आर्थिक वर्ष अन्त्यसँगै अर्बौंको हिनामिना

राजनीति समाचार

नेपालमा २०४६ सालयता विभिन्न पार्टीले सरकार सञ्चालन गर्दै आएका छन् । ती पार्टीहरुले अनेक जालझेल र प्रपञ्च रचेर सरकार चलाएर पनि देश र जनताको पक्षमा कुनै दलले माखो मारेको पाइँदैन । दलहरुले सत्ताबाहिर हुँदा जतिसुकै क्रान्तिकारी भाषण गरेपनि सत्तामा पुग्नासाथ परापूर्वकालदेखि चल्दै आएको रितिरिवाजलाई अगाल्दै आएका छन् ।

त्यसको उदाहरण हो, जब आर्थिक वर्षको अन्त्य हुन्छ अनि विकासको नाममा बजेट सिध्याउने काम सुरु हुन्छ । यो चलन कुनै नयाँ होइन, जब नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना भयो तबदेखि यस्तो चलनको सुरुवात भयो । यसले के देखाउँछ भने आफूलाई फाइदा हुने काम जसले थालेको भए पनि राम्रो हुने तर देश र जनतालाई फाइदा हुने काम चाहीं एकले गरेकोे अर्कोले विरोध गर्ने परम्परा नै बसिसकेको छ । किन भने जहिले पनि आर्थिक वर्षको अन्त्य असार मसान्तलाई लक्षित गरी विकास निर्माणको काम गरिन्छ ।

सडक निर्माणदेखि विभिन्न योजना, आयोजनाहरुको काम आर्थिक वर्षको अन्त्यतिर सुरु हुन्छ । लामो समय लगाएर गर्नुपर्ने विकास निर्माणको कामहरु रातारात पानी झरीमा गर्ने गरिन्छ । यसरी महिनौ लाग्ने काम ५, १० दिनमा सक्दा गुणस्तरहीन भइ चाँडै बिग्रिने कारणले दीर्घकालीन विकास निर्माणका काम राम्रो हुन सकेको छैन । वर्षदिन ६ महिना लगाएर गर्नुपर्ने कतिपय कामहरु बजेट सिध्याउने र कमिसन खाने दाउमा रातारात अत्तालिएर गर्दा देशले अर्बौंको घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यसपालि पनि असारको अन्त्यतिर आइपुग्दा विभिन्न विकास निर्माणको नाममा खर्बौंको भुक्तानी गरिएको छ । यसरी रातारात एकैचोटी ठूलो मात्रामा भुक्तानी गरिनुले आर्थिक चलखेल गर्नु नै हो । यदि साच्चिकै विकास निर्माणमा खर्च गरिएको हो भने किन असार मन्तमा आएर यति ठूलो रकमको भुक्तानी हुन्छ ? यसरी एकैचोटी ठूलो रकम भुक्तानी गर्नुभनेको भ्रष्टाचार गर्नु नै हो । यस्ता गम्भीर विषयमा कुनै राजनीतिक दलका शीर्ष नेताहरुले एक शब्द बोलेका छैनन् । सरकारका सम्बन्धित निकायहरुले पनि त्यसप्रति ध्यान दिएको छैन ।

‘जुन जोगी आएपनि कानै चिरेको’ भनेजस्तै जुन पार्टीको सरकार बनेपनि देश र जनताको हितमा काम गर्नुभन्दा कुर्सी र सत्ताको लागि मरिमेट्ने गरेका छन् । त्यसकारण जुनसकै पार्टीको सरकार बनेपनि खाली कमिसन खाने, आफ्नो सत्ता टिकाउने काम बाहेक अन्य गरेको पाइँदैन । पार्टीभित्र जबसम्म सत्ता र स्वार्थको राजनीतिक चलिरहन्छ तबसम्म देशले निकास पाउँदैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *