प्रहरी सरुवा गर्दै, अपराधी उम्काउँदै

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र सरुवा काण्डले खैलाबैला मच्चिएको छ । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका व्यक्तिलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँदा काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवाली दानबहादुर कार्की र मनोज केसीसहित पाँच जना अधिकारीहरु सरुवामा परेका छन् । तर, मनोज केसी र दानबहादुर कार्कीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डको छानविनमा राम्रो भूमिका निर्वाह गरेको बताइन्छ ।

प्रहरी अधिकृतको सरुवासँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको छानविन अब ओझेलमा पर्ने भएको छ । एआईजी श्यामलाललाई सरुवा गर्नुको कारण नक्कली भुटानी शरणार्थी काण्डका नाइके आङटावा शेर्पालाई पहिल्यै पक्राउ गर्नुपर्नेमा त्यो नगरी सोझै तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गरिएको आरोप छ । त्यस्तै अर्का कांग्रेस नेता सुनिल शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा सिधैं पक्राउ गरिएको उनीमाथि आरोप छ ।

एआईजी श्यामलाल ज्ञवाली र मनोज केसीलाई त्यहीं ठाउँमा राख्दा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा र बालकृष्ण खाँड पत्नी मञ्जु खाँड पनि तानिने भएका थिए । उनीहरुसहित भुटानी शरणार्थी काण्डमा फरार रहेका एमाले नेता रामबहादुर थापा र उनका छोरा प्रतिक थापालगायत अन्य फरार व्यक्तिहरु छानविनमा तानिने भएपछि एआईजी ज्ञवालीलाई सरुवा गरिएको बताइन्छ । यी काण्डले अबका दिनमा नेपालमा पहुँचवालाले जतिसुकै भ्रष्टाचार र अपराध गरेपनि छुट पाउने देखिन्छ । यतिबेला जल्दोबल्दो रुपमा उदायको सय क्वीन्ट सुन काण्ड पनि त्यत्तिकै सेलाउँदै गएको छ ।

उता बालुवाटार जग्गा हिनामिना काण्ड पनि सामसुम हुने भएको छ । न्यायालयले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई छानविन गर्ने आदेश दिए तापनि सीआईबीले उनीहरुलाई घरमै गएर बयान लिएपछि उनीहरु छानविनबाट जोगाइएको छ । उता बालुवाटार जग्गा काण्डमा पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साहलाई पनि पक्राउ गरिएको छैन । अहिले नेपालमा लागुऔषध, हत्या, बलात्कार, मिटरब्याज, चेक बाउन्स, सरकारी जग्गा हिनामिनामा संलग्न, सामाजिक अपराध, डकैती, साइबर क्राईमलगायतका घटनाहरु बढिरहँदा सरकारले त्यसप्रति ध्यान दिएको छैन ।

उल्टै विभिन्न पार्टीका शीर्ष नेता र उनीहरुका श्रीमती छोराहरुलाई जोगाउन लागि प्रहरी अधिकृतहरुलाई सरुवा गरेर रमिता देखाइएको छ । सरकारको साझेदार प्रमुख पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्रीको राजीनामा मागेर विभिन्न काण्डका अपराधीहरुलाई जोगाउने काम गर्दै आएका छन् ।

उता नेपाल प्रहरीभित्र राम्रो काम गर्न खोज्ने प्रहरी अधिकृतहरु कतिबेला कारबाहीमा परिने हो भनेर थर्कमान अवस्था छन् । तर, प्रहरीको नेतृत्व सम्हालेका आईजीपी वसन्त कुँवरले भने विभिन्न आपराधिक काण्डमा मुछिएका व्यक्तिहरु छाविनको दायरामा ल्याएर कारबाही गर्न सकेका छैनन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *