दोलखाको सुनखानीमा नीलकमल

राजनीति लेख समाचार

‘सुन’ भन्नासाथ ‘तस्करी’ भन्ने भाष्य निर्माण भएको छ । हामीले ‘सुन’ तोलामा मात्र सुनेका थियौं । अहिले किलो होइन क्विन्टील पो बरामद हुन थाल्यो । राजधानीमा फेला पर्ने सुनदोलखातिर पनिभेट्न थाल्यो । आजभोली दोलखा र सुन पर्यायवाची हुन् की क्या हो जस्तो भैसक्यो । तर आज त्यो पँहेलो धातु सुनको चर्चा गर्न खोजेको होइन । दोलखामा सुनखानी भन्ने ठाउँ छ । त्यहाँको एक असल कामको बारेमा चर्चा गर्न खोजिएको छ ।

सुनखानीमा नीलकमल
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानीमा केही हप्ता अघि एक कार्यक्रममा जाने मौका मिलेको थियो । वडाको केन्द्र नजिकै एक कृषि सहकारीको भवन देखियो । नीलकमल कृषि सहकारी रहेछ । कृषि, सहकारी र वन भन्नासाथ अलि वढि चासो लाग्दछ । कृषि त्यसमा पनि सहकारी भए पछि चासो नलाग्ने कुरै भएन ।

नीलकमल कृषि सहकारीका संस्थापक अध्यक्ष टहल आचार्यसँग कुराकानी भयो । कार्यालय भवनमा पुगियो । मेरो पहिलो प्रश्न थियो नाम कृषि होला काम त बचत उठाउने ऋण लगाउने त होलानी ? आचार्यले ठाडै प्रतिवाद गर्दै ‘लु हेर्नुस्’ भन्दै प्रशोधित कफिको एक आकर्षक प्याकेट देखाउनु भयो । उत्पादकको नाममा नीलकमल कृषि सहकारी संस्था सुनखानी भनि लेखिएको रहेछ ।

फ्रेस्को हिमालय कफि नेपालले कफि प्रशोधन गरी बजारमा लगेको रहेछ । त्यस कम्पनीले नीलकमल सहकारीका शेयर सदस्यहरुलाई तालिम तथा औजार समेत उपलव्ध गराउने गरेको छ । कफिको प्याकेजिङ्ग गरेर बजारमा लगेको एक वर्ष पनि भएको रहेनछ । सहकारीका कृषक सदस्यले आफ्नो वारीमा परिक्षणको रुपमा केही विरुवा रोपेर कफि टिपेर वेच्दा पनि १ लाख २७ हजार रुपैया कृषकहरुको घर भित्र छिरेछ । कफि उत्पादक शेयर सदस्यबाट रु ५ सयमा सहकारीले कफि खरिद गर्दछ । अनी सहकारीले रु. ७५ आफुलाई राखेर रु. ५ सय ७५ मा फ्रेस्को हिमालय कफि कम्पनीलाई बेच्दो रहेछ । शेयर सदस्य कृषक उत्साहित छन् । सहकारीका सञ्चालक पनि दङ्ग छन् ।

अब कफि विरुवा थप्ने दाउमा छन् ।यहाँ कफिको संभावना देखेर लगाउन उक्साउने संस्था रहेछ द लेप्रोसी मिसन नेपाल । तर एकै पटक धेरै गर्दा बजारको चिन्ताले हुनसक्छ थोरै विरुवा लगाउन प्रेरित गरेको रहेछ । पहिलो पटक ६ हजार कफिको विरुवा निशुल्क उपलव्ध भएको रहेछ ।

२०७० सालमा गठन भएको नीलकमल कृषि सहकारी १ हजार ७ सय शेयर सदस्य रहेछन् । ३ करोड ५० लाख भन्दा वढि पुँजी रहेछ । २१ लाख हाराहारीमा शेयर पुँजी भैसकेछ । वढिमा १५ सम्म शेयरमा लाभांश समेत वाँडेको रहेछ । गत वर्ष चाँही ७ प्रतिशत मात्र वितरण गर्न सफल भएछ ।

मेरो हुटहुटी थियो, कृषिमा गरेका काम जान्न ।यहि जिज्ञासा राखें । कृषिमा काम गर्दाको मिठो र असाध्यै नमिठो अनुभव पनि रहेछ ।
एक पटक अदुवाको बजार राम्रो हुन्छ भनेर हल्ला चलेछ । कृषि सहकारी नाम छ, केही गर्नै प¥यो भनेर व्यवसायिक रुपमा अदुवा खेती सुरु गरेछन् । जग्गा भाडामा लिएर सहकारीले नैं खेती गरेछ । उत्पादन पनि राम्रो भयो तर बजार पाएन । सवैको सातो गयो । सहकारी खेतीबाट डर लागि रहेको अवस्थामा सानो दरमा कफि खेती सुरु गर्दाको सफलताले हौसिएका छन् ।अदुवाबाट तर्सेको सहकारी कफिबाट उत्साहित देखियो । कफि पकेट क्षेत्र बनाउने भनेर भरखरै सञ्चालक समितिको वैठकबाट निर्णय समेत गरेको छ । अदुवा खेती गर्दा सहकारीले जग्गा भाडामा लिइ गरेको रहेछ भने कफि खेती सदस्यहरु मार्फत गरिरहेको छ ।

अदुवाको जस्तै कफि पनि बेच्न मुस्कील पर्ला नी भन्ने मेरो प्रश्नमा सञ्चालक समितिको अध्यक्ष कल्पना खरेल ¬‘त्यसको चिन्ता नैं छैन’ भन्नु हुन्छ । फ्रेस्को हिमालय कफि कम्पनी र द लेप्रोसी मिसन नेपालले यस सहकारीसँग उचित मूल्यमा कफि खरिद गर्ने लिखित संझौता गरिसकेको रहेछ । कफिको प्याकेजिङ्ग गरी बजारको नेटवकिंङ्ग गरिरहेको फ्रेस्को हिमालय कफि नेपालका देबेन्द्र पौडेलले पनि अध्यक्ष खरेलको भनाई पुष्टी गर्नु भयो । अझ कफि प्रवद्र्धनमा नीलकमलसँग सहकार्य गर्ने र बजारकोलागि चिन्ता लिन नपर्ने अवस्था सिर्जना गर्ने कुरा पौडेलले बताउनु भयो ।‘सकेको कफि उत्पादन गर्नुस् बजारको चिन्ता नलिनुस् । त्यो जिम्मा हाम्रो भो’ भन्नु भएको रहेछ । कफि खेतीकोलागि तालिम तथा औजारमा समेत सहयोग गर्ने बचन दिएको पाइयो । सायद यहि आड पाएर होला, सहकारीले कफि पकेट क्षेत्र बनाउने निर्णय गरेको।

कुष्ठरोगी, अशक्त र महिला मात्रको नीलकमल
यस सहकारीको सदस्य वन्न कुष्ठरोगी प्रभावित वा अपाङ्ग वा महिला हुनै पर्ने व्यवस्था रहेछ । किन यस्तो भन्दा अध्यक्षको जवाफ छ । ‘यही वर्ग कमजोर छ’ । कमजोरहरु संगठित हुने आर्थिक वृद्धि गर्ने समाजमा स्थापित हुने हाम्रो चाहाना हो भन्ने ओठे तर दमदार तर्क दिनु भयो । सञ्चालक समितिमा को को हुनुहुन्छ त ? भन्ने मेरो प्रश्नमा शेयर सदस्य जो हुन्छ त्यही नैं सञ्चालक समितिमा हुने त हो नी हैनर ? मलाई नैं प्रश्न गर्नु भयो । ११ जनाको समितिमा २ जना मात्रपुरुष हुनुहुन्छ । उहाँहरु दुवै शारिरीक रुपमा अपाङ्ग हुनुहुन्छ । समितिका वाँकी सवै महिला हुनुहुँदो रहेछ । अध्यक्ष कल्पना खरेल, उपाध्यक्ष देबका खरेल, सचिव नारायण शिवाकोटी, सहसचिव निर्मला दाहाल, कोषाध्यक्ष गणेश खरेल रहुन भएको छ ।

किन यो सहकारी गठन गर्नु भयो ? भन्ने मेरो प्रश्नमा संस्थापक अध्यक्ष टहल आचार्यले २०७० साल भन्दा अगाडी पुग्नु भयो । २०६६ साल तिर ललितपुरमा रहेको आनन्द वन अस्पतालमा उपचारको सिलसिलामा आचार्य पुग्नु भएको रहेछ । त्यहाँ नैं द लेप्रोसी मिसन नेपालसँग सम्पर्क भएछ । कुष्ठरोगी प्रभावितलाई केही सामानहरु उपलव्ध गराउने गरी सम्वन्ध गाँसिएछ, सुनखानीका बासिन्दासँग । कुष्ठरोगी वा प्रभावित संलग्न भएको सानो समूह बनेछ, त्यस समूहको अध्यक्ष टहल आचार्य बन्नु भएछ ।

सुनखानीमा कुष्ठरोगी थिए, अपाङ्गहरु पनि थिए । धनी तथा सबलहरुको त धेरै सहकारी छन् तर समाजमा तुलनात्मक रुपमा कमजोर वर्गको आर्थिक तथा सामाजिक सशक्तिकरणकोलागि सहकार्य गर्ने सोच विकास भएछ । कुष्ठरोग प्रभावित थोरै भए त्यसले मात्र चलेन अनी अपाङ्ग पनि जोडिनु भएछ । त्यतीले पनि सदस्य संख्याको कारणले सहकारी प्रभावकारी सञ्चालन हुने पारा देखिएनछ । अनी समाजमा रहको कमजोर वर्ग अरु को होलान् भन्ने छलफल भएछ । लैङ्गिक रुपले महिला कमजोर छन् । उनीहरु पनि संगठित भएछन् । समाजमा कमजोर मानिएका कुष्ठरोगी, अपाङ्ग र महिलाहरु एकजुट भएछन् ।यो प्रयासलाई मलजल गर्न द लेप्रोसी मिसन नेपालले रु २ लाख रकम दिएछ । त्यही रकम नैं जग भएछ नीलकमल कृषि सहकारी गठनकोलागि ।

समाजमा कमजोर वर्ग भनेको शारिरीक अवस्थाका आधारमा अपाङ्ग हुन् भने लैङ्गिक हिसावले महिला । यिनीहरुको आर्थिक तथा समाजिक सशक्तिकरणकालागि त आफैं लाग्नु पर्ने पवित्र मनसायका साथ सहकारी सुरु भएको रहेछ । ती समूहमा उस्तै उस्तै थपिदैं गए । सहकारी बनाए । कार्यक्षेत्र पनि कालिञ्चोक गाउँपालिकाको वडा नं. ७, ८ र ९ लाई कायम गरिएको छ । द लेप्रोसी मिसन नेपालले अहिले पनि सहकारीका सदस्यको मुस्किलमा सहयोग गरिरहेको छ । भुकम्प जाँदा ३६ लाख नगदै सहयोग गरेको थियो । सो रकम घर भत्केका १८० परिवारलाई प्रति परिवार २० हजार वितरण गरिएको थियो ।

कोरोना कालमा खाद्यान्न र स्वास्थ्य सामाग्री पनि उपलव्ध गराएको रहेछ । सामाजिक र आर्थिक रुपमा कमजोर रहेका कृषिलाई मूल पेशा बनाएकाहरुले गठन गरेको सहकारीले एक दशकमा नैं झण्डै ४ करोडको पुँजी परिचालन गर्न सक्नु गजबको काम हो ।शेयर सदस्यलाई १३ प्रतिशतमा ऋण लगानी गरिँदो रहेछ । बचतमा ७ प्रतिशत व्याज दिने चलन रहेछ । ३ जना कर्मचारीले रासायनिक मल सिन्धुलीवाट ल्याउने यहाँ विक्रि वितरण समेत गर्ने र सहकारीको आर्थिक कारोवार व्यवस्थीत रुपमा सञ्चालन गरिरहेका छन् ।

नीलकमलको भावी सोच
अब के गर्ने त ?भन्ने मेरो प्रश्न खश्न नपाउँदै सहकारीको अध्यक्ष कल्पना खरेलले खररर वताउनु थाल्नु भयो । कफि पकेट क्षेत्र वनाउने, सहकारीको कार्यालय भवनमा नैं एग्रोभेट चलाउने अनी कृषिसँग सम्वन्धीत विउ विजन, औषधी सहुलियत दरमा उपलव्ध गराउने अनी यहि एग्रोभेट मार्फत किसानको खेतवारी र गोठमा प्राविधिक सेवा प्रवाह गर्ने सोच रहेको बताउनु भयो । यसकोलागि काम अगाडी वढि सकेको छ । सहकारीले आफैंले जग्गा किनेको छ । त्यही जग्गामा २९ लाख ४२ हजार ४ सय ५० लागतमा भवन बनेको छ । भवन निर्माणकालागि गाउँपालिकाले १० लाख अनुदान दिएको पनि रहेछ । यो साढे २ तले भवनको पूरापूर सदुपयोग गर्ने सोच रहेको छ ।

यसै भवनबाट नैं रासायनिक मल विक्रि गर्ने, एग्रोभेट सेवा प्रवाह गर्ने र सहकारीका नियमित कारोवार समेतका सेवा प्रवाह गर्ने व्यवस्था मिलाईदै रहेछ । अन्त्यमा, उत्पादकहरुको मात्र सहकारी छ । लगानीकर्ताहरुको मात्र सहकारी पनि भेटिन्छ । महिलाहरुको मात्रको सहकारी पनि भेटिएला तर अशक्त र महिलाहरुको सहकारी चाँही सायदै भेटिएला । कुष्ठरोगी प्रभावित, शारिरीक अपाङ्ग र महिला मात्र सदस्य बन्न पाउने सहकारी अरु भन्दा फरक नैं हो । नीलकमल सहकारी कृषि उत्पादनमा नैं केन्द्रीत रहेको पाइयो । यहि पहिचान अझै वढ्दै जाओस् । महान चाड दशैंको उपलक्ष्यमा शुभकामना ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *