हामी १३ औं वर्षमा प्रवेश ग-यौं

विविध सुचना-प्रविधि

कुनै बेला नेपालको पत्रकारिता क्षेत्रमा साप्ताहिक रुपमा प्रकाशित हुने समाचारले प्राथमिकता पाउने गरेको थियो । त्यतिबेला साप्ताहिक पत्रिकाले निर्वाह गरेको अह्म भूमिकाबाट नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको थियो । नेपालमा पूर्ण रुपले प्रजातन्त्र स्थापना भएपछि पत्रकारिता क्षेत्रप्रति मानिसको आकर्षण ह्वात्तै बढ्यो ।

त्यसपछि सञ्चार क्षेत्रमा लगानी गर्नेको ठूलो भीड नै लाग्यो । दैनिक पत्रिका, टेलिभिजन र एफएम रेडियोहरु भटाभट दर्ता भएर सञ्चालनमा आए । केही वर्ष नबिन्दै कतिपय ठूला लगानीमा खोलिएका केही सञ्चारमाध्यमहरु बन्द पनि भए । जुनखालको सपना बोकेर लगानीकर्ता भित्रिएका थिए, त्यसअनुसारको प्रतिफल नपाउने देखेपछि विस्तारै पछि हट्दै गए ।

तर, यस क्षेत्रमा सम्भावना देखेर लगानी गर्ने मिडियाहरु भने स्थापित हुँदै गए । उता, मिसन पत्रकारिता गर्दै आएका साप्ताहिक पत्रिकाहरु विस्तारै खस्किँदै गए । त्यसपछि ठूलो लगानीमा सञ्चालित मिडियाहरु भने व्यापारको रुपमा फस्टाउँदै आए । त्यसको मारमा मिसन पत्रकारिता गर्ने साप्ताहिक पत्रपत्रिकाहरु विस्तारै विस्थापित हुँदै गए । अहिले मिसन पत्रकारिता गर्दै आएका साप्ताहिक पत्रपत्रिकाहरु अधिकांश बन्द भइसकेका छन् । केही प्रकाशित भएका साप्ताहिकहरु पनि बन्द हुने अवस्थामा छन् ।

त्यसको मारमा तामाकोशी सन्देश साप्ताहिक पनि पर्दै गएको छ । विभिन्न आरोहअवरोध पार गर्दै आजबाट १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो १२ वर्षे यात्रामा विभिन्न कठिनाइ पार गर्दै आएको तामाकोशी सन्देश साप्ताहिकले सधैंभरि राजनीतिक दलभित्र हुने गरेका विकृति विसंगतिका र भ्रष्टाचारका विषयलाई दरिलो ढंगले निडर भएर जनता समक्ष समाचार सम्प्रेषण गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार, हत्याहिंसा, बलात्कार र सामाजिक अपराधको विरुद्ध कलम चलाउँदै अगाडि बढ्ने प्रण गर्दछ ।

आफ्नो १२ वर्षे यात्रामा तामाकोशीले देशमा भएका अनियमितता, अत्याचार, भ्रष्टाचार, सामाजिक, राजनीतिक र आर्थिक रुपमा हुने गरेका अपराधविरुद्ध कमल चलाएबापत विभिन्न समस्याहरु नभोगेको होइन । सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणको लागि सधैं निडर भएर लाग्दा आइपरेका समस्याको समाधान गर्न तामाकोशी कहिल्यै पछि परेन ।

आगामी दिनमा पनि यस्ताखाले समस्याबाट पछि नहट्ने प्रतिवद्धता व्यक्त गर्दछ । तामाकोशी सन्देशले सधैं सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न लागि पर्ने छ । तामाकोशी सन्देशमा प्रकाशित समाचारलाई विश्वास गरेर यहाँसम्म ल्याउनको लागि सहयोग गर्ने लेखक, विज्ञापनदाता, शुभचिन्तक र पाठकहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यहाँहरुको सहयोगको अपेक्षा गर्दछ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *