संघीय मामिला मन्त्रालयमा मन्त्री र कर्मचारीबीच ‘वाक युद्ध’ सुरु

राजनीति समाचार

काठमाडौं । अहिले मन्त्री अमनलाल मोदी र सचिव पुष्करहरि कर्णबीचको टकरावले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भद्रगोल अवस्थामा पुगेको छ । मन्त्री र सचिवबीच भएको मनमुटावको समाचार विभिन्न सञ्चारमाध्यमले उजागर गरिरहेका छन् । मन्त्री र सचिवबीच समन्वयकारी भूमिका नहुँदा कर्मचारी सरुवा, बढुवामासमेत ठूलो असर पर्दै आएको छ । साउन महिना लागेसँगै कर्मचारी सरुवा बढुवाको सिजन सुरु भएको छ ।

उता मन्त्री र सचिवकै कारण कर्मचारी सरुवामा परेपछि कतिपय स्थानीय र प्रदेश मातहतका कार्यालयहरुमा कर्मचारी अभाव भएको छ । उता प्रदेश सरकारले कर्मचारी ऐन ल्याएर लागु गरिसकेको अवस्था छ । तर संघ सरकारले भने निजामती ऐन पनि सार्वजनिक गर्न सकेको छैन । मन्त्री मोदीले कर्मचारी सरुवाको लामो लिस्ट बनाइरहेका छन् । उता विभिन्न पार्टी निकट कर्मचारी संघ, संगठनहरुले पनि आफू निकटका कर्मचारीलाई मालदार ठाउँमा पु¥याउनको लागि लिस्ट तयार गरिराखेका छन् ।

यसरी लिस्ट तयार पारेसँगै कर्मचारी संगठनको नेतालाई मालदार ठाउँमा पठाउनको लागि कर्मचारी नेताहरुले मन्त्रीलाई भेटघाट गर्ने क्रम जारी छ । कर्मचारी सरुवाको लागि मन्त्रीले आफ्नो चाहनाअनुसार लिस्ट तयार गरेका छन् भने सचिव पुष्करहरि कर्णले अर्को लिस्ट तयार गरिराखेका छन् । सचिव कर्ण पनि मन्त्रीभन्दा शक्तिशालीमा गनिन्छन् ।

उनी तराइवासी भएको कारण सचिव बन्न सफल भएका थिए । सचिव कर्ण पनि के कम ‘ताकपरे तिवारी नत्र गोतामे’ भनेजस्तै अवस्था र अवसर हेरी पार्टी परिवर्तन गरिरहन्छन् । त्यसो गरेसँगै उनल े हरेक पटक मालदार ठाउँमा पुगेर करोडौं कमाइसकेका छन् । उनी मन्त्रीभन्दा माथिल्ला नेता र कर्मचारी संगठनका नेताहरुलाई रिझाउन पनि खप्पिस छन् ।

अहिले कर्मचारी संगठनका नेताहरुमध्येमा नेकपा एमाले निकट कर्मचारी संगठनका नेता भोलानाथ पोखरेल, लेखनाथ कोइराला, आरसी अधिकारी, रेवन्त गौतम, जीवन काफ्ले जस्ता कर्मचारी नेताहरुले त मन्त्रालयको बदनामै गरेका छन् । उदाहरणको लागि एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले भए नभएका कुरा बोलेर पार्टीलाई समाप्त पार्ने काम बेलामौकामा गर्दै आएका छन् भने एमाले निकट कर्मचारी नेताहरुले पनि त्यस्तै काम कर्मचारी संगठनभित्र गर्दै आएका छन् ।

उता माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनको त आफ्नै पार्टीको मन्त्री भएकाले कुरै नगरौं । राष्ट्रिय कर्मचारी संगठनको नेताले भनेपछि जे पनि हुन्छ भन्ने उनीहरुमा छ । त्यस्तै नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरु पनि के कम । उनीहरुलाई पनि साउन महिना लागेको छ । कर्मचारी सुरुवामा मोलमोलाइ सुरु गरेकै छ ।

अन्य राजनीतिक दल निकट कर्मचारी संगठनका नेताहरु पनि त्यत्तिकै चलखेलमा व्यस्त छन् । यी र यस्ता कारणले गर्दा अहिले कर्मचारीहरु देश निर्माण र सेवाग्राहीको काम गर्न छाडेर राजनीतितिर लागिपरेका छन् । यसरी कर्मचारीहरु जनताको काम गर्नुपर्नेमा राज्यको तलब भत्ता खाएर राजनीतिमा लागेपछि अधिकांश विकास निर्माणका काम लथालिङ्ग भइरहेका छन् । उता सेवाग्राही भने एउटा काम फत्ते गर्नको लागि हप्तौं धाउनुपर्ने बाध्यतामा छन् । यसप्रति सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *