प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

राजनीति समाचार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेको छ ।

उनकि पत्नी एवं माओवादी केन्द्रकि सल्लाहकार सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएकी सीताको २०२६ सालमा प्रधानमन्त्री दाहालसँग विवाह भएको थियो ।

विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनि जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।

मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्याएकी थिइन् ।

पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहालले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन् ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय उनि पार्किन्सनलगायत रोगबाट पीडित थिइन् ।

प्रधानमन्त्री दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय छन् ।

सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *