मिनबहादुर पक्राउ परेपछि बैंकिङ क्षेत्र आतंकित

राजनीति समाचार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वालुवाटारको ललिता निवास जग्गा प्रकरणमा ललिता निवासको १४३ रोपनी सरकारी जग्गा कीर्ते गरेको अभियोगमा ४०६ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको जनाएको छ । जसमध्ये १७८ जना त कर्मचारीहरु मात्र छन् । तीमध्ये कोही बहालवाला र धेरै निवृत्त ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका ४०६ जनाविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएकोमध्ये १७८ जना कर्मचारी रहेका जनाइएको छ । यो प्रकरणमा जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना उपर प्रहरीले पक्राउ गर्ने अनुमति लिएको छ ।तिनैमध्येका पूर्व गृहसचिव नारायणगोपाल मलेगो सहित पूर्व र वहालवाला गरी १७८ कर्मचारी सिआइबीको छानबिनमा परेको सिआइबीले जनाएको छ । उनीहरुले साढे २२ रोपनीसम्म घुस लिएको प्रहरी अनुसन्धानको क्रममा खुलेको सीआईबीले जनाएको छ ।

यसमा जोडिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,बाबुराम भट्टराई,विष्णु पौडेल,पूर्व मुख्य सचिव लीलामणि पौडेल,न्यायधीश कुमार रेग्मीलाई भने छुने छाँटकाँट देखिएको छैन । जग्गा प्रकरणको मुख्य टार्गेट बनाइएको छ,भाटभेटनीको साहु मीनबहादुर गुरुङलाई । सीआईबीका अनुसार गुरुङ र उनको परिवारको नाममा मात्र ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा छ । यस्तै, पूर्वनिर्वाचन आयुक्त शाहले मालपोत कार्यालय भक्तपुरको तत्कालीन अधिकृत हुँदा पाँच रोपनीभन्दा बढी ललिता निवासको जग्गा हडपेको पनि प्रहरीको भनाइ छ। प्रहरीले मंगललबार गुरुङ र शाहसहित मालपोत कार्यालयका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो ।

रोचक चाहिँ भाटभेटनीका साहु मिनबहादुर गुरुङ पक्राउ परेसँगै बैंकहरुको रुवावासी शुरु भएको छ । नेपाल राष्ट्र बैंक स्रोतले तामाकोशी सन्देशलाई दिएको जानकारी अनुसार,७ वटा बैंकको १२ अर्ब कर्जा लगानी गरेका छन् । भाटभटेनीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाले १० अर्ब बढी कर्जा लगानी गरेको बताइन्छ । भाटभटेनीमा १२ अर्ब कर्जा लगानी गर्न स्ट्याण्डर्ड चार्टड बैंकले अगुवाइ गरेर ७ वटा बैंकबाट लगानी जुटाएको बताइन्छ ।

अब, गुरुङ लामो समय हिरासतमा बस्ने अवस्था आयो र भाटभटेनीको व्यवसाय ओरालो लाग्यो भने स्ट्याण्डर्ड चार्टड बैंकको अगुवाईमा लगानी भएको कर्जा के होला भन्ने पीरले बैंकहरुलाई सताउन थालेको छ । अर्काेतिर भाटभटेनीलाई सर सामान दिँदै आएका ३ हजार व्यवसायी तथा उद्यमीको रुवावासीको स्थिती पैदा भएको छ ।

भाटभटेनीले देशभरीका २ हजार ७ सय सप्लायर्सबाट सामान लिँदै आएको छ । भाटभेटनीले देशभरका २५ वटा स्थानमा सार्वजनिक जग्गा मिचेर आउटलेट बनाएको छ । ती आउटलेटहरुमा सामान दिँदै आएका व्यवसायीहरु मर्नु न मोटाउनुको स्थितीमा पुगेको तामाकोशी सन्देशको सम्पर्कमा आएका एक व्यवसायीले पीडा पोख्दै भने,असार मसान्तको मुखैमा गुरुङ पक्राउ परेपछि उनीसँग व्यवसायका क्रममा जोडिएका अन्य व्यवसायीहरु नराम्ररी प्रभावित बन्ने देखिएको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *