माओवादी निकटसँगै तीन कर्मचारीको चुरीफुरी

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट रहेका कर्मचारीहरुको नालीबेली तामाकोशीसन्देशले फेला पारेको छ । रामप्रसाद लुइँटेल र झम्कनाथ ढकालको चुरिफुरीले कर्मचारी वृत्तमा तरंग सिर्जना गरेको छ । तत्कालीन माओवादी सरकारको पालामा रामप्रसाद लुइँटेल र झम्कनाथ ढकालले माओवादीको नाममा कमाउधन्दा चलाएका थिए । अहिले पनि त्यो परिपाटी चलिनै रहेको छ । झम्कनाथ ढकाल कहिले एयरपोर्ट, कहिले अध्यागमन विभाग, कहिले महानगरपालिकाको उप–कार्यकारी, कहिले सामान्य प्रशासन सन्त्रालयको कर्मचारी प्रशासनमा बसेर अकुत सम्पत्ती कमाएको आरोप लागिरहेको छ ।

यी दुईमध्ये झम्कनाथ ढकाल अहिले पनि एयरपोर्टमै कार्यरत छन् । ढकालले अधिकांश नेपालीहरुलाई विदेश पठाउने नाममा विचौलिया खटाएर एयरपोर्ट समितिको नाममा अकुत पैसा उठाएको आरोप छ । हुन त झम्कनाथ माओवादी निकट भएर द्वन्द्वकालमा लुकीछिपी कर्मचारी संगठन गठन गरेका व्यक्ति हुन् । अहिले झम्कनाथ माओवादीको आडमा अर्बपति बनेका छन् । उनका दाजु अमरनाथ ढकाल पनि माओवादीमा लागेकै कारण हुलाक सेवा विभागबाट जागिर छाड्नुपरेको थियो । ढकालले तत्कालीन माओवादी सरकारको पालामा पाल्पा मालपोत कार्यालयमा आफूले छोडेको जागिर जोडेर पेन्सन पकाएका थिए ।

निजामती सेवकाको जागिरसँगै ढकालले विज्ञापन एजेन्सी पनि सञ्चालन गरेका थिए । उनले जागिरबाट अवकाश पाएपछि विभिन्न मन्त्रालय धाउने र कर्मचारी सरुवाबढुवाको खेलोफड्नो गरिरहेको पनि बताइन्छ । अहिलेपनि कतिपय कर्मचारीले अमरनाथ ढकाललाई पुराना कर्मचारी भनेर सम्मान गर्ने गरेको पाइन्छ । कतिपय कर्मचारीले ढकाल फटाहा हुन् भन्ने पनि गरेका छन् । उता, अर्का माओवादी निकट कर्मचारी रामप्रसाद लुइँटेलको नालीबेली छुट्टै छ । लुइँटेल हेर्दा सिधा र भलाद्मी देखिन्छन् । तर, गफमा मन्त्रमुग्द बनाएर जस्तोसुकै मै हुँ भन्ने व्यक्तिलाई पनि आफ्नो बसमा पार्न माहिर खेलाडी भनेर चिनिन्छन् । मीठो गफकै कारण सधैं कमाउ अड्डामा बस्न सफल हुन्छन् । लुइँटेल प्रायःजसो उद्योग मन्त्रालय र उद्योग विभागमा बस्न सफल भएका छन् ।

लुइँटेलले ओखलढुङ्गा जिल्लाको सहायक सिडियो भएर पनि काम गरेका थिए । ओखलढुंगा जिल्लाको सिडियोपछि उनी सिधैं उद्योग मन्त्रालय आए । उद्योग मन्त्रालबाट फेरि उद्योग विभाग पुगेका थिए । उद्योग विभागमा बस्दा उनले तत्कालीन डिजी रामचन्द्र तिवारीलाई हटाउन लभिङ गरेका थिए । डिजीले उनको हर्कत थाहा पाएपछि लुइँटेललाई उद्योग विभागकै ट्रेडमार्क शाखामा सरुवा गरिएका थिए । त्यसपछि उनी अहिले माओवादी नेताको सोर्सफोर्स र राष्ट्रिय कर्मचारी संगठनको जोडबलमा राजश्व अनुसन्धान कार्यालय इटहरी पुगेका छन् । लुईँटेलले इटहरिको राजश्व प्रशासनमा पुगेपछि विभिन्न व्यापारी, उद्योगीसँगहरु पैसा असुल्दै आएको एक व्यापारीले तामाकोशी सन्देशसँग गुनासो गरेका थिए ।

यस सम्बन्धमा तामाकोशीसन्देशका संवावदाताले लुइँटेलसँग बुझ्न खोज्दा ‘अहिले मलाई ज्वरो आएको छ, पछि कुरा गर्छु’ भन्दै फोन राखिदिएका थिए । कुनै कर्मचारी राजनीति शक्तिको आडमा कमाउ धन्दामा लाग्छन्, कुनै कर्मचारी राष्ट्र र राष्ट्रियताप्रति इमान्दार भएर काम गरिरहेका हुन्छन् । तर, वास्तवमा इमानदारपूर्वक सेवाग्राहीको काम गर्ने कर्मचारीहरुले न्याय पाउने गरेका छैनन् । इमानदार कर्मचारीलाई राम्रो काम गरेबापत स्यावासी दिनु त परै जाओस्, उल्टै विभिन्न दलका नेता र कर्मचारी संगठनले अन्यत्र सरुवा गरी पेन्डुलममा राख्ने गरेको पीडितहरुको गुनासो छ ।

त्यस्तै एमाले निकट कर्मचारी संगठनका उपाध्यक्ष रेवन्त गौतमको नालीबेली त सार्वजनिक गरेर साध्यै छैन । रेवन्त त प्रधानमन्त्री भन्दा पनि व्यस्त रहने गरेका छन् । प्रायःजसो देश दौडामा हिड्ने र सधैंभरि मिटिङको गफ दिने, महिनामा एक दिन हाटा गर्ने र छोराछोरीको स्याहारसुसार घरमा बस्ने गर्दै आएका छन् । किन कि श्रीमती जागिरे भएका कारणले पनि उनी कहिल्यै अफिस जाँदैनन् । रेवन्तको दरबन्दी पनि कुन मन्त्रालयको कुन शाखा हो भन्ने कुरा पनि कतिपय कर्मचारीलाई जानकारी छैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *