हाइड्रोपावरमा लगानी गर्नेहरु सावधान !

अर्थ/वाणिज्य समाचार

काठमाडौं । कुनै बेला ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी’को नारा दिएर जताततै सहकारी संस्था खोल्नेहरुको बाढी आएको थियो । तिनै सहकारी संस्थाहरुले अहिले अधिकांश सर्वसाधारण जनताको उठिसा लगाएर सञ्चालकहरु मालमाल भएका छन् । सहकारी सञ्चालकहरुले सर्वसाधारणको निक्षेपकर्ताबाट संकलित रकम लगानी मात्रै गरेनन् उनीहरुले जम्मा गरेको पैसासमेत खाएर फरार भए । त्यसैगरी उता हाइड्रोपावर कम्पनी खोल्नेहरुको पनि ठूलै भीड लागेको थियो ।

त्यसरी खोलिएका हाइड्रोपावर कम्पनीहरुले प्रभावित क्षेत्रभित्र र अन्य सर्वसाधारणको लागि छुट्टाछुट्टै साधारण सेयर पनि निश्कासन गर्ने गरेका थिए । कतिपय हाइड्रोपावर कम्पनीहरुले अहिले पनि साधारण सेयर जारी गरिराखेका छन् । हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गरेपछि खरिदको लागि सर्वसाधारणको भीड लाग्ने गर्दछ । त्यसरी सञ्चालन गरिएका हाइड्रोपावर कम्पनीहरुको अवस्था कस्तो छ भनेर सम्बन्धित निकायले अनुगमन गरेको पाइँदैन । सर्वसाधारणको सेयर र अन्य लगानीकर्ताहरुको शेयरको अवस्था के छ भनेर पनि राज्यका सम्बन्धित निकायहरुले चासो देखाएका छैनन् ।

अहिले त्यसको उदाहरण बनेको छ सिन्धुज्वाला हाइड्रोपावर कम्पनी । यो कम्पनी सिन्धुपाल्चोक जिल्लाको नेस्सम खोलामा ४३ मेगावाटको बिजुली उत्पादन गर्ने भनेर सिन्धुज्वाला हाइड्रोपावर कम्पनी खोलिएको थियो । त्यसको सञ्चालकमा तत्कालीन महालेखा परीक्षक बद्रीबहादुर कार्की, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेल, प्रभु अधिकारी र व्यापारी चूर्णबहादुर श्रेष्ठ रहेका थिए ।

उनीहरुले सिन्धुज्वाला हाइड्रोपावर प्रोजेक्टको नाममा सर्वसाधारण सेयरधनीहरुसँग ५५ करोड रुपैयाँ उठाएका थिए । अहिले त्यसरी उठाएको पैसा ठगेर सञ्चालकहरु बेपत्ता भएका छन् । सिन्धुज्वाला हाइड्रोपावर कम्पनीको कार्यालय काठमाडौंको कोटेश्वरस्थित पेरिस डाँडामा रहेको थियो । त्यसको समाचार तामाकोशी सन्देशले वर्ष १२ अंक ३७, २०८० वैशाख २७ गते “झोलामा खोला बोक्नेहरुबाट जताततै ठगीधन्दा” शीर्षकमा प्रकाशित गरेको थियो ।

अहिले सिन्धुज्वाला हाइड्रोपावको कार्यालयमा भित्रबाट ताला लगाएर एकजना पाले मात्रै बस्ने गरेका छन् । उक्त हाइड्रोपावरका अध्यक्ष चूर्णबहादुर श्रेष्ठ र अन्य सञ्चालकहरु भने फरार रहेका छन् । कार्यालयमा एकजना पालेबाहेक अन्य कर्मचारीहरु भेटिँदैनन् । यो कार्यालयमा अन्य कर्मचारीहरु आउँदैनन् भनेर सोध्दा ढोकाभित्रबाट ती पालेले भन्ने गरेका छन्, ‘म एउटा गार्डले तलब नपाएको ६ महिना भइसक्यो भोकभोकै बस्नुपरेको छ’, भनेर ।

उक्त कम्पनीका अध्यक्षले सेयरधनीहरुलाई लगानीको तीन वर्षमै आकर्षक नाफा कमाउन सकिने भनेर प्रलोभन देखाएका थिए । त्यसपछि लगानीकर्ताले पनि लोभिएर लगानी गरिहाले । मुलुकका ठूलावडा व्यक्तिहरुले खोलेको कम्पनी भनेर सर्वसाधारण लगानीकर्ताले न्यूनमत एक लाखभन्दा माथि सेयरमा लगानी गरेका थिए । लगानीकर्ताबाट उठाइएको ५५ करोडमध्ये अहिले कार्यालयमा केही थान थोत्रा टेबुल, कुर्सी र बिग्रिएका कम्प्युटर मात्रै बाँकी रहेका छन् ।

सर्वसाधारण लगानीकर्ताबाट संकलित पैसा सञ्चालकहरुले बाँडेर खाएको बताइन्छ । अन्तिममा आएर ती सञ्चालकहरुले झगडाको नाटक गरी एकले अर्कोलाई पैसा खाएको आरोप लगाउने गरेका छन् । अहिले उक्त कम्पनीमा सबैभन्दा बढी घोटाला गर्ने व्यक्ति चूर्णबहादुर नै हुन् भनिन्छ । चूर्णबहादुरले उल्टै अन्य सञ्चालकलाई घोटाला गरेको दोष लगाएर कम्पनी हत्याउने काम गरेका छन् ।

सेयरधनीहरुले अध्यक्ष चूर्णबहादुरलाई बारम्बार फोन गरेर सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको सेयरधनीहरुले नै बताउने गरेका छन् । पेरिस डाँडास्थित कार्यालयमा रहेका थोत्रा फर्निचरलगायतका सामानहरु पनि यसै साता उनले आफ्नो निवासमा सार्ने र सिन्धुज्वाला हाइड्रोपावर कम्पनीका सम्पूर्ण कागजात नष्ट गरेर कम्पनीको अस्तित्व मेटाउने तयारी गरिरहेको उनी निकट स्रोतको भनाइ छ ।

यसरी सञ्चालकहरु नै भागाभागको स्थितिमा पुगेपछि संस्थापक सर्वसाधार सेयरधनीहरु विचल्लीमा परेका छन् । देशको जिम्मेवार निकायमा बसेर भूमिका निर्वाह गरिसकेका व्यक्तिहरुले नै यसरी ठगीधन्दा सञ्चालन गर्दछन् भने अन्यको त कुरै नगरौं । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *