पत्रकार महासंघद्वारा श्रमजीवी पत्रकारको उपेक्षा

राजनीति समाचार

काठमाडौं । भनिन्छ, पत्रकारहरु राज्यको चौथो अंग हुन् । तर, राज्यको चौथो अंग भनिएका तिनै पत्रकारहरुमा के गर्नु हुन्छ, के गर्नुहुँदै भन्नेसम्मको ज्ञान भएको पाइँदैन । अहिले अधिकांश पत्रकारहरुले समाचारको नाममा बार्गेनिङ गरेको उजुरीहरु प्रेस काउन्सिल नेपालमा पटक–पटक नपरेका होइनन् । त्यसैगरी श्रमजीवी पत्रकारहरुको हकहितको लागि आवाज बुलन्द गर्ने भनेर खडा गरिएका विभिन्न पार्टी निकट पत्रकार संघ, संगठन र ती संघ, संगठनको छाता संगठन नेपाल पत्रकार महासंघका नेताहरु नै आफ्नो पदीय दुरुपयोग गरेर बद्नाम हुँदै गएका छन् ।

पार्टी निकट संघ, संगठनका नेतृत्व र पदाधिकारीसँगै छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रदेखि प्रदेश, प्रतिष्ठान र जिल्ला शाखाहरुका अध्यक्ष तथा पदाधिकारीहरु समेत विभिन्न काण्डमा मुछिँदै आएका छन् । पत्रकारको नाममा खोलिएका विभिन्न संघ, संगठन र पत्रकार महासंघका पदाधिकारीहरुले पदीय मर्यादाको ख्याल नगरी लेटर प्याड दुरुपयोग गरी अन्य पेशाका व्यक्तिलाई पत्रकार बनाएर सिफारिस गरी व्यक्तिगत फाइदा उठाउने गरेको समाचार बारम्बार आइरहेका छन् ।

अहिले पत्रकारहरुको संघ, संगठनका नेता र नेपाल पत्रकार महासंघका पदाधिकारीहरको लापरबाहीले गर्दा अधिकांश श्रमजीवी पत्रकारहरुले मुखसमेत देखाउन नसकिने अवस्था सिर्जना भएको छ । किन भने पछिल्लो समय नेपाल पत्रकार महासंघमा श्रमजीवी पत्रकार भन्दा गैर पेशाका व्यक्तिको हावी हुँदा पत्रकारहरुको बद्नाम हुँदै गएको हो । पत्रकार महासंघको नाममा पदीय दुरुपयोग गरेको समाचार जिल्ला शाखाहरुबाट यसअघि पनि नआएका होइनन् ।

तर, यसपटक भने देशको राजधानी काठमाडौंबाटै पनि पत्रकार महासंघका जिम्मेवार पदाधिकारीहरुको संलग्नतामा गैर पेशाका व्यक्तिलाई पत्रकार बनाएर विदेश पठाउने खेलोफाड्को गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि पत्रकारहरुको शिर निहुरिएको छ । पत्रकारहरुको भोटबाट चुनाव जितेर तिनै पत्रकारको धज्जी उडाउने काम नेपाल पत्रकार महासंघबाट हुन थालेपछि अधिकांश श्रमजीवी पत्रकारहरु चिन्तित बनेका छन् ।

पत्रकार नै नभएको व्यक्तिलाई जिम्मेवार पदाधिकारीले पत्रकार हो भनेर विदेश पठाउन महासंघको लोगो र आफ्नो पदको दुरुपयोग गर्नु कतिसम्म उचित हो सर्वत्र प्रश्न खडा भएको छ । यस्ता विषयलाई विभिन्न पार्टी निकट पत्रकार संघ, संगठन र नेपाल पत्रकार महासंघले गम्भीर रुपमा लिने कि नलिने ? (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *