३४३ बिगा जमिनमा शीर्ष नेताको गिद्देदृष्टि

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलभित्र एकअर्काप्रति आरोपप्रत्यारोप चलिरहँदा देश दिनप्रतिदिन भ्रष्टाचारको अखडा बन्दै गएको छ । देशलाई भ्रष्टाचारको अखडा बनाउने काम राजनीतिक दलका शीर्ष नेताहरुले गर्दै आएको देखिन्छ । त्यतिबेला नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा हिनामिनाकाण्ड र सुनतस्करी काण्डमा राजनीतिक दलका जिम्मेवार नेताहरु मुछिइरहँदा सबैको ध्यान गिरिबन्धु टी स्टेटको जग्गा काण्डतिर मोडिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैखाले भ्रष्टाचारका फाइल खोल्छु भनेपछि झापास्थित गिरिबन्धु टी स्टेटको जग्गा काण्ड चर्चामा आएको छ । झापाको विर्तामोडमा रहेको गिरिबन्धु टी स्टेटको ३४३ बिगा मूल्यवान जग्गा अडप्नको लागि भूमाफियाहरुले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालादेखि आँखा गाड्दै आएका थिए । भूमाफियाहरुले सो जग्गामा आँखा गाडे पनि त्यतिबेला भने उनीहरु सफल हुन सकेका थिएन् । त्यसपछि बनेका प्रधानमन्त्री केपी शर्मा वलीलाई समेत प्रभावमा पारेर भूमाफियाहरुले त्यो जग्गा हात पार्न खोजेका थिए ।

झापाको बिर्तामोडमा रहेको गिरिबन्धु टी स्टेटको मूल्यवान जग्गा पृथ्वीनगरमा रहेको सस्तो जग्गासँग साटफेर गरी भूमाफियाहरुले कब्जा गर्न खोजेका थिए । जग्गा कब्जा गर्न तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रयोग गरी २०७८ असार २४ गते भूमि ऐन संशोधन गर्न सफल भएका थिए । राजनीतिक दलको आडमा भूमाफियाहरुले भूमि ऐन नै संशोधन गरेपछि जग्गाको हदबन्दी खुला गरिएको थियो । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल थिइन् ।

अर्याल भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुँदा उनका श्रीमान् लक्ष्मीपति पौडेल भने देशैभर घर जग्गा कारोबारको काम गर्दै आएका थिए । तत्कालीन मन्त्री अर्याललाई भूमाफियाहरुले आफ्नो मिसन पुरा गर्न सहयोग गरेबात ९० लाखको गाडीसमेत उपहार दिएको बताइन्छ । त्योसँगै मन्त्री अर्याललाई भूमाफियाहरुले निजी गाडी पनि किनिदिएको समाचार स्रोतको भनाइ छ ।

अहिले पद्मा अर्यालको गृहजिल्लाको बजार वरिपरि ६ वटा पक्की घर र काठमाडौंका विभिन्न ठाउँमा पनि २, ३ वटा घर रहेकोसमेत बताइन्छ । अर्यालको पहिलाको अवस्था र मन्त्री भएयताको हाउभाउ र सम्पत्ति हेर्दा आकास पातालको फरक भएको गृह जिल्लाकै एमाले कार्यकर्ताहरुले बताउने गरेका छन् । अर्याल देशको भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुँदा श्रीमान लक्ष्मीपति पौडेलले भूमाफियाको काम गर्दै आएको बताइन्छ ।

श्रीमती भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र श्रीमान घरजग्गाको कारोबार गर्ने गरेका कारण अकुत सम्पत्ति कमाएको आरोप एमाले कार्यकर्ताहरुले लगाउने गरेका छन् । तत्कालीन भूमिसुधार सचिवमा केदार न्यौपाने थिए । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल भएपछि न्यौपानेलाई खेलकुद मन्त्रालयमा सरुवा गरेर टेकनारायण पाण्डेलाई सचिवमा ल्याइएको थियो । तिनै पाण्डे अहिले नक्कली भुटानी शरणार्थीकाण्डमा जेल परेका छन् ।

उता झापामा रहेको गिरिबन्धु टी स्टेटको जग्गा हात पार्नको लागि भूमाफियाहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवालाई पनि प्रयोग गरेको बताइन्छ । जग्गा विवादमा परेपछि गिरिबन्धु टी स्टेट बन्द अवस्थामा रहेको छ ।

गिरिबन्धु टी स्टेटको जग्गा पृथ्वीनगरको जग्गामा सट्टाभर्ना गरी विक्रीवितरण खगरेको खण्डमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १ अर्ब रुपैयाँसहित २५ बिगा जग्गा उपलब्ध गराउने आश्वसान भूमाफियाले दिएको बताइन्छ । यसले गर्दा अधिकांश राजनीतिक दलका शीर्ष नेताहरु हरेक घटनामा जोडिने गरेको देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *