मन्त्रीहरुले तोक्न थाले कर्मचारी सरुवामा दररेट

राजनीति समाचार

काठमाडौं । फेरि कर्मचारी सरुवाको मौसम शुरु भएको छ । मन्त्रीहरुले अरु काम गर्न छाडे । उनीहरुले जानेको भनेको उही कर्मचारी सरुवा हो । अहिले अधिकांश मन्त्रालयमा दर रेटै तोकेर कर्मचारी चलाउन लागेका छन् । यस्तो धन्दा सामान्य प्रशासन,अर्थ,भौतिक हुँदै खानेपानी मन्त्रालयमा समेत देखिएको छ । काँग्रेसका सांसद प्रदीप पौडेल निकटका कर्मचारीका रुपमा चिनिएका रमाकान्त दुवाडी सरुवामा परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै प्रदीप पौडेलहरुको जोडबलमा तत्कालीन खानेपानी मन्त्रीमार्फत मोटो रकम बुझाएर खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकको कुर्सीमा पुगेका दुवाडी त्यहाँबाट विराटनगरतिर खेदिएका हुन ।

श्रेष्ठ विभागको २७ औं महानिर्देशकको रुपमा विभाग सम्हाल्न पुगेका हुन । ०२९ सालमा खानेपानी तथा ढल निकास विभाग स्थापना भएपछि विभागमा यस अघि २६ जना महानिर्देशक परिवर्तन भइसकेको छ । दुवाडीको ठाउँमा मेलम्ची खानेपानी विकास समितिबाट कमलराज श्रेष्ठलाई पठाइँदा रमाकान्त दुवाडीलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर पु¥याइएको छ । दुवाडी अध्ययन बिदामा बस्न लागेको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै दुवाडीलाई विराटनगरमा पठाइँदा त्यहाँका सुरत बमलाई मेलम्ची खानेपानी विकास समितिको उप कार्यकारी निर्देशकको जिम्मेवारी दिएर पठाइएको छ । सरुवाको सूची अनुसार बाल मुकुन्द श्रेष्ठलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेत, रामचन्द्र काफ्लेलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल, उज्ज्वल प्रजापतिलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडा सरुवा गरिएको छ । त्यस्तै मन्त्रालयका जक्की अहमदलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर सरुवा गरिएको छ ।

उता अर्काे रमाइलो छ,प्रकाश ज्वालाको मन्त्रालयमा समाजवादीका मन्त्री छन् तर मालदार विभागमा काँग्रेसी कर्मचारीहरुले नियुक्ति पड्काए पछि समाजवादीकै कर्मचारीहरु मन्त्रीसँग फायर हुन थालेका छन् । मन्त्री ज्वालाका भतिज सन्तोष विसी,भाञ्जा जीवन बिसी र नीजि सचिव रामहरि शर्माहरुको सेटिङमा भेटी बुझाउने काँग्रेसी कर्मचारीहरुलाई मालदार ठाउँमा खटन पटन गरिएको छ । भौतिक मन्त्रालयले एकै पटक ७० कर्मचारीहरु चलाउँदा काँग्रेसी कर्मचारीहरुलाई छानी छानी कमाउ अड्डामा खटाइएको भेटिएको छ ।शंकर वैरागी र कृष्णहरि पुष्करका पार्टनरका रुपमा चिनिएका ललिजन खनाल पोखराबाट सडक विभागमा पुगेका छन्,उनलाई सडक विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा आइपुगेका छन् ।

पछिल्लो सरुवामा समेत काँग्रेस निकटकै कर्मचारीहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । मन्त्रालयले सहसचिव तहका ९ जना सुपरिटेन्डेन्ट इन्जिनियर र ६१ जना उपसचिव तहका सीडीईको खटन पटन गर्दा कसैको माथैमाथ कसैको पुर्पुरोमा हात बनाइएको हो ।उक्त सरुवा हुँदा कोही पावरफुल कर्मचारी एक महिनामै सरुवामा परेका छन् त कोही चार महिनामै सरुवामा परेका छन् । शक्तिकेन्द्रसँग नजिक भएका कर्मचारीहरु ठूला आयोजनाबाट ठुलै आयोजनातिर पुगेका छन् । समाजवादीको यो मन्त्रालयमा काँग्रेस निकटका कर्मचारीहरुले विशेष लाभ उठाउन सफल भएका छन् । पूर्व अध्यक्ष सुवोध देवकोटा ठूला आयोजनाबाट आयोजनातिरै पुगेका छन् । उनी अधिकांश ठूला आयोजनामा बसेर लाभ उठाउने कर्मचारीका रुपमा चिनिन्छन् ।

मन्त्रालय निकट स्रोतका अनुसार काँग्रसी निकट कर्मचारी युनियनका नेता सुबोधकुमार देवकोटा मदन भण्डारी दमकबाट सडक डिभिजन नुवाकोटमा पुगेका छन् । उनी सदैव सडकका मालदार कार्यालयमा बसेर तर मार्दै आएका कर्मचारीभित्र पर्दछन् । उनलाई दमकबाट नुवाकोटमा पठाइँदा मुड्खु तिनपिप्ले रानीपौवा पिपलटार सडकको थप योजनाको जिम्मेवारी दिइएर खटाइएको छ । यस्तै भौतिक मन्त्रालयका कर्मचारी युनियनका विभागीय कार्यसमिति अध्यक्ष खुमबहादुर भण्डारीलाई सुर्खेत सडक डिभिजनको निमित्त प्रमुख, युनियनका नेता नेत्रप्रसाद देबकोटालाई शहिदमार्ग रोल्पाको निमित्त प्रमुख बनाइएको छ । जबकि निजामती सेवा ऐन अनुसार कार्यसमिति अध्यक्ष कार्यालय प्रमुख हुन मिल्दैन ।अब महालेखाले लेखाको कर्मचारीहरु खटन पटन गर्दैछ । त्यसमा हरि रावल लगायतका कर्मचारीहरुले कमाउने सिजन शुरु हुन लाग्यो भनिन्छ ।

उता सामान्य प्रशासनमा झनै गडबडी रहेको कर्मचारीहरु सुनाउँछन् । मन्त्रालय जनमतको,सिके राउतको दूतका रुपमा त्यहाँ काँगे्रस स्थानीय तहका अध्यक्ष बुद्धिराज न्यौपानेलाई अवैतनिक सल्लाहकारको जिम्मेवारी दिइएको छ । न्यौपानेले महानगर, नगर र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा हुन चाहनेहरुसँग दररेट तय गर्दै होटल र क्याफेमा बोलाउँदै डिल गर्ने गरेका छन् । कर्मचारी खोज्ने काम चाहिँ उत्तम कटुवालहरुले गर्दै आएका छन् भनिन्छ । स्थानीय तहमा जाने कर्मचारीसँग कम्तिमा ५ लाखको दररेटै तोकेर सरुवा गरिएको कर्मचारीहरुले बताउँदै आएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *