धर्म र संस्कारले घरपरिवारलाई बाँधेर राख्ने भएकाले धर्म र संस्कार बिना घरपरिवार चलाउन कठिन हुन्छ । राष्ट्रको सन्दर्भमा पनि यहि नै लागु हुन्छ किनकि धेरै घरपरिवारहरु मिलेर गाउँ, सहर र राष्ट्र बनेको हुन्छ । नेपालमा लगभग ६० लाख घरपरिवार छन र धेरैले सनातनी हिन्दूधर्म र हिन्दू संस्कार नै ग्रहण गरेको पाईन्छ । जुन धर्म संस्कार नेपाली जनताका पितापुर्खाले मान्दै आएकाछन त्यहि नै सनातनी हिन्दूधर्म हो । सूर्य, चन्द्र, आकास, पृथ्बी, जल, वायु, थल आदिलाई सनातनी हिन्दूधर्मालम्बीहरुले भगवानको स्वरुप मान्ने गरेकाछन ।
यस्तो सनातनी हिन्दूधर्म मान्ने नेपाली जनता लगभग ८५ प्रतिशत छन । सनातनी हिन्दूधर्म बाहेक अन्य धर्म मान्नेहरुलाई पनि नेपालमा सम्मानको साथ राम्रो व्यवहार गरिन्छ । तसर्थ नेपालमा धार्मिक द्वान्द्व कहिले पनि भएको छैन । नेपालमा दलहरुले सत्ता सम्हाले पछि धार्मिक द्वन्द्वलाई भड्काउन खोजेको महशुस यदाकदा हुन्छ । सर्वप्रथम त दलहरुले नेपाल राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र संबिधान मार्फत घोषणा गरी धार्मिक द्वन्द्वको बीज रोपेका छन । नेपाललाई संसार भर विश्वको एक मात्र सनातनी हिन्दूराष्ट्रको रुपमा चिनिएको थियो ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेपछि विश्वको एक मात्र सनातनी हिन्दूराष्ट्रको पहिचानलाई गुमाएको छ । नेपाल सनातनी हिन्दूधर्मको उद्गमसथल भएको र नेपालमा स्वर्गमा बस्ने देबी देबताहरुले पनि निवास गरेको हुँदा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनु सोह्रैआना गलत छ भनी ठोकुवा गर्न सकिन्छ । मूक्तिक्षेत्र, बराहक्षेत्र, लुम्बिनी, पशुपति नाथ भएको नेपाललाई कुनै पनि हालतमा धर्मनिरपेक्ष राष्ट्र बनाउन मिल्दैन । दलहरुले विदेशीको दबाबमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र त बनायो तर यो कुरा दलहरु कै लागि न्याउरी मारी पछुतो हुनेवाला छ ।
दलहरुले नेपाल राष्ट्रलाई जबर्जस्ती धर्मनिरपेक्ष राष्ट्र बनाए पछि पनि बिदेशीको चित्त नबुझे पछि दलका शीर्ष नेताहरु नै ईसाई धर्मको प्रचार प्रसारमा लाग्नु झनै संका उपसंका बढाएको छ । जबरजस्ती धर्मपरिवर्तन गर्ने गराउने घटनाहरु संघिय र गाणतान्त्रिक काल खण्डमा निकै बढेको अनुभूति नेपाली जनतालाई भएको छ । चर्चको संख्याहरु गरिब सोझा नेपाली जनताहरुको बसोबास भएको इलाकाहरुमा बढेका पाईन्छ भने बहकाएर वा फुस्लाएर ईसाई बनाएकाहरुको संख्यामा बृद्धि भएको छ ।
नेपालमा सनातनी देखि नै ईसाई भएकाहरु कोही छैन जो छन सबै नेपालमा नै धर्म परिवर्तन गरी बने बनाएकाहरु मात्रै छन । दलका नेताहरुको धर्म परिवर्तन गर्ने गराउने हर्कत दलहरु कै लागि कालन्तरमा महंगो साबित हुने भएको छ । नेपाल राष्ट्र र नेपाली जनता अब धर्मनिरपेक्ष राष्ट्र भएर धेरै लामो बस्न सक्दैन । नेपालको सनातनी हिन्दूधर्म र संस्कारले नेपाली जनतालाई गोलबन्द पारी जोडी राखेको छ । नेपाली जनताको घरपरिवार, गाउँ, सहर र राष्ट्र त्यसरी नै बनेका छन । राजतंत्र पनि सनातनी हिन्दूधर्मको एक अभिन्न अंग हो । त्यही राजतंत्रलाई हटाएर दलहरुले नेपालबाट सनातनी हिन्दूधर्मलाई समाप्त पार्न खोजेका छन ।
हुँदा हुँदा दलहरुले नेपाली शव्दकोष बाटै ओम शव्दलाई हटाउने प्रयास थाले पछि त्यसको न्यायिक प्रतिकार नेपाली जनताबाट भएको छ । दलहरु नेपालमा गर्न खोजेका परिवर्तनहरु सारभूत रुपमा गर्न नसकेपछि सनातनी हिन्दूधर्मको आधारको रुपमा रहेको ओमकार शव्द माथि नै पापी दलका नेताहरुको कूदृष्टि परेको छ । दलका नेताहरु अब नसच्चिने भएकाले नेपालको खाएर बिदेशीको सेवा, भजन र कीर्तन गर्दै हिडेकाछन । नेपाली हुँ भन्ने दलका नेताहरु सित अलिकती पनि लाज सरम छैन त्यसैले जुन भाँडोमा खायो त्यसैमा मुख चुठेर प्वाल पार्दै हिंडेका छन । यस्ता नियम कानुन नमान्ने र धर्म पनि नभएका दलका नेताहरुले राष्ट्रको बिकास गर्छन र नेपाल राष्ट्रलाई समृद्ध बनाएर नेपाली जनतालाई सुखी तुल्याउँछन भनी कहिले पनि पत्याउन सकिन्न ।
दलका नेताहरुले अहिले सम्म हामी गर्छौ भनी नेपाली जनताको सामु खाएको कसम अनुसारको कार्य एउटा पनि पुरा गरेका छैनन् । बिदेशीको एजेन्डाहरुलाई बोकेर हिंडेका नेपालका राजनीतिक दलहरुले आफैले अगाडि सारेका एजेण्डहरुलाई थन्काएका छन भने बिदेशीका नेपाल र नेपाली जनता बिरोधी एजेण्डाहरुलाई प्राथमिकताको साथ अगाडि बढाएका छन । दलका नेताहरु यसरी बिदेशीको भतुवा बन्दै हिंडेपछि नेपाली जनता र नेपाल राष्ट्रका हित हुने परियोजनाहरु सबै ओझेलमा परेकाछन ।
बिदेशीले नेपालमा परियोजनाहरु, राष्ट्रिय गैरसरकारी संस्थाहरु, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, कूटनीतिक नियोगहरु र बिदेशी बैंकहरु मार्फत नेपालको बिकास र राजनीतिमा लगातार आक्रमण गरी प्रभावित तुल्याउने कामहरु भएकाछन । धर्मनिरपेक्षता पनि बिदेशीले नेपाल राष्ट्रलाई बिखण्डन पार्नको लागि अगाडि सारेको खतरनाक चाल हो । दलका नेताहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई त्यसको सिकार बन्नबाट रोक्नु भन्दा पनि त्यसलाई दलिय स्वार्थ पुरा गर्ने हिसाबमा परिचालन गर्दै आएका छन ।
अमेरिकी एमसीसी परियोजनाको स्वीकार पनि दलका नेताहरुले नेपालमा अमेरिकी स्वार्थ र प्रभावलाई फैलाउन र निरन्तरता दिन कै लागि तादम्य मिलाएका हुन् । नत्र भने सात दशक लामो बिदेशी सहायताले फेर्न नसकेको नेपाल राष्ट्रको मुहार अमेरिकी परियोजना एमसीसीले ५ बर्षमा नै पुरा हुन्छ भन्ने कुरा पत्यार लाग्दो पटक्कै छैन । दलका नेताहरुको यस्तै राष्ट्र बिरोधी काम कार्यबाहीहरुले गर्दा नेपाली जनताको बिश्वास गुमाउँदै गएका छन । बिस्तारै दलहरुको शासन सत्ता बिरुद्ध जन आन्दोलनहरु चर्किन थालेका छन । राजा र राजतंत्रवादीहरुलाई निषेध गर्दै नेपालको राजनीतिलाई अगाडि बढाएका दलहरु माथि अब बिस्तारै जनदबाब बढ्न थालेको छ ।
राजा र राजतंत्रवादीहरुलाई पनि साथै लिएर नेपालको राजनीतिमा अगाडि बढ्नु पर्ने परिस्थिति बन्दै गएको देखिन्छ । दलहरुले भ्रम फैलाएर सत्ता कव्जा गरेको र नेपाल राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाएर सनातनी हिन्दूधर्मलाई अन्य धर्म सरह बनाएको कुरा बल्ल बुझ्दै छन । भारत सरकारको रोहवरमा भएको १२ बुँदे दोस्रो दिल्ली सम्झौतामा पनि राजतंत्र र हिन्दूराष्ट्र हटाउने बारे कतै उल्लेख गरिएको छैन । त्यस्तै सात दलले राजा सित गरेको ५ बुँदे सम्झौतामा पनि त्यस्तो कुरा कतै उल्लेख भएको छैन ।
सम्झौतामा उल्लेख भएको सत्यनिरुपन तथा मेलमिलाप बारे कुनै उल्लेख्य प्रगति गर्न नसकेको दलहरुले राष्ट्रको एकता र राष्ट्रियता नै खलबलिने बिषयहरु भने तदारुकताको साथ पुरा गरेका छन । यथा स्थितिमा नेपाल राष्ट्र अब धेरै अगाडि चल्न नसक्ने कुरा ऐनामा हेरेको झै छर्लंग नै भइसकेका छन । दलहरुलाई बिदेशीले अनुदान दिएर अब धेरै सत्तामा टिकाउन सक्दैन । आर्थिक संकटको चपेटाम परेको नेपालमा अब दलका नेताहरुले राष्ट्रिय ऋण गरी गरी घीउ पीउन सक्ने अवस्था पनि छैन ।
दलहरु यतिबेला आँत्तिएको हुनुपर्छ किनकि आर्थिक संकटले प्रदेश खारेज गर्नु पर्ने अवस्था आएमा दलका राजनीतिक कार्यकर्ताहरुले नै आफ्नो पेट भर्न नपाएपछि माउ पार्टी माथि नै दबाब बढाउने छन । जताबाट पनि दलका नेताहरु बच्ने देखिन्न र घोर संकट दलका नेताहरु माथि आउने निश्चित नै भएको देखिन्छ । अर्को तिर नेपाली जनता दलका नेताहरुको असली अनुहार चिनेपछि विस्तारै ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा पारो छ’ भन्न थालेका छन । काठमान्डौ उपत्यका बाहिर टाढाको कुरा के गर्नु यहि काठमान्डौ खाल्डोमा पर्ने भक्तपुरमा नै राजाको पक्षमा उर्लिएको जनसागर दलका नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्ने खालको नै थियो । कमजोर दील भएका दलका नेताहरुको लागि सोसमचार र दृश्य मुटु फेल गराउन सक्ने हिसाबको नै थियो ।
राजा र पञ्चहरुले भन्दा राम्रो काम गरी नेपाली जनतालाई देखाउन नसके पछि नेपाली जनताको दलहरु प्रतिको मोह भंग भएको हो । दलहरु पनि हतास भएका छन किनकि ३४ बर्ष लामो अवधि सम्म नेपालमा राज गर्दापनि एउटा देखाउन मिल्ने परियोजना बनाउन सकेका छैनन् । राजा र पञ्चहरुलाई नराम्रो देखाउने गरी एउटा पनि राम्रो काम अहिले सम्म दलहरुले गरेको सिला खोज्दा पनि भेटाउन सकिन्न । त्यसले दलहरु मथि राजा र पञ्चहरुको पलटवार भारी पर्दै गएको छ । नेपाली जनता पनि दलहरुको आचरण र काम कार्यवाही देखि निरास भएर राजनीतिक परिवर्तनको लागि राजा र राजतंत्रवादीहरुलाई विकल्पको रुपमा स्वीकार गरेका छन् ।
सनातनी हिन्दूराष्ट्र र राजतंत्रलाई हटाए पछि दलहरुले राम्रो काम गरी देखाएको भए नेपाली जनताले दलहरुलाई साथ लगातार दिने थए । तर नेपालमा स्थिति उल्टो भयो किनकि दलका नेताहरु ठुला ठुला भ्रष्टाचार काण्डहरुमा मुछिएपछि नेपाली जनता दलहरुको साथ छोड्न लागि बाध्य भए । नेपालमा कानुनी राज नभएकाले र दलका नेताहरु भ्रष्ट भएकाले गर्दा नेपालको स्वतंत्र बजार अर्थतंत्र ध्वस्त भएर आर्थिक संकटको कारण बन्न पुग्यो । यो सबै आर्थिक राजनीतिक र समाजिक परिस्थितिलाई हेर्दा नेपाल राजनीतिक परिवार्तनको संघारमा पुगेको महशुस हुन्छ । यस्तो अवस्थालाई दलहरुले केही समय टाल्न वा टार्न सके पनि संधैको लागि टार्न सक्ने अवस्था भने नेपालमा विद्यमान छैन ।