एक परिवारका सदस्य कति होलान् ? ‘२ सन्तान इश्वरका वरदान’ ४० वर्ष अघि रेडियोबाट सुनिने नारा हो । त्यो बेला चिन्ता थियो जनसंख्याको बृद्धिको तर अहिले जोडीले एक सन्तान भन्दा वढि जन्माउनै छाडी सके । त्यसैले केही जिल्लामा जनसंख्या बृद्धि दर ऋणात्मक भएको जनगणनाले देखाएको छ । तर एक परिवारमा १६ दर्जन भन्दा वढि सन्तान छन् ।२ खलाती सहित२०० भन्दा बढि सन्तानको धनी र मनकी खानी हजुरआमाकी पनि हजुरआमा अर्थात एक ‘च्याप्जुआमा’को बारेमा चर्चा गर्न खोजेका छौं ।
१० वर्षको उमेरमा तेस्री श्रीमती
आज भन्दा ९१ वर्ष अघि मंसिरमा दोलखाजफेको काफ्ले परिवारमा एक सुन्दर बालिकाको जन्म भएको रहेछ । बालिका ६ बर्षहुँदा नैं दोलखाकै मथानी गाउँको तन्नेरी प्रेमप्रसाद सुवेदी जफे जानु भएछ ।त्यतीबेला १८ बर्षिय लक्का जवान सुवेदी २ वटी श्रीमतीको श्रीमान् भैसक्नु भएको थियो तर दुर्भाग्य पहिलो श्रीमती विवहा गरेको केही महिनामा नैं बित्नु भएछ । अनी दोस्रो विवाह गर्नु भएछ । दोस्रो श्रीमतीबाट कुनै जायजन्म नभए पछि तेस्री श्रीमतीको खोजीमा जफे पुग्नु भएको रहेछ ।
६ बर्षे केटीको बुबाले सौता माथि छोरी नदिने अड्डी लिनु भएछ । केटीको आमाले दिन चाहेको तर बुबाको अडानले कुरा वढ्न सकेन । दुवैलाई अरु केटा र केटीको कुरा नआएको पनि हैन तर अरुमा मन अडिएनछ क्यार । तन्नेरी लरक्क परेको केटोपटक पटक जफे धाउने तरबुबाले वास्ता नगर्दा बालिकाको मन पग्लीएछ क्यार ।आँगनको डिलमा वस्नकोलागि बुबाले चकटीसम्म पनि नदिंदा उहाँको मन चसस्क हुन थालेछ । दौडेर जाउँ अनी बसौं भनेर मकैंको खोस्टाले बनेको चकटी दिउँ दिउँजस्तो लाग्दथ्यो रे । अहिलेको जमानामा भए त्यसलाई लभ परेको भनिथ्यो होला ।
छोरीको १० वर्ष उमेर पुगे पछि बुबाको मन पनिफेरिएछ क्यारे ।सौतामाथि तेस्री श्रीमतीको रुपमा छोरी दिन राजी हुनुभएछ ।केटाले जोरजुलुम नैं गरेको तर केटीलाई त्यतातिरको धेरै मेसो नभएकोले राजी भएको वुझाइ भयो होला त्यो बेलाको संस्कारमा । १० वर्षे बेहुली २२ वर्षे वेहुलोको फागुन महिनामा बिवहा भयो । दुलहाको हजुरबुबाको बार्षिक चलिरहेकोले जफेमा नैं रहेको केटाको फुपूको घरबाट विहे सम्वन्धी कर्म भएछ । ४ दिन त्यतै बसेर दुलहन फर्काउने कामपनि सम्पन्न गरिएछ । दुलहीको बावुआमा छोरी सानी छ भनी घर नपठाउने भनी अड्डीकस्नेतर दुलाहा चाँही एक्लै त घर जाँदै जान्न भनी जिद्दी गर्नु भएछ ।
त्यो बेलाको संस्कारमा छोरीका वाउआमाको के लाग्थ्यो र !
बिवहा भएको पाँचौं दिन जफेबाट बिहान १० बजे मथानीकालागि विदावारी भए । भरखरै बिवाहिता दुलाहा, दुलही र कोशेली भएको ‘सोली’ वोक्ने मान्छे गरी ३ जना हिंडे । भीरकोट नपुग्दै १० बर्षे बच्ची दुलहीको खुट्टा दुख्न थालिहाल्यो ।हिड्न सक्नु भएन । २२ बर्षे जल्दोबल्दो ठिटो दुलाहाले आफुले सोली वोक्ने र दुलही चाँही सोलीवालालाईबोकाउने सल्लाह गर्नु भएछ । तर दुलहीले मान्नु भएनछ, जे भएपनि दुलाहाले सोली बोक्नु हुँदैन भन्ने मनमा लागेछ अनी सकि नसकि आफैं हिड्नु भयो । रातको १२ बजे तिर मथानी घर पुग्नु भएछ ।
छोराछोरी स्याहार्दा ४ दशक विते
१० वर्षमा विवहा भएको थियो ।१५ वर्ष पुगेको केही महिनामा नैं बालकलाई जन्म दिनु भएछ । त्यस पछि २ बर्षको फरकमा आधा दर्जन छोरी सहित ठ्याक्कै एक दर्जन सन्तान जन्मिए । पछिल्लो सन्तान अर्थात वाहैं सन्तान छोरी आफु ४८ वर्षको हुँदा जन्मेको रहेछ । जीवनको ४ दशक त छोरोछोरी दिशापिशाव सोहोर्दैमा बितेछ ।
अघिल्लो २ वटा सौताबाट सन्तान भएनन् । तर उहाँबाट लगातार सन्तान भए पनि पतिको रहर पुगेको रहेनछ । चौथीश्रीमती ल्याउने तरखरमा लाग्नु भएछ । अनेक कोशिस गर्दा पनि रोक्न सक्नु भएनछ । सौता भएर आएकी पनि आफ्नैं वहिनी भएकोले ढुँङ्गा माथि मुटु राखेर बस्नु भएछ ।
श्रीमान्को कर्म नैं त्यस्तो हो कि रहर हो वा आफ्नो भाग्य नैं त्यस्तो हो, उहाँलेअहिलेसम्म पनि खुट्याउन सक्नु भएको छैन ।आफुलाई माया असाध्यै गर्ने, सवै कुरा चित्त वुझे पनि विवहा गर्ने र श्रीमती ल्याउने शोख नैं जस्तो देखियो । एक पटक त रु. २ हजार जारी पनि तिर्नु परेको थियो रे । त्यो बेलाको त्यत्रो रकमले काठमाडौंमा जग्गा किनेको भए केही रोपनी नैं आउथ्यो होला । त्यसो गरेको भए अहिले अर्बपति हुने तर अहिले सबै सन्तानको भौतिक सम्पत्ति मात्रै हिसाव गर्ने हो भने केही अर्ब पुगिसक्यो होला । सन्तानको आम्दानी मात्रै हिसाब गर्ने हो भने पनि मासिक रुपमा नैं करोड माथि पुगिहाल्ला ।
पहिलो पटक काठमाडौं जाँदा
विवहा गरेको बर्ष नैं काठमाडौं घुम्न आउनु भएछ । त्यो पनि भागेर । भाग्दा पनि रहरले हैन रे । सासु ससुराको अनुमतीमा काठमाडौं जाने संभावना थिएन तर श्रीमान्ले घुम्न जाउँ भनेर जबरजस्ती फकाएर काठमाडौं लगेको रे । ७ दिन हिडेंर काठमाडौं पुग्नु भएछ । काठमाडौंमा केही साइकल मात्रै देखिन्थ्ये रे । राणाकालकै कुरा थियो, त्यो ।
पशुपति, गुहेश्वरी र वुढानिलकण्ढ बुढासँगै हिडेरै पुग्नु भएछ । बजार घुम्दा बुढा अघि अघि अनी आफु चाँही वुढाको टोपी हेर्दै हिड्नु भएछ । हराइएला भन्ने पिरले । कताको शहर देख्नु ?बुढाको नियत पनि दौडाउने नैं रहेछ । विस्तारै हिड्दा बजारमा राम्रा सामान देख्ली, किन्न रहर गर्ली भन्ने चिन्ता रहेछ रे । काठमाडौं आउनुको खास कारण चाँही नुनकोलागि थियो । लाइन बसेर मात्र नुन किन्न पाइँने । त्यो पनि एक दिनमा एकजनालाई ४ माना मात्र । ७दिनसम्म लाइन बसेर ढिके नुनको भारी पु¥याएर दोलखा फर्कनु भएछ ।
काठमाडौं भागेर गएकोलेघर फर्के पछि ससुराले धेरै गाली गर्नु भएछ । उहाँको मनमा चाँही आफ्नै श्रीमान्सँग गएको त हो नी अरुसँग गएको हैन भन्ने ओठाले जवाफ आएको थियो रे । तर बचन फर्काउनु हुँदैन भनी मनमा निल्नु भएछ । उहाँले पकाएको खाना ससुराले धेरै महिनासम्म खान पनि मान्नु भएनछ । सासु चाँही उहाँकै शब्दमा ‘गाई प्राणी’ रे । असाध्यै माया गर्नु हुन्थ्यो । बुहारीका गल्तीमासमेत साथ दिनु हुन्थ्यो । सासुको आड भरोसाले नैं ससुरा पनि पग्लनु भएछ । पछि पछि त ससुरालाई वुहारीको भान्सा वाहेक अरुको नचल्ने नैं भएको थियो ।
१६ दर्जन भन्दा वढि सन्तान
यती बेला जेठा छोरा र जेठी छोरी तर्फका २ जना खलाती छन् । खलातीले ढुँङ्गाले हानेर लखेट्छन्भन्ने चलन थियो । के को लखेट्थ्ये माया पो गर्छन् भन्नु हुन्छ ।नाती नातिना पनाती कति छन् लेखाजोखा छैन । श्रीमान र आफुबाट सिर्जित सन्तान जोड्दा २०० जना भन्दा वढि भएछन् ।५ पुस्ताको मूल हुन पाउँदा खुसी मात्र नभैं दङ्ग हुनुहुन्छ । आफ्ना सन्तानहरु दोलखा देखि काठमाडौं, खाडीमुलुक, यूरोप र अमेरिकासम्म फैलिइसकेकाछन् । यी सवै एकै ठाउँमा जम्मा हुने कुनै संभावना नैं देखिन्न । एकै दिन जम्मा भए एक घरमा त अटाउने कुरा पनि हुँदैन ।
दोलखाको मथानीमा केटोकेटी हुर्काउँदाको अनुभव अचम्मैको छ । छोराछोरी भान्जाभान्जीहरु सहित हरेक दिन २५ जना भन्दा वढिलाई खाना पकाउने खुवाउने काम गर्नु पर्दथ्यो । कुनै दिन कोहीलाई खाना दिन पनि छुट्थ्यो रे । एक बर्ष बाहेक कुनै वर्ष अन्नको संकट परेनछ । श्रीमान् पण्डित भएकोले पनि यजमानका घरबाट अन्नपात आउने गर्दथ्यो । आफ्नो खेतबारीमा पनि राम्रै उत्पादन हुन्थ्यो । पैसाको दुःख खासै भएनछ । तथापी छोराछोरीलाई पढाउनु पर्दछ भन्ने सोच चाँही आएनछ । जे जती छोराछोरीले औपचारिक शिक्षा लिए उनीहरुकै सकृयतामा भएको हो रे । यसमा बाबुआमाको योगदान नभएको उहाँ आफै स्वीकार गर्नु हुन्छ ।
पाहुनालाई रातभर जाग्राम
पाहुना पनि असाध्यै आउँथ्ये । पाहुना टुटेको दिननैं हुँदैनथ्यो ।झर्को, फर्को मनमैं आएन,झन् रमाइलो लाग्दथ्यो रे । एक दिन, घरमा हुने नियमित जहान वाहेक १८ ‘हुल’ पाहुना आएछन् । ती सवैलाई खाना खुवाएर सुताउने व्यवस्था मिलाउँदा आफ्नै घरका ४ जनालाई सुत्ने ठाउँ र ओढ्ने पनि पुगेन । अन्यौलता भैरहेको समयमा अरु ५ जना पाहुना थपिएछन् ।उनीहरुलाई खानाको प्रवन्ध गर्दा १ बजेछ । सुत्न दिने ठाउँ र ओढ्ने ओढाउने लुगाहरु पहिल्यै सकिएका थिए । श्रीमान् र छोराले आगो बालेर कथा कहानी भनेर रात कटाउनु भएछ ।पाहुनालाई थाह नैं भएन रे, ठाउँ नभएर सुत्न नदिएको भन्ने कुरा । पाहुनाले असाध्यै रमाइलो मानेछन् ।
यस परिवारमा वुहारी भएर आउनेलाई अनौठो नैं लाग्दो रहेछ । उहाँको जेठो छोरा तर्फकी नातिनीवुहारी पिंकी सुवेदीको अनुभुती रोचक छ । विवहा भएर आएको ५ दिन भैसक्दा पनि घरमा टन्न मान्छे देख्नु भएछ । किन पाहुना नगएका होलान् भन्ने लागेछ । ती सवै घरकैं मान्छे हुन् भन्ने थाहा पाउँदा अचम्ममापर्नु भएछ । माइती घरमा सानो भाँडोमा चिया पकाउने गरिन्थ्यो रे यहाँ त चियाकालागि पनि ठुलो डेक्ची वसाल्नु पर्दथ्यो ।
अहिले दशैंको टिकाको दिन आधा भन्दा वढि सन्तान चाँही जम्मा हुन्छन् । वरपरका मानिस पनि टिका लगाउन आउँछन् ।जनसभा जस्तो घुईचो हुन्छ । टिकासँगको जमरा भुईमा झरेर कोठामा दाङीको पराल जस्तो देखिन्छ ।
मान्छे एक पहिचान अनेक
सन्तानकी त धनी हुनुहुन्छ नैं । मनकी पनि उत्तिकैं खानी हुनुहुन्छ । पाहुना आउँदा झर्को फर्को कहिल्यै गरेको थाहा भएन । कसैलाईखाली मुख पठाउन मनले नैं मान्दैनरे ।अहिले पनि भेट्न आउने जो कोहीलाई पोल्टाबाट किसमिस, काजु, बदाम सहितको मसला एक पसर दिन विर्सनु हुन्न । यो बानी उहिल्यै देखिको हो रे ।
उहाँ कसैको आमा, कसैको हजुरआमा, कसैंको जिजुआमा, अनी कसैंको ज्याप्जु आमा, सासु, वुढी सासु, माइजु, फुपू, …..पर्नु हुन्छ । उहाँलाई यस्ता धेरै नाताबाट धेरैले सम्वोधन गर्ने गर्दछन् । तर उहाँ ९१ बर्षिय एकै व्यक्ति केशबलक्ष्मी सुवेदी हुनुहुन्छ । उहाँको स्वस्थ्य तथा दीर्घ जीवनको कामना ।