स्थानीय तहको बेथिति रोकिएला ?

राजनीति सम्पादकीय

सम्पादकीय
असारको अन्तिम लागेसँगै स्थानीय तहदेखि प्रदेश संघसम्म असारे विकास धमाधम भइरहेको छ । स्थानीय तहको उद्देश्य भनेको स्थानीय क्षेत्र समस्याको पहिचान र विकास हो । तर, स्थानीय तहमा पछिल्लो समय निकै बेथिति छाएको छ ।

अहिले स्थानीय तहमा असारे विकासको चटारो छ । स्थानीय तहलाई शक्ति पृथकीकरण गरी शक्तिशाली बनाइएको छ । तर संघबाट जाने बजेटमाथि नै हालीमुहाली गरेर बजेट सक्ने काम भएको छ । स्थानीय तहको विकास र समस्या समाधान त परै जाओस्, असारको अन्तिम लागेपछि बजेट सक्दै जाने काम भएको छ । पछिल्लो समय स्थानीय तहमा निकै भ्रष्टाचार र बेथिति छाएको छ ।

स्थानीय तहमा स्थानीय नेता र कार्यकर्ताले आफ्नो दादागिरी देखाउने र शक्ति प्रयोग गर्ने भएका छन् । आफ्नो काम बनाउने, आफ्नो फाइदा लिने र स्थानीय जनताका समस्याहरु नसुन्ने प्रवृत्ति बढेको छ । अझै स्थानीय तह भएपछि जथाभावी कर लगाएर जनतालाई दुख दिने काम भएको छ । अहिले स्थानीय तहमा पनि ‘राजा’ प्रवृत्ति छाएको छ ।

राजनीतिको आडमा ठेक्का लिने, आफ्नो काम बनाउनेदेखि लिएर आफ्ना निकटका कर्मचारी भर्ति गर्ने केन्द्र बनेको छ स्थानीय तह । भ्रष्टाचार पनि उत्तिकै छाएको छ । स्थानीय तहलाई नियन्त्रण र निगरानी गर्ने निकायको पहुँच स्थानीय तहसम्म पुगेको पाइँदैन । केन्द्रमा हुने शक्ति दुरुपयोगको प्रवृत्ति स्थानीय तहमा पनि देखिएको छ ।

स्थानीय तहलाई स्थानीय नेता र कार्यकर्ताले लुटको केन्द्र बनाएका छन् । संघको बजेटमाथि हालीमुहाली गर्ने र आफ्नो स्वार्थ पुरा नभए स्थानीय तहका कर्मचारीमाथि हातपात गर्ने काम पनि हुने गरेको छ । स्थानीय तहको भ्रष्टाचार र बेथितीलाई रोक्न संघले हस्तक्षेप गर्न जरुरी छ । संघको निगरानी र नियन्त्रण स्थानीय तहमा हुन जरुरी छ । नत्र स्थानीय तहमा बेथिति र भ्रष्टाचार अझै बढ्दै जाने देखिन्छ ।
(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *