प्रचण्ड सरकारलाई अवसर र चुनौति

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि नेपाली कांग्रेसले निकै लामो समय शासनसत्ता सम्हाल्यो । त्यसपछि नेकपा एमालेले पनि पटक–पटक देशको बागडोर सम्हाल्यो । तर, यी दुवै दलले राष्ट्र, राष्ट्रिय र जनताप्रति पार्टीको नीति र सिद्धान्त अनुसार काम गर्न सकेनन् । कांग्रेस र एमाले दुवैले आफू सत्तामा पुगेका बेला जनतामा राम्रो काम गरेको छाप पार्न सकेनन् ।

दुवै दलभित्र नातावाद, कृपावाद र अवसरवाद हावी हुँदै गयो । त्यसपछिका दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलहरुको सरकार पनि बन्यो । त्यसले पनि देश र जनताप्रति कुनै माखोसमेत मार्न सकेन । नेकपा माओवादीको त झन् कुरै नगरौं । ऊ त खाली आन्तरिक झगडामै रुमलिइरह्यो । नेकपा माओवादीले २०६४ सालमा बहुमतको सरकार चलायो । एकल बहुमतको सरकार चालाए तापनि दश महिना टिक्न सकेन । त्यसपछिका दिनमा पनि अन्य पार्टीसँग सहकार्य गरी माओवादीले पटकपटक सरकारको नेतृत्व गर्दै आएको छ ।

त्यसरी आफ्नो नीति र सिद्धान्त भन्दा पनि पछिल्ला दिनमा माओवादी सत्तामा पुग्ने खेलमा मात्रै जुट्न थाल्यो । पार्टीको सिद्धान्त, निष्ठा र नीति बिर्सेर कमाउधन्दा मात्रै जुट्न थालेपछि माओवादी पार्टीलाई आफ्नो अस्तित्व जोगाउन पनि हम्मेहम्मे परेको थियो । ‘ढिलो होस् राम्रो होस्’ भन्ने भनाइलाई चरितार्थ गर्दै पछिल्लो समय पाँचदलीय गठबन्धनबाट चुनावमा होमिको माओवादी ३२ सिटमा खुम्चिन पुग्यो । पाँचदलीय गठबन्धनबाट चुनावमा होमिएको भएपनि सरकार बनाउने बेलामा दशदलीय गठबन्धनको सरणमा पुग्यो ।

दशदलीय गठबन्धनबाट सरकारको नेतृत्व गरेको माओवादीले भने यतिखेर आएर दुईवटा नयाँ कामको थालनी गरेको छ । तर, त्यसले सार्थकता पाउँछ कि पाउँदै अहिलेसम्म निश्चित भएको छैन । अहिले माओवादी नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी काण्डलाई उजागर गरेर चर्चा कमाएको छ । चर्चा कमाए तापनि सो काण्डमा मुछिएर फरार रहेका कतिपय व्यक्तिहरुलाई भने अहिलेसम्म पक्राउ गर्न सकेको छैन । यसरी नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका फरार व्यक्तिहरुलाई अहिलेसम्म पक्राउ गरेर कानुनी दायरामा ल्याउन नसक्नुले सर्वासाधारणमा शंका उज्जाएको छ ।

यसरी नक्कली भुटानी शरणार्थी काण्डको किनारा नलगाउँदै बालुवाटार जग्गा हिनामिना प्रकरण ल्याइएको छ । एउटा काण्डको किनारा नलाग्दै बालुवाटार जग्गा प्रकरण ल्याएर नक्कली भुटानी शरणार्थी काण्डलाई ओझेलमा पार्न खोजिएको होइन ? भन्ने प्रश्न आमसर्वसाधारणले गर्न थालेका छन् । उता प्रधानमन्त्रीले ‘अब छिट्टै अन्य भ्रष्टाचारका फाइलहरु पनि खोलिँदै छन्’ भनिरहँदा सत्ता साझेदार ठूलो दल नेपाली काग्रेस र प्रतिपक्षी दल नेकपा एमाले नेतालाई आफ्ना मान्छे पनि पर्ने हुन् कि भन्ने तर्कना पर्न थालेको छ ।

त्यसले गर्दा पनि अहिले प्रचण्ड नेतृत्व सरकारको आयु कतिसम्म रहने हो भन्ने एकिन छैन । अधिकांश ठूला भ्रष्टाचारका फाइलहरु खोलेर सार्वजनिक गर्नु प्रचण्ड नेतृत्व सरकारको कर्तव्य हो । यदि प्रधानमन्त्री प्रचण्डले त्यस्ता भ्रष्टाचारका अन्य फाइलहरु खोलेर सर्वजनिक गर्न सकेनन् भने उनको भनाइ पनि ‘हात्ति आयो, हात्ति आयो फुस्सा’ भनेजस्तै हुने देखिन्छ ।

अहिले नेपाली जनताले नेकपा माओवादी केन्द्रलाई विश्वास गरिरहेका बेला उसको नेतृत्वको सरकारले थालेको काम निष्पक्ष र निडर ढंगले किनारा लागउन सकेन भने उसलाई पनि जनताले विश्वास गर्ने देखिँदैन । जनताको चाहना र आफ्नो भनाइ अनुसारको काम गर्न नसके भविष्यमा माआवादी केन्द्रको पनि सिला खोज्नुपर्ने देखिन्छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले भाषणभन्दा पनि काम गरेर देखाउन जरुरी छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *