तीनमन्त्रीको कारण सरकार असफल बन्दै

राजनीति समाचार

भौतिकमा इन्जीनियर सरुवामा १० लाख
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गत भदौ २६ गते विभिन्न आयोजनादेखि योजना प्रमुखहरुको सरुवा गरेर आर्थिक लाभ लिएको बताइन्छ । कर्मचारी सरुवा गरेर उनी प्रधानमन्त्रीको भ्रमणको मौका छोपी चीन गएका थिए । मन्त्री ज्वाला चीनबाट नेपाल फर्किएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा इन्जिनियरहरुको सरुवाको तयारी गर्दै छन् । तर, विभिन्न राजनीतिक दल निकट संघ, संगठनका नेताहरुको विवादले गर्दा केही ढिलासुस्ती भएको छ ।

आज या भोलि इन्जिनियरहरुको सरुवा हुने पक्कापक्की जस्तै छ । तर, मन्त्रीका स्वकीय सचिव र कर्मचारी नेताहरुबीच भागबन्डा नमिल्दा केही ढिलाई हुने आशंका छ । मन्त्री ज्वालाको सचिवालयमा इन्जिनियर सरुवाको लागि तीन जना व्यक्तिहरुको हावी भएको देखिन्छ । सन्तोष विसी, जीवन विसी र डिवी बुढा रहेका छन् । यी तीन व्यक्ति र महानिर्देशक सुशिलबाबु ढकालको कुरा नमिल्दा इन्जिनियरहरुको सरुवामा ढिलाइ भएको छ । कतिपय इन्जिनियरहरुले ठूला मालदार आयोजनामा जानको लागि १० रुपैयाँको खेलोफड्को भएको बताएका छन् । अन्य आयोजनामा जाने इन्जिनियरहरुसँग प्रतिव्यक्ति ५ लाख रुपैयाँको चलखेल भएको बताइन्छ ।

त्यस्तै कतिपय कर्मचारी युनियनका नेताहरुले पनि आफ्नो संगठन निकट इन्जिनियरहरुलाई मालदार ठाउँमा पठाउनको लागि मोलमोलाइ गरिरहेका छन् । इन्जिनियर सरुवाको लागि सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई भेटेर आ–आफ्नो संगठनको कर्मचारी मालदार ठाउँमा पठाउनको लागि लभिङ गरिरहेका छन् । उता, मन्त्री ज्वाला इन्जिनियर सरुवाको लागि आफूले छुट्टै योजना बनाउँदै छन् । कर्मचारी सरुवामा मन्त्री ज्वाला र उनका आसेपासेहरुको लडाइँले गर्दा इन्जिनियर सरुवामा भद्रगोल भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयजस्तो विकास निर्माणको महत्वपूर्ण ठाउँमा दाम र चाकडीको भरमा सरुवा हुने भएपछि कसरी देशको विकास हुन्छ ? मन्त्री ज्वालाको चर्चा पहिला जति राम्रो थियो, त्यो साख उनले आफ्नै कारण गुमाउँदै गएका छन् । सबैभन्दा विवादित मन्त्रलयमा भौतिक पूर्वाधार तथा यातायात गनिएको छ । मन्त्री ज्वालादेखि उनका सहयोगी पीएहरुले ६१ जना कर्मचारी सरुवा गर्दा ठाउँ हेरी ४० देखि ५० लाखसम्म घुस नलिएको ठाउँ छैन भन्ने स्रोतको भनाइ छ । कर्मचारी सरुवामा मन्त्री ज्वाला त बद्नाम भए, भए उता भर्खरै जन्मिएको नेकपा एस पार्टीपनि अछुतो रहेन ।

एस पार्टीबाटै कृषि मन्त्री भएका बेदुराम भुसालले आशा गरिएअनुसारको काम गर्न सकेका छैनन् । देशमा खड्किएको कृषि उत्पादन सम्बन्धी काम गर्न नसक्दा उनी पनि विवादित बन्दै गएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री उद्योगमन्त्री बनेका रमेश रिजालले पनि उद्योगधन्दालाई चलायमान बनाउन नसकेको आरोप लागिरहेको छ । मन्त्री रिजालले अधिकांश उद्योगी व्यापारीबाट पार्टी र व्यक्तिको नाममा उठाउधन्दा चलाएको आरोप लाग्ने गरेको छ । मन्त्री रिजालले औषधि व्यवस्था विभागदेखि बालाजु औद्योगिक क्षेत्रलगायत विभिन्न उद्योगधन्दा चलायमान बनाउन नसकेको कर्मचारीहरुको गुनासो छ ।

त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि नेपालको अर्थतन्त्र सुध्रिँदै गएको भनिरहँदा अधिकांश क्षेत्रमा अर्थमन्त्रालयले बजेट निकासा नगरेको गुनासो आइरहेको छ । अर्थकै कारण निर्माण व्यवसायीहरुले गत वर्षको भुक्तानी नपाएको गुनासो गरिरहेका छन् । नेपालीहरुको महान चाडा नजिकिँदै गर्दा अधिकांश संघ, संगठनका कर्मचारीहरुले तलबसमेत खान नपाएको बताइरहेका छन् । अर्थतन्त्रकै कारणले गर्दा उद्योगधन्दादेखि व्यापार व्यवसाय ठप्प जस्तै भएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *