स्वास्थ्य क्षेत्रमा विभागमा कालेकाले मिलेर खाउँ भाले

राजनीति समाचार

काठमाडौं । सरकारले नेपालमा स्वास्थ्य क्षेत्रलाई भरपर्दो, जनउत्तरदायी र पादर्शी बनाइ आमनेपाली जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध हुनुपर्छ भन्दै आए तापनि यो भनाइ ‘हात्ति आयो, हात्ति आयो फूस्स’ जस्तै भएको छ । जुनसुकै पार्टीको नेता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपनि सर्वसाधारण जनताले भनेजस्तो स्वास्थ्य उपचार नपाएर भौतारिनु परेको छ । कतिपय स्वास्थ्य मन्त्रीहरुले त स्वास्थ्य क्षेत्रलाई आफ्नो पार्टीको भर्ती केन्द्र बनाउँदै आएका छन् ।

त्योसँगै स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुले त विभिन्न खाले अनियमितता गर्ने सेटिङ नै बनाउने गरेका छन् । अहिले स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्ने स्वास्थ्य सेवा विभाग टेकुभित्रको भद्रगोल त कति छ कति । यस विभागमा विभिन्न रोगको नाममा विदेशी दाताले दिने बजेटसमेत कर्मचारीहरुले सेटिङ गरेर हिनामिना गर्दै आएका छन् । त्यसरी हिनामिना गर्दा विभिन्न सरुवादेखि नसर्ने रोगको बारेमा सर्वसाधारणलाई सुसूचित गराउन प्रचारप्रसार गर्ने भन्दै कार्यक्रम, सेमिनार, गोष्ठी, प्रचार पप्लेट, ब्रुसर, सडक नाटक, क्यालेन्डर, डकुमेन्ट्री र विभिन्न सन्देशमुलक विज्ञापन गर्ने भनेर ठूलो धनरासी खर्चने गरेका छन् ।

यसरी खर्च गर्दा आफ्ना वरिपरिका आसेपासे, केही चिनेजानेका पत्रकार, स्वास्थ्यकर्मी, आयोजना प्रमुखहरु र विचौलियाको सेटिङमा संस्था खोल्न लगाउने र त्यसलाई प्रचारप्रसारको काम दिई कमिसन खाने काम गर्दै आएका छन् । यसरी आफ्नो स्वार्थको कम्पनीलाई काम दिँदा सार्वजनिक खरिद ऐनविपरित बिल बनाएर रकम हिनामिना गर्ने काम गरिँदै आएको छ । विगत लामो समयदेखि स्वास्थ्यको लागि प्रचारप्रसार गर्ने भनेर सन्देशमूलक सूचनाहरु सञ्चार क्षेत्रलाई दिँदै आइएको थियो ।

त्यसरी दिइने सन्देशमुलक सूचनाहरु अहिले आएर केही आफन्तले खोलेका बजरमा नजाने मिडिया केही स्वास्थ्यका बिटमा खोलिएका अनलाइन पोर्टलहरुलाई थोरबहुत दिने र महंगो बिल बनाएर कमिसन खानेसम्मको काम स्वास्थ्य सेवा विभागभित्र हुने गरेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयलाई आवश्यक स्टेशनरीलगायतका विभिन्न स्वास्थ्य सामग्री खरिद गर्दा अर्बौंको भ्रष्टाचार हुँदा पनि सम्बन्धित निकाय र अख्तियार दूरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेर बसेको छ ।

स्वास्थ्यमन्त्री पनि यसैको भुलभुलैयामा लागेर कमिसन खाने बाटोमा लाग्दै आएका छन् । हालका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत भने स्वास्थ्य क्षेत्रको विकृति, विसंगति र भ्रष्टाचारलाई निर्मूल पार्नुपर्ने ठाउँमा खाली अनुगमन गरेजस्तो गरेर झारा टार्ने काम गर्दै आएका छन् । हुन त स्वास्थ्यमन्त्री बस्नेतले गरेका विगतका कालाकर्तुतहरु पनि सञ्चारमाध्यमहरुमा नआएका होइनन् ।

त्यसकारण मन्त्री बस्नेतले जति चुस्तदुरुस्त काम गर्ने भनेर फलाके तापनि त्यस अनुसारको काम हुने देखिँदैन । मन्त्री बस्नेतले वीर अस्पतालका तत्कालीन भ्रष्ट निर्देशक भूपेन्द्र बस्नेतको सहारा लिएर काम गरिरहेका छन् । बस्नेतले वीरको निर्देशक हुँदा काभ्रेतिरका केही व्यापारीसँग मिलेर स्वास्थ्य सामग्री खरिदमा ठूलो घोटाला गरेको समाचार पनि बाहिरिएको थियो । सो घोटालाको छानविन अहिलेसम्म अख्तियारले गर्न सकेको छैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *