुइल्याउने र गालीगलौज गर्नाले नेकपाभित्र मनमुटाव सुरु भएको थियो । त्यहिं मनमुटावको कारणले गर्दा नेकपाभित्र भाँडभैलो भयो । त्यो भाँडभैलोकै कारण अन्त्यमा नेकपा फुटाउने काम पनि भयो । नेकपा फुटेपछि एमाले र माओवादी छुट्टा–छुट्टै पार्टी बन्यो । त्यसपछि माधवकुमार नेपाल र केपी ओलीबीच द्वन्द्वनै चर्कियो ।
अन्त्यमा माधवकुमार नेपालले एमाले पार्टी फुटाएर एकीकृत समाजवादी पार्टी गठन नै गरे । सो पार्टीमा एमालेका वरिष्ठ नेता झलनाथ खनालदेखि राजेन्द्र पाण्डे, वेदुराम भुसाल, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधार, विजय पौडेल, जगनाथ खतिवडा, विरोद खतिवडा जस्ता वरिष्ठ नेताहरु मिलेर एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।
सो पार्टीले गत मंसिर ४ गतेको संघ र प्रदेश निर्वाचनमा दश सिट प्राप्त गरेको थियो । समानुपातिकमा भने १ सिट पनि प्राप्त गर्न सकेन । यदि नेकपा एमाले नफुटेको भए अहिले एमालेको सरकार बहुमतको हुने थियो । एमाले फुटेपछि कार्यकर्ताहरु पनि फुटेका छन् । त्योसँगै कार्यकर्ता फुटेनन्् मात्रै पार्टीभित्रै वितृष्णा भएपछि इमान्दार र निष्ठावान कार्यकताहरु अहिले स्वतन्त्र अवस्थामा रहेका छन् ।
गत मंसिर ४ को संघ र प्रदेश निर्वाचनमा कार्यकर्ता चुपचाप अवस्थामा बसे । त्यसकारणले पनि एमाले पार्टी कमजोर बन्न पुग्यो । एमाले पार्टीमा संगठन विस्तार गर्ने, संगठनमा रातदिन खट्ने, पार्टीभित्रको विकृति र विसंगतिको विरोध गर्ने नेताहरु र कार्यकताहरुलाई नेतृत्वले पाखा लगाउँदै जाने र पार्टीभित्र बसेर काम नगर्ने, पार्टीका नेताहरुलाई मनपरी गाली गर्ने, पार्टीको नाममा पैसा उठाउने, संगठनको नाम भजाएर नातेदार, आफन्त, श्रीमती र छोरोछोरीलाई जागीर खुवाउने, पार्टीको नाम भजाएर भ्रष्टचार गर्ने लगायतका व्यक्तिहरुलाई पार्टी नेतृत्वले साथ दिँदा एमाले अहिले नचाहँदा–नचाहँदै पनि प्रतिपक्षमा बस्नु परेको छ ।
प्रतिपक्षमा बसेर पनि देश र जनताप्रतिको भूमिका निर्वाह गर्नुपर्नेमा चाहिदो नचाहिँदो बोलेर नेपाली जनता र कार्यकर्तामाथि एमालेले आरोपप्रत्यारोप लगाउँदै आएको छ । यता सरकारले ल्याएको नीति तथा कार्यक्रममा एमालेले विरोध गरिरहेको छ । जनता भने महङ्गीको मारमा परेका छन् ।
भ्रष्टचार बेतिथि बढेको छ, व्यापारीले कालो बजारी चलाएका छन् । यस्ता विकृतिको बारेमा आवाज उठाउनु पर्नेमा एमालेले उल्टै सरकारलाई गालीगलौज गरेर आफू पानीमाथिको ओभानो बन्न खोल्दै छ । त्यस्तै, नक्कली भुटानी शरणर्थी काण्डमा टोपबहादुर रायमाझी, रामबहादुर थापा जस्ताको नाम पोलिनु भनेको एमालेको बद्नाम हुनु हो । अहिले नेकपा एमालेले पार्टी संगठन चलायमा बनाउने भनेर संघ, प्रदेश र स्थानीय तह गरी एक बर्षीय कार्ययोजना ल्याएर पार्टी सुद्धिकरण गर्ने भनेर लागि परेको छ ।
तर, एमाले पार्टीको नितिनिर्माणमा लागेता पनि गाउँटोल स्तरमा एमाले कार्यकर्ताहरु रुष्ठ बनेका छन् । एमाले सरकारको पालामा भएगरेका भ्रष्टाचारमा पनि स्थानीय जनताले कार्यकर्तालाई सोध्न थालेका छन्, ‘तपाईको पार्टीले के काम गरेको छ ? सरकारमा जान्छ भ्रष्टचार गर्छ, पार्टीका नेताहरुलाई तथानाम गाली गर्छ, पार्टी फुटाउँछ, आफ्ना आसेपासेलाई काखी च्याप्छ, पार्टीका सिद्धान्त र नितिलाई त्याग्छ, निष्ठावान कार्यकर्तालाई बाहिर राख्छ, अनि कसरी ठुलो हुन्छ एमाले’ भन्दै जनताले एमाले नेता कार्यकर्तासँग आक्रोश पोख्न थालेका छन् ।
यदि स्वर्गीय मनमोहन अधिकारी र पार्टी महासचिव मदन भण्डारी नभइदिएको भए एमाले पार्टी पहिला नै सखाप भइसक्थ्यो । स्व. मनमोहन अधिकारीले ल्याएको ‘आफ्नो गाउँ आफ्ै बनाऊँ’ नारा र सय रुपैयाबाट सुरु गरेको वृद्धा भत्ताले अहिले एमाले पार्टी रहेको छ । नत्र अन्य नेताहरुले एमाले पार्टीलाई सिध्याइसकेका छन् भन्ने जवाफ नेपाली जनताबाट आउन थालेको छ ।(तामाकोशीसन्देशबाट)