मन्त्री साहलाई संघीय मन्त्रालय चलाउन हम्मेहम्मे

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले यही भदौ महिनाको अन्त्यसम्ममा कर्मचारी सरुवा गर्नुपर्ने हो । असोज १५ भित्रमा विभिन्न मन्त्रालयले कर्मचारी सरुवा गर्ने चलन छ । तर, मन्त्री छिन् जनमत पार्टीकी कर्मचारी छन् माओवादी निकट । त्यसकारणले पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी सरुवामा लफडा परिराखेको छ । ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै ढंगले मन्त्री साहले सल्लाहकार नियुक्ति गरेकी छिन् ।

त्यहीं पनि कांग्रेस निकट व्यक्तिलाई । ती भाग्यमानी व्यक्ति हुन् बुद्धि न्यौपाने । नाम बुद्धि भएकै कारण उनले यो अवसर पाएको हुनुपर्छ । न्यौपाने झापास्थित कमल गाउँपालिकाको गाउँकमिटि कांग्रेसका सभापति हुन् । त्यस्तै अर्का सहयोगी कर्मचारी रहेका छन् महेश पाण्डे । पाण्डेलाई कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहँदा ५० रुपैयाँ घुस लिएको आरोपसहित कारबाही गरिएको थियो । तत्कालीन कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा अर्जुन पोखरेलल प्रमुख जिल्ला अधिकारीे थिए ।

उनले पाण्डेलाई ५० रुपैयाँ घुस लिएको आरोपमा कारबाही गरेका थिए । पोखरेल अहिले अर्थमन्त्रालयमा सचिव छन् । अहिले सामान्य प्रशासन मन्त्रालयको प्रशासन शाखामा माओवादी निकट कर्मचारीहरुको हालीमुहाली चल्ने गरेको छ । त्यसमा सह–सचिव हेमराज तामाङ, उपसचिव कमानसिंह थापा र नासु गोविन्द फुयाल रहेका छन् । उनीहरु माओवादी निकट कर्मचारीहरु हुन् । तिनीहरुले नै पहिलाको मिति राखेर भटाभट सेटिङ मिलाएर माओवादी निकट कर्मचारीहरुलाई मालदार ठाउँमा पठाउने गरेका छन् ।

तर, मन्त्री शाहलाई भने त्यसको पत्तोफाँट छैन । सामान्यमा एकातिर कांग्रेस निकट कर्मचारीहरुको हालीमुहाली छ भने अर्कोतिर माओवादीको सेटिङ विचारा मन्त्री शाह भने अलमलमा परेकी छन् । सामान्य प्रशासन मन्त्रालयमा अहिले कर्मचारी सरुवामा भाडभैलो मच्चिएको छ । अधिकांश योग्य, इमानदार र निष्ठावान कर्मचारीहरु ओझेलमा पर्ने गरेका छन् । मन्त्रीको कर्मचारी सरुवाको विषयमा खासै ज्ञान नभएको र त्यसको महत्व पनि नबुझेको देखिन्छ । कर्मचारी सरुवा, बढुवामा कानुनी छिद्रको कारण मन्त्री साह अलमलमा परेको पाइन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *