सरकारी कार्यालयमा कर्मचारीहरु जागिर खाँदै सामान सप्लाई गर्दै

राजनीति समाचार

काठमाडौं । नेपालीमा राजनीतिक दलका नेताभन्दा शक्तिशाली कर्मचारीतन्त्र त्यसै भनिएको रहेन छ । परापूर्वकालदेखि नै नेपालमा ब्यूक्रेसीहरु नै शक्तिशाली हुने रहेछन् । राजनीतिक दलको सरकार भनेको त हात्तीको देखाउने दाँत जस्तै रहेछ । अहिले कर्मचारीतन्त्रले विभिन्न राजनीतिक दलको सरकारलाई माइनसन गर्दै आएका छन् ।

राजनीतिक दलका मन्त्रीहरुले भनेको काम कतिपय कर्मचारीले सही ढंगले गर्दछन् भने कतिपय कर्मचारीहरुले गलत तरिकाले मन्त्रीलाई बद्नाम गर्दै आएका छन् । कर्मचारीतन्त्रले नीतिनियममा टेकेर आफूलाई फाइदा हुने जस्तोसुकै काम गर्दछन् भने आफूलाई फाइदा नहुने काम छ भने मन्त्रीको थाप्लोमा हाल्ने काम गर्दछन् । मन्त्रीहरु भनेका ६ महिनादेखि वर्षदिनको लागि आउँछन् जान्छन् तर कर्मचारीहरु भने वर्षौंसम्म रहन्छन् ।

सरकारी कार्यालयमा जागिर खाएका कर्मचारीले भ्रष्टाचार गरेर अर्बौं रुपैयाँ कमाउँदा पनि उनीहरुको सम्पत्ति छानविन हुँदैन । कर्मचारीहरु जागिरे अवधिभरि देश विदेश घुम्ने, छोराछोरीलाई विदेशमा पढाउने, आफ्नो कार्यालयमा सिजनअनुसार एसी, हिटरलगायत विभिन्न सेवासुविधा भोग गर्ने, सरकारी गाडी र इन्धनको दुरुपयोग गर्ने गर्दछन् । अझ भन्नुपर्दा उच्च पदस्थ कर्मचारीले त आफूले जागिर खाएको कार्यालयमा आवश्यक सामग्री खरिद गर्नसमेत श्रीमान, श्रीमती अथवा छोराछोरीको नाममा विभिन्न कम्पनी खोल्ने र ठेक्कापट्टाको कामदेखि स्टेशनरी सप्लायर्स, छपाइ, ढुवानी, विज्ञापन एजेन्सी र विकास निर्माणको कामसमेत आफ्नो कम्पनी मार्फत गराउने गरेका छन् ।

यसरी सरकारी सेवासुविधा र तलबभत्ता खाने कर्मचारीले दोहोरो, तेहोरो सुविधा लिएर अकुत सम्पत्ति आर्जन गरी सर्वसाधारण र राज्यलाई ठग्दै आएका छन् । त्यति मात्रै होइन उनीहरुले जागिरबाट अवकास पाएपछि विभिन्न संवैधानिक निकायमा राजनीतिक नियुक्ति खाने र विभिन्न कन्सल्टेन्सी खोलेर ठेक्काको कामसमेत हात पार्ने काम गर्दै आएका छन् ।

कर्मचारीले सरकारी सेवाविधा लिएर जागिर खाएपछि देश र जनताको हितमा काम गर्ने कि विभिन्न व्यवसायिक कम्पनी खोलेर व्यवसाय गर्ने त्यस विषयमा सरकारले खोजी गर्नुपर्ने बेला भएको छ । अहिले अधिकांश सरकारी कार्यालयका कर्मचारीहरुले जागिर खाएकै कार्यालयको मातहतका निकायमा ठेक्कपट्टादेखि विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् । त्यसप्रति सम्बन्धित निकायको ध्यान गएको पाइँदैन । तर, यससम्बन्धी समाचार तामाकोशी सन्देशले पटकपटक उजागर गरिसकेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *