उद्योगमन्त्री रिजाल पड्किँदा एक सचिवको सरुवा

राजनीति समाचार

काठमाडौं । गठबन्धन सरकारका मन्त्रीहरुमा यतिखेर प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटन तथा संस्कृतिमन्त्री मधुसुदन किराँतीले केही काम गरेर चर्चा कमाएका छन् । यो सरकारका अन्य मन्त्रीहरु भने निदाएको बागजस्तो अवस्था देखिन्छन् । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भने निद्राबाट ब्यूँझिएर गत जेठ २४ गते आफ्नो मन्त्रालयको तेस्रो त्रैमासिक समीक्षात्मक कार्यक्रममा दुवै सचिवलाई राखेर तपाईंहरुलाई गाली भन्ने कि स्यावासी भन्ने भन्दै भाषण दिएका थिए ।

मन्त्री रिजलाले मन्त्रालयका सचिव तोया नारायण ज्ञावली र मधु मरासिनीलाई ‘तपाईंहरु बढी मात्रामा विदेश घुम्न फोकस गर्नुहुन्छ, मन्त्रालयको काममा ध्यान दिनुहुन्न, पुँजीगत खर्च भएन, गाडी दिएकै छु, तेल दिएकै छु किन हाम्रो मन्त्रालयको काममा प्रगति हुन सकेन ? भन्दै गर्दा सचिवहरु भने मुखामुख गर्दै थिए ।

त्यसकारणले गर्दा पनि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सचिवहरुबीच मनमुटाव बढेको देखिन्छ । यसरी मन्त्री र सचिवबीच भनाभन भएपछि गत जेठ २६ गते सचिव तोयानारायण ज्ञवलीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । त्यस्तै अर्का सचिव मधु मरासिनी पनि अन्यत्र सरुवा भएर जाने मनस्थितिमा छन् । कतिपय मन्त्री र सचिवको मन नमिल्दा वार्षिक, अर्धवार्षिक र त्रैमासिक कार्यक्रम पनि बेलामा सम्पन्न हुने गरेका छैनन् । गरिहाले तापनि कार्यसम्पादनको मूल्याङ्कन न्यून रहेको पाइन्छ ।

त्योसँगै प्रचण्ड सरकारले राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर जनमत पार्टीका सिके राउतलाईसमेत सरकारमा ल्याउनको लागि बाटुवाटारमा वार्तासमेत भइरहेको छ । तर, उक्त पार्टीलाई कुन मन्त्रालय दिने भनेर परामर्श भइरहेको बताइन्छ । जनमत पार्टीले दावी गरेको मन्त्रालय उद्योग र पर्यटनजस्तै अन्य मालदार मन्त्रालय लिन खोजिरहेको छ ।

त्यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मधुसुदन किराँती चर्चामा आएजस्तै गरेर मन्त्री रमेश रिजाल पनि चर्चामा आउन खोजेका छन् । तर, जनमत पार्टीलाई सो मन्त्रालय दिने हो भने रमेश रिजाल हिस्स पर्ने देखिन्छ । उता, पर्यटन मन्त्री किराँती र प्रधानमन्त्री प्रचण्डबीच मनमुटाव रहेको कारणले पनि किराँतीलाई हटाउने चलखेल भइरहेको समाचार स्रोतको भनाइ छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *